काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको ध्यान सामान खरिद र त्यसका लागि खर्चको जोहो गर्नेतिर जान थालेको छ । व्यापारी दशैँ, तिहारका लागि बिक्री गर्ने सामानको तयारी गर्न थालेका छन् । सरकार भने सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गर्न थालेको छ ।
असोजको दोस्रो–तेस्रो सातामा परेको यस वर्षको दशैँ र कात्तिकको दोस्रो सातामा परेका तिहार र छठलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना तयार गरेको छ । प्रत्येक वर्ष चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा। नारायण रेग्मीले सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेर सम्बन्धित निकायलाई निर्देशनसमेत गइसकेको जानकारी दिए । चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।
सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसलबाट सामान बिक्री गर्नेछन् । छुट मूल्यमा उपभोक्तालाई सामान बिक्री गरेबापत सरकारले कम्पनीलाई शोधभर्ना रकम उपलब्ध गराउँछ ।
दुई वर्षअघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ । यस वर्ष उपभोक्तालाई राहत दिन चार करोड रुपियाँ छुट्याइएको मन्त्रालयले जनाएको छ ।