सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण : मुख्यमन्त्री कार्की

आजभोलि

झापा । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताएका छन् ।

झापाको विर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने आफ्नो योजना बताए ।

“अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौँ”, उनले भने,“सहमति जुटेन भने बहुमतबाट भए पनि नामकरण हुन्छ ।” हाल प्रदेश नं १ बाहेकका प्रदेशको नामाकरण भइसकेको छ ।

यसअघि प्रदेश नं १ को नामकरण प्रयासमा आफ्नो दल सहयोगी बन्न खोज्दा पनि सफल नबनेको दाबी गर्दै नेकपा (एमाले) स्थायी कमिटीका सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले भने, “हाम्रा कारणले नामकरण रोकिएको होइन ।”

उनले प्रदेश नं १ मा पुरानो सञ्चार प्रतिष्ठान ब्यूँताउने जानकारी दिए । मुख्यमन्त्री कार्की प्रदेशको पहिलो सरकारका बेला आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री थिए । त्यसबेला आफूले नै सञ्चार प्रतिष्ठान गठन गरेको प्रसङ्ग जोड्दै उनले अब कानुन नै बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताए ।

पत्रकार उपचार कोष सञ्चालन र पेसागत सुरक्षाका लागि प्रदेश सरकारले के–कस्तो सहयोग गर्नुपर्छ भनेर चाँडै नै नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल र पत्रकारहरूको सङ्घसङ्गठनसँग परामर्श गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

अग्रज पत्रकार सम्मानित
प्रेस चौतारी झापाले आज प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारलाई सम्मानित गरेको छ । मुख्यमन्त्री कार्कीले सबै अग्रज पत्रकारलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए ।  सम्मानित अग्रज पत्रकारमा नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाल रहेका छन् ।

पाठक प्रेस चौतारी झापाका प्रथम अध्यक्ष हुन्। काजी, क्षेत्री र आचार्य झापाको पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पु-याएका अग्रज हुन् । पकुवाललाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो ।

  • २१ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !