फोटोसहितको मतदाता नामावली तयारी

आजभोलि

काठमाडौं । खोटाङ जिल्ला निर्वाचन कार्यालयले आसन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दशवटै स्थानीय तहमा टोली परिचालन गरेर पहिलो चरणमा यही मङ्सिर–१७ देखि २६ गतेसम्म र दोस्रो चरणमा मङ्सिर–२९ देखि आगामी पुस–९ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरिएको हो ।

पहिलो चरणमा केपिलासगढी, रावाबेँसी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा नामावली सङ्कलन गरिने जनाइएको छ । यस्तै, दास्रोचरणमा तुवाचुङ नगरपालिका,ऐसेलुखर्क ,हलेसी दिप्रुङ चुइचुम्मा र बराहपोखरी गाउँपालिकामा नामावली सङ्कलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली सङ्कलन खटिने कर्मचारी यही मङ्सिर–१३ र १४ गते छनोट गरिने जनाइएको छ ।

यसका लागि कार्यालयले आइतबार दिक्तेलमा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ को सन्दर्भमा जिल्लास्थित सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

निर्वाचन आयोगले निर्धारण गरेको कार्य तालिकाअनुसार जिल्लामा पनि ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने नारासहित फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गर्ने तयारी गरिएको कार्यालयका नायब सुब्बा लोकेन्द्रकुमार राईले बताउनुभयो ।

“फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न प्रत्येक पालिकामा चार÷चार जना कर्मचारी खटाइनेछ”, उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र इलाका प्रशासन कार्यालय रहेको खोटेहाङ गाउँपालिकामा भने त्यहीबाट नियमितरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलन भइरहेको छ ।”

नामावली सङ्कलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहने व्यवस्था मिलाइएको जनाइएको छ । सम्बन्धित पालिकाको तीन र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाउने तयारी गरिएको नायब सुब्बा राईले जानकारी दिनुभयो ।

नामावली दर्ताका लागि १८ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपिसहित तोकिएको स्थानमा पुग्नुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालय खोटाङमा पुगेर फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सक्ने नायब सुब्बा राईले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा विसं २०७४ को निर्वाचनमा एक लाख १८ हजार ३६ जना मतदाता रहेका थिए । गत जेठसम्मको तथ्याङ्क हेर्दा जिल्लामा पछिल्लो चार वर्षको अवधिमा बढेर महिला ६४ हजार ३०२ र पुरुष ६९ हजार ४९४ गरी जम्मा एक लाख ३४ हजार ९६ जना पुगेको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लामा नागरिकहरु स्वतःस्फूर्तरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलनको काम गरिरहेका छन् । जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि मतदाता नामावली दर्ता गराउन आह्वान गरिरहेका छन् ।

स्थानीय तह निर्वाचन ऐनअनुसार २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गरिसक्नुपर्ने हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठमा सकिँदै छ ।

  • १३ मंसिर २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !