यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

आजभोलि

काठमाडौँ । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ ।

विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१/०२२ मा नेपालले पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान रहेको पनि विश्व बैंकले जनाएको छ ।

विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने देखाएको छ । नयाँ प्रक्षेपणअनुसार सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर एक दशमलव सात प्रतिशतमा खुम्चने छ । जुन अघिल्लो अनुमानभन्दा एक दशमलव तीन प्रतिशत विन्दुले न्यून हो । विश्व बैंकले छ महिनाअघि अर्थात् गत जुन महिनामा मात्र विश्व आर्थिक वृद्धिदर तीन प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सन् २०२४ मा भने विश्व आर्थिक वृद्धिदर दुई दशमलव सात प्रतिशत रहने प्रक्षेपण छ ।

ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदनअनुसार रुस–युक्रेन युद्ध र कोभिड महामारीको प्रभावलाई न्यून आर्थिक वृद्धिदरको मुख्य कारणका रूपमा हेरिएको छ । त्यस्तै, उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृङ्खलामा देखिएको अवरोधलगायतका कारणले पनि आर्थिक वृद्धिदरमा गिरावट आएको विश्व बैंकले जनाएको छ ।

सन् २००९ को विश्व आर्थिकमन्दी र २०२० मा महामारीका कारण न्यून देखिएको आर्थिक वृद्धिदरपछि यस वर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । “सन् २०२३ को आर्थिक वृद्धिदरको अनुमान पछिल्लो तीन दशक अवधिमा देखिएको तेस्रो ठूलो गिरावट हो । विश्व आर्थिक वृद्धिदर सन् २००९ / २०२२ यताकै यस वर्ष सबैभन्दा कम हो”, प्रतिवेदनमा भनिएको छ ।

विश्व बैंकको प्रक्षेपणअनुसार भारतमा सन् २०२३ मा छ दशमलव छ प्रतिशत र सन् २०२४ मा छ दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर रहने छ । त्यस्तै, पाकिस्तानमा सन् २०२३ मा दुई प्रतिशत र सन् २०२४ मा तीन दशमलव दुई प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ । त्यस्तै, बङ्गलादेशमा सन् २०२३ मा पाँच दशमलव दुई र सन् २०२४ मा छ दशमलव दुई प्रतिशत आर्थिक वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण छ ।

  • २७ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !