नेपाली राजननीतिमा अत्यन्तै धेरै प्रतिक्षा र शंघर्ष पछि प्राप्त भएको प्रजातन्त्र र यहि प्रजातन्त्रमा देश बिकासको सपना देख्ने नागरिकहरु अहिले पुर्पुरोमा हात राखेर आफ्नै बिगतलाई संझिरहेका देखिन्छन् । लोकतन्त्रमा या प्रजातन्त्रमा नागरिकहरुको अधिकार सुनिश्चित हुने सपना देखेर राजनीतिक परिवर्तनको आन्दोलनमा होमिएका मात्र हैन राजनीतिमा सुद्धता र निष्पक्षताको चाहना राख्ने तत्कालिन ब्यवस्थाका सारथिहरु पनि अहिलेको राजनैतिक प्रणाली र यहि प्रणालीले स्थापित गरेका गलत नजिरहरुका कारण रणभुल्लमा परेका देखिन्छन् ।
जहानियाँ राणा शासनको अत्याचार, दमन र नेपाली नागरिकहरु माथि गरिएका बिभेदपूर्ण ब्यबहारका कारण सबै नागरिकलाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने, आफ्ना अभिब्यक्तिहरु खुलेर राख्न पाउने, नागरिकका प्रति राज्य र सरकारको जिम्मेबारीको बोध गराउँदै देश बिकास र जनताको जीवनस्तर माथि उठाउने चाहना र देशमा प्रजातन्त्रको स्थापना गर्ने सपना बोकेर परिवर्तनको आन्दोलनको नेतृत्व गरेका जननायक विश्वेश्वर प्रसाद कोईरालाले समेत कल्पना नगरेको भ्रष्ट र निकम्मा नेतत्व अहिले नेपाली कांग्रेसमा मात्र स्थापित भएको छैन बल्की नेपालमा राज्यसत्ताको स्वाद चाखेका सबै राजनीतिक दलहरुमा समान रुपमा मौलाएको देखिन्छ ।
२०१६ सालमा जननायक बि.पि.ले परिकल्पना गरेको नेपाल र नेपालीको अवस्था अहिले ठ्याक्कै नमिल्न सक्छ । विश्व बजारमा देखिएको द्रुततर आर्थिक बिकास र आर्थिक बिकाससँगै निर्माण भएका बिज्ञानका चामत्कारिक उपकरणहरुका कारण अब बिगतमा कल्पना गरेभन्दा अझ बढी परिस्कृत र उन्नत समाज निर्माण हुन खोजिरहेको छ । मेरो जस्तै मध्यम बर्गिय परिवारका लागि आवश्यक पर्ने श्रोत र साधनको ब्यबस्था मिलाउछु भन्ने महामानव बि.पि.ले आफ्नो सपना यो देशको माटो र यो देशका जनताका बिचमा कहिल्यै पुरा गराउन पाएनन् । बिकास र परिवर्तन देख्न नचाहने शक्ति यो देशमा बिगत देखि बर्तमानसम्म छद्य भेषमा कायमै रहेको आभाष अहिले पनि आम नेपाली नागरिकहरुले गरिरहेका छन् । देशमा प्रजातन्त्रको पुर्नस्थापना पछि केहि आशाका किरणहरु नदेखिएका पनि होईनन् तर राजनैतिक परिवर्तनसँगै मौलाएको भ्रष्टाचारका बृक्षहरु नामेट हुनुको सट्टा बनमारा झै मुलुकै भरी यति चाँडो र शनशनिपूर्ण तवरले फैलियो कि बिगतमा ब्यवस्था परिवर्तन गर्न सक्ने क्षमता राख्ने नेताहरु पनि त्यहि भ्रष्टाचारको दलदलमा भासिदै गए । कति होनहार नेताहरु यहि दुर्गन्धका कारण बदनाम मात्र भएनन् कतिले त जेलको चिसो छिँडीको सितलता प्राप्त गर्ने अवसर पनि प्राप्त गरे ।
केहि अपबादका प्रधानमन्त्रीहरु बाहेक देशमा बनेका अधिकांश प्रधानमन्त्रीहरुलाई भ्रष्टाचार नामक चुम्बकले आफुतिर मात्रै तानेन अत्यन्तै बदनाम समेत बनाई दियो । जसका बाछिटाहरुले बर्तमानका प्रधानमन्त्रीहरु पनि कताकता शरिरमा दाग लोगेको छ भन्नेहरुको उत्तर होईन होला ? भनेर दिन सक्ने अवस्था पनि बन्न सकेको छैन । देशले जहिले पनि बिकास मागिरहेको हुन्छ । नागरिकहरुले जहिले पनि रोजगार र सुरक्षित जिवन यापनको आधार खोजिरहेका हुन्छन् । देशको अभिभावक भएको नाताले यी सबै कुराको ब्यवस्थापन गर्ने जिम्मोबारी सरकारको हो । तर नेपालमा बनेका कुनै पनि सरकारहरुले देशमा रोजगारी सृजना गर्ने र आर्थिक शुसासन कायम गर्ने कुरामा ध्यान दिन सकेनन् ।
पञ्चायतको समाप्तीसँगै देशमा खोलिएका सयौं उद्योग तथा कलकारखाहरु बन्द मात्र भएनन तिनै उद्योग तथा कलकारखानाका नाममा भ्रष्टाचारमा मुछिएका दलका नेताहरुको अनुहार हेर्न अहिले बबुरा नेपाली बाध्य छन् । कुरा यति चाँहि पक्का हो, वाईडबडी जहाजदेखि कवाडीखानासम्म खान पछि नपर्ने नेताहरुको सर्वस्वहरण नगरिकन यो देशमा सुसासन र आर्थिक पारदर्षिता कहिल्यै स्थापना हुनै सक्दैन । ३२ बर्ष देखि निरन्तर यिनै अनुहारहरुले देश र जनताको दोहन गरिरहदा पनि बबुरा नेपाली नागरिकहरु मात्र हैन यो देशको मुहार फेर्छु भनेर चौरस्तामा फोश्रा भाषण छाँटने युवा नेताहरु पनि आफुलाई अब्बल राजनीतिज्ञको रुपमा स्थापित गर्न सकिरहेका छैनन् । अझै पनि यिनै बृद्ध र भ्रष्ट नेतृत्वको खोकिलामा आफुलाई सुरक्षित भएको महशुष गर्ने अबसरबादी युवा नेताहरु रहुञ्जेल र आम नागरिकहरुले आशा, भरोषा र विश्वास गर्न छोडिसकेका निराशाबादी नेतृत्वको हालिमुहाली रहुञ्जेल देशले द्रुततर आर्थिक बिकास र रोजगारिको क्षेत्रमा आमुल परिवर्तनको छलाङ्ग मार्न सक्दै भन्ने कुरा चाँहि अब ऐना जत्तिकै छर्लङ्ग भएको छैन र ?