जाडो महिना । कोसी नदीको छेउ । बिहानको मधुरो घाम लागे तापनि सिरेटोको चिसो । चारैतिर २०–२५ वटा कुर्सी । पूर्व फर्काएर राखेको सानो टेबल । टेबलमाथि सानो मालासहितको किस्ती । लाग्दथ्यो कुनै कायक्रम भइरहेको छ ।
एक छिनपछि एक जना गोरो–गोरो हँसिलो अनुहार भएको युवकलाई हाम्री कान्छी फुपूले, जसलाई हामी गन दिदीको नामले चिन्दथ्यौँ ,माला लगाइदिनुभयो । ती युवकले फुपूलाई सिन्दूर लगाइदिनुका साथै माला पनि लगाइदिनु भयो । उपस्थित सबैले ताली बजाए । मैले पनि साथ दिएँ । त्यसपछि युवकले पाँचसात
मिनेट भाषण गर्नुभयो । “ उपस्थित सज्जन तथा महिलावृन्द ” बाट आरम्भ भएको भाषणमा के के भन्नुभएको थियो अरु त
मलाई खास सम्झना छैन , यो सम्झना छ –उहाँले फुपूलाई सुशीला भनेर सम्बोधन गर्नुभएको थियो । त्यसै दिन मलाई थाहा भयो फुपूको अर्को नाम पनि रहेछ।
काठमाँडौबाट राजबिराज गएको वर्ष दिनभित्रै जस्तो लाग्छ , शायद २०२१ साल । हामी नेता चोक भन्दा पूर्वतिर बस्दथ्यौँ । ६–७ वर्षको हुँदो हुँ । केही दिनदेखि घरमा चहलपहल बढेको थियो । चहलपहलकै बीचममा परिवारका सबैले एउटा तस्वीर पनि हेरेका थियौँ । निश्छल हाँसिरहेको तस्वीर । गालामा चाउरी देखिन्थ्यो । टाइफाइड भएको बेलाको फोटो(तस्वीर १) भनेर सुनेको थिएँ । यस संस्मरणमा संलग्न फोटो(फोटो १) त्यही नै हो ।
काठमाण्डौबाट ठूलो बुबा केशवानन्द खरेल(स्व), काकाहरू गीताकृष्ण र यादव खरेल , सुशीला दिदी र काका हजुरबा रत्नप्रसाद खरेल (उहाँ स्व , टंकप्रसाद आचार्य मन्त्री मण्डलमा सहभागी हुनुहुन्थ्यो । उहाँकै पहल र नेतृत्वमा काभ्रे जिल्लाको लामीडाँडाबाट भगवती थान हुँदै ठाँटीसम्म जनश्रमबाट मात्रै २०१९ सालमा मोटरबाटो निर्माृण भएको थियो । पहिलो राष्ट्रिय पञ्चायतको अधिवेसनमा उहाँले चार घण्टासम्म बहुदलीय व्यवस्थाको पक्षमा र ०२७ सालमा इटुमबहालमा पञ्चायती व्यवस्था विरुद्ध गरेको भाषणहरूको अझै पनि सम्झना गरिन्छ । स्व पद्मसुन्दर लावतीले अन्नपूर्णपोस्टमा प्रकाशित एउटा लेखमा राष्ट्रिय पञ्चायतभित्र उहाँलाई प्रतिपक्षीहरूको नेताको रूपमा चित्रण गर्नु भएको थियो )
अघिल्लो दिन राजबिराजबाट चतरासम्म जीपमा र त्यसपछि चतराबाट हिंडेर कन्या पक्षको हाम्रो टोली बराहक्षेत्र पुग्दा साँझ पर्न लागिसकेको थियो । भोलिपल्ट विवाह थियो । बाजागाजा पनि थिएन । विवाहस्थलमा टेबल कुर्सीहरू राखिएका थिए । बेहुलाले बेहुलीलाई सिन्दूर लगाइदिएपछि विवाह सम्पन्न भयो । त्यसपछि बेहुलाले सानो तिनो भाषण गर्नुभयो । सबैले ताली पडकाए । न पण्डित पुरेत , न कुनै तामझाम । बेहुला बेहुली दुवैको सामान्य पहिरन । बेहुली पक्षका तर्फबाट रत्नप्रसाद खरेल ( उहाँलाई सबैले. काका भनेर सम्बोध गर्थे)ले सम्बोधन गर्नुभएको थियो । उहाँले ‘असल,भद र विद्वान छोरी ज्वाइर्’ भनेको सम्म सम्झना छ । ‘भद्र’ शब्द यसअघि मैले सुनेकैँ थिइँन । त्यही भएर सम्झना भएको हुनुपर्छ । यसको अर्थ मैले ठुलोबुबा केशवानन्द खरेलसँग सोधेको थिएँ । केही बेरपछि बेहुलासँग सबैको परिचय गराइयो । बेहुलाले मेरो हात समात्दै हाँसेर सोध्नुभयो “तपाइँको नाम ?”
जीवनमा कसैले पहिलो पटक तपाइँ भनेको सुन्दा भन त एकछिन भरङ्ग भयो । उहाँको हाँसोले मेरो मनमा रहेको सबै डर छताछुल्ल भएर कता बिलायो, बिलायो । त्यो आत्मीय हाँसोको स्पर्श अहिले पनि म अनुभूत गर्न सक्छु । पहिलो भेटको त्यो आत्मीय स्पर्श जीवनपर्यन्त रहिरहनेछ । गुजाइ कमरेडपछि हात समातेर कुरा गर्नुहुने उहाँ दोस्रो कम्यूनिस्ट हुनुहुन्थ्यो । जीवनमा विभिन्न खाले विवाहमा सहभागी भएको छु । उन्नाइस बीस वर्षको उमेरदेखि उहाँले कलेजमा पढाउन थाल्नु भएको थियो । विवाह हुँदा उहाँ धरान कलेजमा पढाउनुहुन्थ्यो । विवाह सम्पन्न भएको केही महिनापछि जस्तो लाग्छ , उहाँलाई गिरफ्तार गरेको समाचार सुनेर बुबा धरान जानुभएको थियो । जीवनमा १०–११ पटक गिरफ्तार हुनुभयो । सबै जोड्ने हो भने पाँचसात वर्ष पुग्दो हो, उहाँको जेल जीवन । ०३३ सालतिर परिवार नियोजन संघको एउटा कार्यक्रममा पोखरामा भेट भएका के एल भुषणले उहाँको बारेमा भनेको सम्झन्छु– “साह्रै स्पष्टवक्ता । राजा महेन्द्र चितवन आउँदा उनकै सामुन्नेमा ‘जनताको नासो जनतालाई फर्काइदिनु उचित हुन्छ ’ भनेर सल्लाह समेत दिनुभयो ।” जस्तोसुकै रूपम होस् भट्ट सरसँग जोडिएर आफ्नो परिचय दिँदा आफूलाई सँधै गर्व महसुुस हुन्थ्यो । यही घटनालाई समातेर एक वरिष्ठ कम्यूनिस्ट नेताले उहाँ विरुद्ध प्रपञ्च रचेको रोचक घटना छ । भट्ट सर २००८–०९ सालमै कम्यूनिस्ट नेताका रूपमा सुपरिचित भइसक्नु भएको थियो । ०४६ सालमा त्रीचन्द्र क्याम्पसमा उहाँले भाषण गरेपछि उहाँलाई मुद्दा लगाइयो । पंचायती व्वयस्था रहिरहेको भए उहाँलाई मृत्युदण्ड समेत हुनसक्थ्यो होला । उहाँ कार्यनीति र रणनीतिका हिसाबले एमाले पक्षधर हुनुहुन्थ्यो । धेरै पुराना कम्यूनिस्ट पार्टीका सदस्यहरूको पुरानै सदस्यता नवीकरण गरिएको थियो । दुईजना नेता एकै ठाउँमा बसिरहेका बेला अर्का एक जना शक्तिशाली नेतालाई वास्ता नगरिएको “अपराध”का कारण उहाँको सदस्यता पाउने काम अप्ठेरोमा परेको थियो । अर्का नेताले आगोमा घिउ थपिदिए “उहाँले राजासँग दर्शन भेट माग्नुभएको थियो ।” कलान्तरमा ती आगो थप्ने नेताले ज्ञानेन्द्रका पाउँमा दाम मात्र चढाएनन्, प्रधानमन्त्रीको जागीर पाऊँ भनेर निवेदन पनि दिए ।
पाखण्ड , षडयन्त्र, दोहोरो मापदण्ड,निजी स्वार्थी कम्यूनिस्ट नेता र बुद्धिजीवीहरूको जमातमा उहाँको व्यक्तित्व बेग्लै थियो । उहाँसँग संगत गर्ने प्रत्येक इमान्दार व्यक्तिले उहाँका बारेमा भन्ने कुरा प्रा डा सुधा त्रिपाठीले यसरी व्यक्त गर्नुभएको छ । “मैले जीवनमा यत्तिको इमान्दार, निर्भीक, निष्ठावान्, सज्जन, परहितचिन्तक, गुणग्राही, सरल, स्पष्टवक्ता, लालचविहीन,शिष्ट,सभ्य, अनुशासित अर्को व्यक्ति भेटेकै छैन ” । (साभारः डा त्रिपाठीको फेसबुक वाल)
विवाह कुनै पनि व्यक्तिको नितान्त व्यक्तिगत कुरा हो । विभिन्न खाले विवाहका प्रचलन नभएका होइनन् । राजनीति, प्रशासन, धार्मिक क्रियाकालापमा संख्यात्मक र गुणात्मक तवरले हालीमुहाली रहेको मध्यमवर्गीय ब्राम्हण परिवारको यस्तो प्रकारको विवाले विशेष अर्थ राख्छ । तर, पचास वर्षभन्दा अघि सम्पन्न भएको यो विवाह भने विशिष्ट यस कारणले छ कि यो विवाहका् घटनाले भने बेला बेलामा झस्काइरहन्छ । जब कुनै क्रान्तिकारी नेताले छोरीलाई करौडौँ मूल्य बराबरको दाइजो दिएको घटना सुन्छु , ठूला कम्यूनिस्ट नेताले बेहुला छोराको गलामा लाखौँको नोट राखेर बनाएको माला लगााएर नाचेको फोटो देख्छु , घरभित्र मण्डपमा कन्यादान र बाहिर प्रगतिशील विवाहका नाममा अर्को विवाह गरेको सुन्छु ,मलाई त्यो विवाहको सम्झना आइरहन्छ । जीवन र समाजलाई हेर्न आफूले अपनाएको सिद्धान्तअनुरूप व्यवहार गर्ने दृढता उहाँको व्यक्तित्वको अभिन्न रह्यो, आजीवन । उहाँको व्यक्तित्वको सबैभन्दा महत्वपूर्ण पक्ष यही लाग्छ ।
उहाँ बहुमुखी प्रतिभासम्पन्न हुुनुहुन्थ्यो । अरविन्द नेपाल लेख्नुहुन्छ “ झर्रोवादको नजिकबाट बुझेका यिनले नेपाली भाषाको सुधार तथा सम्बर्धनमा योगदान पुर्याउँदै, साहित्यबाट नेपाल देश तथा जनताको यश–कीर्ति बढाउँदै सर्वथा सार्थक जीवन बिताउँदै अन्तिम विश्रम लिए”(साभारः फेसबुुक वाल) ।
उहाँको साहित्यिक योगदानबारे यहाँ चर्चा गर्न न त सम्भव छ न त मेरो त्यत्रो सामथ्र्य नै । उहाँको विरामीको अवस्थाको मैले फेसबुकमा देखेँ । सरकारी खानगी खाइरहेको औपचारिक पोशाकमा ठाँटिएका विद्वानहरू फोटो थियो । अक्सिजन लगाइरहेको भट्ट सरको खाटमा अचेत अवस्थामा हुुनुहुन्थ्यो । जस्तोसुकै अवस्थामा मुस्कुराइरहने, जीवन्त व्यक्तिको त्यस अवस्थाको फोटो देख्दा कस्तो चोट पर्ला भन्ने हेक्का समेत ती विद्वानहरूले राख्न सकेनन् । उनीहरूको सोचाइ थियो होलो –यति ठूलो ओहदाका हामीले अस्पतालको शैय्यामा वेहोशीको हालतमा रहेका एक साहित्यकारलाई दर्शन दिएर नेपाली साहित्यमा ठूलो योगदान पु¥यायौँ । थाहा छैन, अरुलाई कस्तो लाग्छ ? मेरा लागि त त्यो तस्वीर अत्यन्त अमानवीय ,अश्लील, र घृणित । उनीहरू विरामी भेट्न गए । त्यसलाई समाचारकै विषय बनाएर आफ्नो कामको प्रचार गर्न प्रेस कन्फरेन्स गरे भइहाल्थ्यो । विरामीको तस्वीर किन राख्नु परेको थियो ? आकस्मिक तवरमा त्यो तस्वीर देखेर विह्वल हुनेहरूको कस्तो अवस्था होला भनेर अलिकति पनि सोच्ने सहजबुद्धि तिनमा थिएन । जुन बेला त्यो फोटो फेस बुकमा राखिएको थियो म वर्ष दिन देखि नियमित २० घण्टा अक्सिजन लिँदै आइरहेको थिएं । तीसौं वर्षदेखिको मुटुमा रक्त प्रवाह कम हुने रोगले पनि उत्तिकै च्यापेको थियो । त्यही भएर हुन सक्छ ,म बढी आक्रोशित भएको ।
उहाँले जे जति गर्नुभयो नेपाल र नेपालीका लागि गर्नुभयो । उहाँले दुईजना आफ्ना प्रतिनिधि डा निर्झरदेव र डा सौरभदेव दिनुभएको छ, जसले विश्व समुदायलाई नै आफ्नो ठानेर स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् ।
म मेरा आफन्तसँग कुरा गर्दा सँधै भन्ने गर्थँ उहाँजस्तो विरल व्यक्तित्व भएको कुटुम्ब पाउनु हाम्रो सौभाग्य हो । उहाँलाई कसरी श्रद्धाञ्जली भन्नु । लाग्छ उहाँ सँगै हुनुहुन्छ , र सोध्दै हुनुहुन्छ –तपाईँको नाम के हो ।