काठमाडौं, २ भदौ । अन्तिम माधवकुमार नेपाललाई काध हालेर आएका केही नेताको अबको भविष्य के भन्ने विषय अन्योलमा छ । एमाले अध्यक्ष केपी ओलीको एकोहोरो पेलाइबाट आजित भएर दोस्रो तहका नेताकै भविष्यका लागि माधव नेपालले ओलीसँग लडाइँ लडेका थिए ।
खासगरी नेपालले भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, र घुजी पन्तका लागि ओलीसँग आन्तरिक संघर्ष गरेका हुन् । तर, अहिले तिनै नेताले नेपालको साथ छाडेका छन् ।
भीम रावलले कार्यबाहक अध्यक्ष र अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको लोभमा माधव नेपाललाई छाडेर ओलीको क्याम्पमा हाम फालेका छन् । तर, ओली नेतृत्वको एमालेमा यी दोस्रो तहका नेताहरुको हैसियत पनि ‘एस म्यान’ बन्नेबाहेक केही हुन्न भन्ने विषयमा ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेलहरूको हविगत हेर्दा प्रष्ट हुन्छ ।
दोस्रो तहका नेताहरू पार्टी नेतृत्वलाई हस्तक्षेप गर्न सक्ने हैसियतमा नरहेको एमाले विभाजनले पुष्टि गरिसकेको छ । त्यसै पनि माधव पक्षसँग लामो समयदेखि लागेका नेताहरूलाई ओलीले त्यति मन पराउँदैनन् । तर, पनि पार्टीको नाम र सूर्य चुनाव चिन्हको लोभमा माधव नेपाललाई छाडेर जाने नेताहरुको राजनीतिक भविष्य त्यति सहज र फलदायी देखिँदैन ।
उता झलनाथ खनाल छाडेर भीम आचार्य ओलीसँग लाग्नु मुख्यमन्त्रीको लोभमै भएको केही दिनमा छर्लङ्ग हुने छ । किनभने बागमतीपछि प्रदेश १ को सरकार पनि छिट्टै परिवर्तन हुँदैछ । त्यहाँ ओलीले शेरधन राईलाई राजीनामा दिन लगाएर आचार्यलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका छन् । जसरी बागमतीमा डोरमणि पौडेललाई राजीनामा दिन लगाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइयो ।
तर, बागमतीमा मुख्यमन्त्री शाक्यलाई विश्वासको मत पाउन फलामको चिउरा हुनेछ । किनभने एक सय नौ सदस्यीय प्रदेश सभामा ओली एमालेको ३४, नेपाल एमालेको २२, कांग्रेसको २२, माओवादी केन्द्रको २३ सांसद छन् । राप्रपा र विवेकशील साझाका तीन, तीन सांसद रहेका छन् । यदि माधव नेपाल पक्षका २२ सांसद प्रदेश सभामा उपस्थित नहुनेवित्तिकै अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद पनि गुम्ने पक्का देखिन्छ ।