भरतपुरवासीलाई खानेपानी निःशुल्क

आजभोलि

काठमाडौं । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु एक लाख बराबरको छोरी बिमा कार्यक्रमको निर्णय गरिएको छ ।

पहिलोपटक प्रमुख हुँदा उहाँले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरङ्ग सेवा टिकट निःशुल्कको निर्णय गर्नुभएको थियो । दाहालले यो निर्णयले महानगरवासी लाभान्वित हुने बताउनुभयो । महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले आजैदेखि निःशुल्क खानेपानी पाउने भएका छन् । यसका लागि वार्षिक रु दुई करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान छ ।

महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत खानेपानी वितरण गरिँदै आएको छ । बोर्डका ३५ ग्राहक हजार छन् । बोर्डका प्रमुख प्रजापति दाहालका अनुसार २५ भन्दा बढी उपभोक्ता समितिमार्फत महानगरमा खानेपानी वितरण गरिँदै आएको छ । महानगरका ९० प्रतिशत जनताले सरकारी निकायबाट वितरण गरिएको स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन् ।

महानगरले आज गरेको दोस्रो निर्णयमा महानगरपालिकामा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि रु एक लाखको जीवन बिमा गरिने भएको छ । महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो वर्ष एक हजार ७५० जनाको बिमा हुने अनुमान छ । सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूले यो अवसर प्राप्त गर्नेछन् ।

राष्ट्रिय बिमा संस्थानमार्फत बिमा गर्न लागिएको हो । एक जनालाई वार्षिक रु तीन हजार ३०० महानगरपालिकाले १५ वर्षका लागि बुझाउने छ । पन्ध्र वर्षपछि ती छोरीले रु एक लाख पाउने गरी बिमा गर्न लागिएको हो । अर्यालका अनुसार आउँदो १५ वर्षमा २६ हजार २५० जनाले सुविधा लिने अनुमान गरिएको छ ।

पदभार ग्रहणसँगै दाहालले महानगरवासीले आफ्नो अघिल्लो कार्यकालका कामलाई अनुमोदन गरेको भन्दै पहिलो प्राथामिकतामा अधुरा काम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुर महानगरपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने बनाउँछाँै ।” महानगरवासीलाई निरास हुन नदिने भन्दै उहाँले सबैको राय–सुझाव लिएर काम गर्ने बताउनुभयो ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीका आवश्यकता आफूहरूले बुझेको उल्लेख गर्दै सोहीअनुरुपका योजना अघि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “अबको पाँच वर्षमा भरतपुरलाई देशकै सुन्दर सहर बनाइने छ ।”

  • ११ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !