काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओ आजबाट विक्री खुला हुने भएको छ । यसअघि स्थगित भएको साधारण शेयर आजबाट विक्री हुने कम्पनीले जनाएको छ ।
यसअघि साउन २२ गते, शुक्रबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्काशन तथा बिक्री खुल्ला गर्ने भनिएको साधारण शेयर कोरोना भाइरसको संक्रमणका कारण ईलाम जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको हुनाले स्थगित गरिएको थियो ।
कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गर्न बोर्डले अनुमति दिएको छ ।
जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि छिटोमा असोज १ गतेदेखि ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गरेको छ । लगानीकर्ताले नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन ।