(भाग तीन )
बर्फी खाएपछि हाकिम तृप्त देखियो । गोरेले ब्यागबाट एउटा मोबाइल सेट निकालेर टेबलमा राख्दै भन्यो “सर, ठूलो बाबुसँग अस्ति मेरो ‘च्याट’ भएको थियो । यही मोडेलको मोबाइल चलाउने इच्छा गर्नुभएको थियो । एक थान ‘कम्पलीमेन्टरी’ दिएका छन् । आम्मा मा मा, उहाँको आइटी सम्बन्धी ‘नलेज’ देखेर मेरो दिमाग खराब भयो । हुन त मेरो ‘नलेज’ पनि कम छैन । मेरो दादाको इन्जिनियर साथीले मलाई गुरु मान्छ । तैपनि बाबुको कुरा सुनेर मेरो त हालत खराब भयो । १२ –१३ वर्षको बच्चाले यत्रो कुरा सिक्नु भनेको त चमत्कार नै हो ।”
“त्यही त भन्या यार।” उसले अर्को बर्फी चपाउँदै भन्यो “कहिले काहिँ त मलाई चिन्ता नै लाग्छ । अस्ति मलाई एकजना ठेकेदारले नयाँ आइफोन ल्याइदिएको थियो । उसले दश मिनेट वल्टाइपल्टाइ के गरेको थियो, सब फिचर मलाई सिकाउन थाल्यो । मेरो चिन्ताको कारण के हो भने यस्तो इन्टेलिजेन्ट मानिसलाई यो मुलुकले कसरी थाम्न सक्छ ? हैन, उसको यहाँ कदर हुनै सक्दैन । युरोप अमेरिकाकै भाग्य जाग्ने भयो यार । उसले होम वर्क नै गर्दैन, किन भनेको त उसको होम वर्कमा करेक्सन गर्ने ठाउँ नै हुन्न रे, अनि । अहिले यो हालत छ भने भविष्यमा के होला? ओ माइ गड । दुईतीन विषयमा होम टिउसन राखिदिएको छु । टिचरहरूसँग गफ गरेर बस्छ । किन भनेको त, टिचरहरूले उसलाई सिकाउनै सक्दैनन् रे । अब भन्नूस् त । तैपनि टिचरहरूलाई मैले हटाएको छैन, उनीहरूले वास्तविक कुरा भन्छन् नि मलाई । ऊ त के भन्छ भने– ड्याडलाई त युँ युँ चुटकी बजाएर ‘फूल’बनाउन सक्छु । यस्ता प्रतिभाहरू यो देशमा टिक्ने वातावरण नै छैन । बाध्य भएर विदेश जानै पर्छ । अनि भन्नूस् त, यो देश कहिले उँभो लाग्छ । लेखेर राख्नूस् , यो देशको केही हुनेवाला छैन । नो, नेवर ।”
उसले मोबाइल ब्यागमा हालेर गोरेतिर हेर्यो । गोरेले बिल निकाल्यो “सर, टेण्डर सेण्डरको झमेला पर्छ भनेर मैले विभिन्न मितिको पाँचवटा बिल बनाएको छु । अनि एडजस्टमेन्टको लागि मोडेलको नाम पनि फरक छ । बिल महङ्गो खालको बनाएको छ । स्टोर दाखिलामा म मिलाइहाल्छु सर । यो सप्लायर त गज्जबको छ । यस्तो असल र इमानदार सप्लायर पाउन मुश्किल छ सर । अर्को वर्ष पनि यिनलाई नै काम दिनुपर्छ ।”
मोटेले बिल तान्यो “भइहाल्छ नि । के टेन्सन लिएको ? टेन्सन लेनेका नहीँ, देनेका । तपाइँ जस्तो सहयोगी पाउनु अफिस र मेरो भाग्य हो ।” उसले बिलमा टिप्पणी लेखेर हस्ताक्षर गरिदियो ।
गोरे हाकिमले भन्यो “ सर, त्यो मुसाको कुरा सुनेको बेलादेखि म तनावमा छु । खाजा खान पनि मन लागेन । विष हालेर मार्न पनि अपठ्यारो नै हुन्छ । मुसा मार्ने विष हावाले उडाएर कुनै कर्मचारीको टेवलतिर पुग्यो, पानीको गिलासमा पर्यो भने मानिसको ज्यान नै जान सक्छ । उसको अनुहार अँध्यारो भयो “बरु जागिर छाडिदिन्छु, अहँ , म त यस्तो रिस्क लिनै सक्दिन न नि सर । अफिसको कत्रो बदनामी हुन्छ सोचौँ न । प्रोजेक्टका दाताहरूको दृष्टिमा हामी त खत्तम हुन्छौ नि । उनीहरू स्टाफहरूको स्वास्थ्य र सुरक्षाको विषयमा कति चासो राख्छन् । हाम्रो अफिसकै भविष्यको कुरा हो नि । त्यही भएर मैले बरु जे जति खर्च लाग्छ , अरु उपाय गर्ने भन्ने सोचेको सर । त्यसमाथि थरिथरिका मुसा हुन्छन्, सबैलाई उही खालको विषले पनि काम गर्छ भन्ने जरुरी छैन । यतातिर कस्तो खालको मुसा हुन्छ, त्यसलाई हटाउने केही उपाय हुन्छ कि भन्ने विषयमा साइन्टिस्टहरूलाई थाहा होला । विश्वविद्यालयमा सरको साढुभाई हुनुहुन्छ नि, उहाँसँग सम्पर्क राखेर कुनै त्यस्तो विशेषज्ञ कुरा गर्ने हो कि । विशेषज्ञको प्रतिवेदन पनि ठ्याँसन पाए दाताहरूलाई हामी हरेक काममा कति गम्भीर छौँ भनेर प्रमाणित गर्न सक्छौँ । ”
मोटे गद्गद् भयो “साल्यूट छ तपाइँलाई । अफिस र आफ्नो कर्तव्यप्रति तपाइँजतिको लगनशील र इमानदार, धेरै पनि पर्दैन दशबीसेक कर्मचारीमा हाम्रो कार्यालयमा भैदिएको भए आकास जमिनको फरक पर्ने थियो । अब हुने स्टाफ मिटिङमा तपाइँको उदाहरण दिएर स्ट्रङली भन्छु – सिक्नूस् उहाँसँग ।”
उसले कसैलाई फोन गर्यो “ ए भाइ , तिम्रो युनिवर्सिटीतिर नेपालको मुसाको बारेमा रिसर्च गर्ने कोही छ ? थाहा छ यार , तिमी इतिहास पढाउँछौ । तैपनि जानकारी हुन्छ नि । ए बाबा दिन्छु नि , दिन्छु । मैले घरखेत बेचेर दिनुपर्ने हैन क्यार । ठिक छ , मिलाएर जति , सकिन्छ दिन्छौँ । भोलि एकदेखि दुई बजेसम्म ?यहाँको क्यान्टिन को नहुने अरे । केएफसी नजिकै छ, त्यहीँबाट मगाइदिउँला ।“
उसले गोरेतिर हेर्दै भन्यो “भोलि जुलोजी डिपार्टमेन्टको साथी लिएर आउँछ अरे । मुसाको बारेमा उसैसँग कुरा गरौँला । दुई जनालाई बीस हजार दिुनपर्ने अरे । त्यो पनि क्यास । भोली दश बजे तपाईँ मकहाँ आउनुस् न है । अरेन्ज गरौँला । अनि केएफसीबाट आठदश जनालाई पुग्ने बास्केट पनि एउटा है । भोलि शुक्रबार, पपलु बैंठक छ अरे । कहिले काहिँ त म पनि जान्छु । म मोटे हाकिमको पछिल्तिरको दराजमा थिएँ । जाबो ४०–५० ग्रामको मुसाको विषयमा विश्वविद्यालयका विद्वानसँग गुहार माग्नु पर्यो । म मुसा त कमताको होइन भनेर बुर्लुक्क के उफ्रेको के थिएँ , गोरे हाकिम चिच्यायो “ त्यहाँ मुसा रहेछ । ”
म हतार हतार एउटा दराजपछिल्तिर लुकेँ । मोटेले गोरेलाई अँगाल्यो मार्यो “आफ्नो कर्तव्यप्रति कति चिन्तित हुनुहुन्छ । जताततै मुसा देख्न थाल्नुभयो । केही दिनमा यो समस्या समाधान भइहाल्छ, चिन्ता नगर्नूस् ।”
उनीहरू दुबैजना कोठाबाट बाहिरिए । मेरो काम केही थिएन । खानेकुरा यथेष्ट पाउने ठाउँ फेला परेकै थियो । कुनै चिन्ता थिएन । पूरा घर घुमेँ । क्यान्टिनसँगै थोत्रा सामान राख्ने ठाउँ थियो । त्यहाँ मलाई लुक्न बस्न राम्रो प्रबन्ध रहेछ । यसरी नै मैले एक एक कोठा चहारेँ । गोरेको कोठामा छिरेँ । खोइ किन हो, मलाई के सनक चढ्यो, मैले उसको टेबलमा बेस्सरी फोहर गरिदिएँ – लु भाई, क्षेत्रीय कार्यालय मात्र किन ? यहाँको पनि फोटो खिच । यद्यपि मुसा शान्त प्रकृतिको जीव हो । त्यही भएर अङ्ग्रेजीमा उखान समेत छ – As quite as mouse. मलाई रातभर छटपटी भयो –मलाई सिध्याउने योजना कसरी बनाउने भन्ने विषयमा छलफल गर्न भोलि विश्वविद्यालयबाट प्रोफेसरहरू आउनेवाला थिए । क्रमश:
(धारावाहिक लघु उपन्यास ‘ एउटा मुसाको आत्मकथा’ पाक्षिक रूपमा प्रकाशन गरिने छ । लेखकसँग सम्पर्क [email protected] )