नयाँ आवासमा दोस्रो दिन
विहानैदेखि चहल पहल सुरु हुन थाल्यो । अफिस सफा गर्ने दिदी भ्याकुम क्लिनरले कोठाहरू सफा गर्न थालिन् । क्यान्टिनका कर्मचारीहरू पकाई–तुल्याईको सुरसारमा लागे ।गोरे हाकिमको कोठा अघिल्तिर मोटरसाइकल स्ट्याण्ड थियो । त्यसको छानामा बस्दा उसको कोठा देखिन्थ्यो । त्यहीँ बसेँ । अघिल्लो दिन उसको टेबलमा फोहर गरिदिएको थिएँ । त्यसको प्रतिकृया हेर्न म आतुर थिएँ ।
अरु कर्मचारीभन्दा ऊ अलि ढिलो आयो । हतार हतार गरेर कोठा खोल्यो । कुर्सीमा बस्नासाथ टेबलको फोहर देखेर झस्कियो “ आम्मामा , हुँदा हुँदा मेरो कोठमा पनि मुसा छिरेछ । अब नसकिने भो ।”
हल्ला सुनेर क्यान्टिनकी साहुनी उसको अघिल्तिर आइपुगिन् । उनले गरेको नमस्कारको वास्तै नगरेर उसले भन्यो “ मुसाले त आतङ्क मच्चाउन थालिसक्यो। हुँदा हुँदा मेरो कोठामा समेत पसेछ । जानूस् त , सफा गर्ने दिदीलाई तुरुन्त बोलाएर ल्याउनूस् । ”
हस्याङफस्याङ गर्दै दिदी आइपुगिन् । हाकिमले हपारेको शैलीमा भन्यो “ अलि ध्यान दिएर काम गर्नूस् । जागिर धरापमा पर्ला । कोठा सफा गर्दा मुसा छ छैन, विचार गर्नुहोस् । मार्ने होइन नि । मरेको मुसाले गर्दा कस्ता कस्ता रोग लाग्न सक्छ । यत्राविधि मानिस छन् , कसैको ज्यानमा तलमाथि पर्यो भने ?लु लु ,पैले’ एउटा पोलिथिन ब्याग ल्याएर मेरो टेबलको फोहर हालेर राखिदिनुस् । भरे विशेषज्ञ आउने कुरा छ , उहाँलाई देखाउँला ।”
गोरे हाकिमले कसैलाई फोन गर्यो “सर, आज मेरो टेबलमा मुसाले फोहर गरेको रहेछ । हामीले यस विषयमा अझ बढी गम्भीर भएर अघि बढ्ने हो कि । सरले आकस्मिक स्टाफ मिटिङ कल गरेर सबैलाई सचेत गराउनु पर्छ होला ।”
उताबाट के जबाफ आयो , त्यो त मैले सुनिँन । केही राम्रै उत्तर पाएको हुनुपर्छ , गोरे हाकिमको अनुहार धपक्क बल्यो । क्यान्टिनमा गएर उसले तीस चालिस कप चिया हलमा ल्याउन आदेश दियो । हल त मैले अघिल्लै दिन देखेकै थिएँ । मोटे हाकिम बसेको कोठाको माथिल्लो तलामा । पहिले त मैले त्यही हलमा आफ्नो वासथलो बनाउने विचार गरेको थिएँ । पछि , आफ्नो रुचिको अर्कै थलो फेला परेको थियो ।
म सरासर हलतिर लागेँ । के गर्नु, भरेङ चढेर जानु डरमर्दो थियो । पछाडिबाट पाइप चढेर हलको फल्स सिलिङमा छिरेर बसेँ । एक छिनपछि कर्मचारीहरू आउन थाले । कसैले हातमा डायरी बोकेका थिए भने, कसैले ब्याग ।सबैमा एउटा समानता थियो । सबको अनुहार एकदम गम्भीर थियो. । सब चुपचाप थिए।
दश पन्ध्र मिनेटपछि मोटे हाकिम आइपुग्यो । उसल ढिलो. आउनाको कारण प्रष्ट पार्यो “ मसँग सात दिनअघि नै एक जना विदेशीले समय मागेको थियो । उसँग केहीबेर कुरा गर्दागर्दै अबेर भयो ।
उसकै पछिपछि आएकी एक जना महिला उसको कुरा सुनेर मुसुमुसु हाँसिरहेकी थिइन् । अन्य सबै कर्मचारी डायरीमा नोट गर्न तमतयार भए । मोटे हाकिमले चश्मा लगाउँदै भन्यो “ कतिपय कुराहरू हेर्दा सामान्य हुन्छन् , तर त्यसले धेरै असर पार्न सक्छ । समयमै ध्यान दिएन भने कतिपय समस्या दिन दुना, रात चौगुना भएर बढ्छ । अङ्ग्रेजीमा एउटा भनाइ छ –Stich in time save nine । अब नेपालीमा यसलाई के भन्छन्, यस्तो खालको उखान छ कि छैन, मलाई थाहा छैन । यसको मूल मर्म के हो भने , समयमै काम गर्दा जति सजिलो हुन्छ पछि गएर गर्दा धेरै कठिन हुन्छ । उसले छेउमा बसेकी महिलालाई भन्यो “ मेरा लागि यति गरिदिनुस् न है । यो Idiom को अर्थ के हो , उदाहरणसहित सबै स्टाफलाई मेल गरेर पठाइदिनुस् न है । ओके , लेट अस कम टु द प्वाइन्ट । उसले गोरे हाकिमतिर इशारा गर्दै भन्यो “ उहाँले निकै तदारुकतासाथ के पत्ता लगाउनुभयो भने हाम्रो अफिसमा मुसा रहेछ । अस्ति तार काटिदियो । हिजो उहाँको टेबलमा फोहर गरिदियो । हेर्दा सामान्य लाग्छ । कुनै घरमा मुसा भेटिनु अति सामान्य कुरा हो । मुसा मार्ने औषधी हालिदियो , मार्यो । कुन ठूला कुरा हो । तर, गहिरो दृष्टिकोणका साथ हेर्ने हो भने यो सानो कुरा लागे पनि सानो होइन । हेर्ने दृष्टिकोण यत्तिकै बन्दैन । त्यसका लागि आफ्नो कामप्रति लगनशीलता , इमानदार,सूक्ष्म अन्वेषण गर्ने प्रवृत्ति चाहिन्छ । यी सबकुरा उहाँमा छ । म एक्लैले पूर्वदेखि सुदूरपश्चिमसम्मको एक एक खबर राख्न सक्छु र ? सम्भव नै छैन । उहाँबाट तपाईँहरू पनि केही न केही त सिक्नूस् । यस सन्दर्भमा मलाई लागेको केही महत्वपूर्ण बुँदाहरू यहाँ प्रस्तुत गर्दछु ।”
यति भनेर ऊ केही बेर चुप लाग्यो । शायद उसको कुरा कर्मचारीहरूले बुझे । आ–आफ्ना डायरीमा लेख्न थाले । उसले भन्यो “ नम्बर १ , हामीकहाँ भएका विभिन्न अभिलेखहरूको लिखित प्रतिहरू मुसाका कारण असुरक्षित हुन सक्छन् । मुसाले काटेर नष्ट पारिदियो भने , के गर्ने ? नम्बर २, मुसाका कारण हाम्रा कर्मचारीलाई रोगव्याध सर्न सक्छ ।( यहाँ उसले के स्पष्ट पार्न खोज्यो भने ऊ कर्मचारी होइन, जे भए पनि कर्मचारीभन्दा फरक हो वा माथिल्लो जीव हो । उसले आफूलाई पनि कर्मचारीकै तप्कामा राखेको भए ‘हामी कर्मचारी’ भन्दो हो)।नम्बर ३ , तपाइँहरूलाई थाहा छ कि छैन कुन्नि, ‘आइ डन्ट नो’ मुसाको लिँड मानिसको पेटमा पर्यो भने खतरनाक जन्डिस समेत हुन्छ । यसमा तपाईँहरू सचेत हुन आग्रह गर्दछु ।नम्बर ४ , मुसालाई पिँजरामा कैद गर्न पनि सकिन्छ , मेरो जानकारीमा आएसम्म त्यसको सफलताको प्रतिशत भने एकदमै कम छ । त्यसमा भर पर्न सकिन्न । नम्बर ५, विष हालेर मार्न पनि नसकिने होइन । कुनै पनि विष त्यस्तो छैन, जो सबै खाले मुसा मार्न समान रूपले काम लागोस् । हामीलाई के थाहा छैन भने हामीकहाँ भएको मुसा कस्तो खालको हो ।यस विषयमा आज दिउँसो एउटा बैठक बस्दैछौँ । उसले चारैतिर हेरिसकेपछि छेउमै रहेकी महिलालाई हेर्दै भन्यो “ यस सन्दर्भमा कसैलाई केही भन्नु छ कि ? ”
उनले भनिन् “सरले हेर्दा साधारण लाग्ने , यथार्थमा गम्भीर समस्याका विषयमा हामी सबैलाई जानकारी दिनुभयो । धन्यवाद सर । मुसाले दुख दिन थालेपछि उत्पातै गर्छ । कहाँबाट कसरी मेरो घरमा पनि अघिल्लो वर्ष मुसा छिेरेछ । राम्रा राम्रा लुगा छानी छानी काटिदिने भन्या । बैंककको इम्पोरियम मलमा मैले जिन सुट किनेकी थिएँ । कस्तो राम्रो फिटिङ् थियो । अँ त , उहाँ सर पनि किन्ने बेलमा सँगै हुनुहुन्थ्यो । उहाँले चुज गरिदिनुभएको हो । मुसाले काटिदिएछ । कति दिनसम्म मेरो मुड खराब भयो । अलि दिनपछि मेरो एकदमै मिल्ने साथीले ‘गडाइभा चकलेट’ उपहार दिएका थिए , टोक्दै छाड्दै गरेर नाश गरिदियो । । घरमा त थोरै मानिस हुन्छन् , विष हालेर मारिदिँदा पनि केही फरक पर्दैन । यहाँ त यत्राविधि कर्मचारी छन् । तिनको सुरक्षाको चिन्ता हामीले नगरे कसले गर्ने? ( यिनले पनि आफूलाई कर्मचारीमा सामेल गराइनन्।)। काम परेर कतिपय कर्मचारी रातबिरात यहीँ बसेर काम गर्छन् । कथंकदाचित त्यो विष कसैको पेटमा पुग्यो भने कत्रो दुर्घटना हुनसक्छ , विचार गरौँ । अफिसको कत्रो बदनामी हुन्छ । हाम्रो दक्षतामाथि प्रश्न उठ्न सक्छ । यस्तो गम्भीर विषयमा त सरले नै उचित कदम चाल्नुपर्छ जस्तो लाग्छ ।”
यसपछि अर्को एकजना बोल्न थाल्यो । उसलाई देख्नासाथ डरले मेरो सातो उड्यो । आँखा कुहिरो थियो , विरालोको जस्तै ।उसले भन्यो “म्यामले महत्वपूर्ण कुरा उठान गर्नुभयो । हामीबाट भन्दा पनि सरबाट नै यो समस्याबाट मुक्ति मिल्न सक्छ । हामीले के गर्न सक्छौँ भने बिहान आउनासाथ र बेलुका अफिसबाट जानेबेलामा आ–आफ्नो कोठामा लठ्ठीले ठाकठुक पारेर मुसा भगाउने । मुसालाई हान्नु पनि भएन । ठहरै भए त ठिकै छ । अरु कुनै ठाउँ गएर मर्यो भने अर्को आपत । कुहिएर रोगव्याध लाग्ने डर । सरले बीस पच्चीस थान प्वाइन्टर स्टिक मगाइदिनुपर्यो । एकआध घण्टा चाँडो आउने , एकआध घण्टा ढिलो घर फर्किने ।”
उसको कुरा सुनेर दुवै हाकिम प्रसन्न देखिए । गोरे हाकिमले तत्कालै फोन गर्यो “ रेट सेटको मलाई मतलब छैन । जतिसक्दो चाँडो पचास थान जति प्वाइन्टर स्टिक हुन्छ नि , ल्याइदिहाल्नूस् ।
( धारावाहिक लघु उपन्यास ‘ एउटा मुसाको आत्मकथा’ पाक्षिक रूपमा प्रकाशन गरिने छ । लेखक सम्पर्क ः [email protected])