काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले मर्जरको सम्झौता गरेका छन् । दुई बैंकबीच बिहीबार बिहान होटल याक एण्ड यतीमा मर्जरको सम्झौता भएको हो । दुबै बैंकले एक वित्तीय संस्था बनाएर कारोबार गर्ने गरी मर्जरको सम्झौता गरेका छन् ।
बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले दिएको जानकारी अनुसार दुबै बैंकले एक हुने सम्झैतापत्रमा हस्ताक्षर गरेका छन् । आज भएको सम्झौता अनुसार एकिकृत बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत ग्लोबल आइएमई बैंकको भागमा परेको छ भने डिपुटी सिईओ बैंक अफ काठमाण्डूले पाउने भएको छ ।
बैंकको नाम के राख्ने भन्ने विषयमा टुंगो लागि नसकेको बैंक अफ काठमाण्डूका श्रेष्ठले जानकारी दिए । साथै उनले स्वाप रेसियो १ः१ रहने गरि सम्झौता भएको समेत बताएका छन् । अब यी दुई बैंक मर्जर भएपछि ५२ अर्ब पुँजीसहित देशकै ठूलो बैंक बन्नेछन् ।
मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ ।