काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट शुरु मात्र हुने भएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशभर एकसाथ वडाहरूको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको शृंखला प्रारम्भ हुने बताएका छन् ।
१८ गतेबाट महाधिवेशन शुरु गर्ने भनिए पनि ५६ वटा जिल्लाका मात्रै क्रियाशील सदस्यहरूको सूची सार्वजनिक भएकाले यो जटिलता आएको हो उनले भनेका थिए।
नेपाली काँग्रेस पार्टी भदौ १८ गतेबाट विधिवत रूपले १४औँ महाधिवेशनमा प्रवेश गर्दै छ, सामान्यतया महाधिवेशन भन्दै गर्दा केन्द्रीय महाधिवेशनको उद्घाटन हुने तिथिलाई बुझ्ने एक ढंगको प्रचलन छ ।
तर नेपाली काँग्रेस पार्टीको फरक परम्परा के छ भने महाधिवेशन भनिरहँदै गर्दा केवल केन्द्रीय महाधिवेशनको उद्घाटन दिन मात्रै होइन, एकसाथ देशभरका वडाहरूको अधिवेशन जुन दिन सुरु हुन्छ, त्यो दिन नेपाली कांग्रेस पार्टीको महाधिवेशनको शृंखला प्रारम्भ भएको हुन्छ ।