कैलालीमा आयआर्जन गर्दै ‘ब्युटीसियन’ महिला

आजभोलि

कैलाली । कैलालीमा सयौँ महिला ‘ब्युटीसियन’ पेसामा आबद्ध छन् । महिलाले सीप सिकेर ब्युटीपार्लर खोली आर्थिकरुपमा सफलता पाएका छन् । महिलाहरु आयआर्जनका कार्यमा लाग्दा परिवार व्यवस्थापनमा सहयोग पुगेको छ ।

कैलालीको लम्कीकी यशोदा मास्के जिसीले ब्युटीपार्लर खोलेको १५ वर्ष भयो । पन्ध्र वर्षमा उनी सीपमा दक्ष हुनुका साथै अरुका लागिसमेत प्रेरणाको स्रोत बन्दै आएकी छिन् । सुरुमा रहरले यो पेसामा लागेकी मास्के आजभोलि सन्तुष्ट छिन् । ‘विगतमा गाह्रो थियो, अहिले राम्रो छ, आजभोलि पेसासँगै नयाँ बहिनीहरुलाई सिकाउने काम पनि गरिरहेकी छु’, उनले भनिन्, ‘यो पेसाले आत्मविश्वास बढाएको छ, जीवन पनि सहज बनाएको छ ।’

यही पेसाले आर्थिक अवस्थामा सुधार आएको उनको भनाइ छ । ‘दैनिक कमाइ हुन्छ, जसले घरखर्च चलाउन सहज भएको छ’, मास्केले भनिन्, ‘दिनभरि महिलालाई सिगार्ने पेसाले हामीलाई धेरै कुरा दिएको छ ।’ लम्की चुहाकै तुल्सीदेवी न्यौपानेले साना बच्चा छाडेर यो सीप सिके । त्यो बेला साना बच्चा हुर्काउनु र अर्कोतिर सीप सिक्न निकै कठिन थियो ।

हाल आर्थिक अवस्था सुधार गर्न र बालबालिकामाथि लगानी गर्न यो पेसाले सहज बनाएको उनको भनाइ छ । ‘अहिले आफैँले कमाएर खर्च गर्न पाइएको छ, अरुसँग माग्नु परेको छैन’, उनी भन्छिन्, ‘यो पेसाले आर्थिक अवस्थामा सुधार ल्यायो, बालबच्चाका आवश्यकता पूरा गर्न सकिएको छ, आफू बेरोजगार हुनुपरेको छैन ।’

टीकापुरकी निता विष्ट रावलले बच्चा हुर्काएपछि खाली समय सदुपयोग गर्न ब्युटिपार्लर सिकिन् । सिकेको सीप व्यवहारमा उतारौँ भनेर यो पेसा अगालेकी निताले सुरुमा एक लाख रुपैयाँबाट पार्लर सुरु गरिन् । उनले यही पसलबाट धेरै प्रगति गरेकी छिन् ।

‘एक लाख रुपैयाँबाट व्यवसाय सुरु गरे, हाल लाखौँको सामान छ’, रावलले भनिन्, ‘यो पेसाले आर्थिकरुपमा बजबुत बनायो, सामाजिक प्रतिष्ठा र आत्मविश्वाससमेत बढाएको छ ।’ कैलालीकै गीता गिरीको बच्चैदेखि यही पेसामा लगाव थियो । यही पेसाले घरखर्च र बालबालिकाको शिक्षादिक्षामा लगानी गर्न सकिएको उनले बताइन् । ‘यो पेसामा रहर थियो, महिलाका लागि काम गर्न सजिलो पेसा पनि हो’, उनी भन्छिन्, ‘त्यसैले यो पेसा रोजेँ, राम्रो आम्दानी भइरहेको छ ।’

यस्तै पुष्पा रेग्मीले बेरोजगार भएपछि रोजेको यो पेसाले हाल उनलाई आर्थिक र सामाजिकरुपमा सन्तुष्टि दिलाएको छ । ‘केही गरौँ, आयआर्जनमा जोडिनुपर्छ भनी यो सीप सिके’, रेग्मीले भनिन्, ‘अहिले राम्रो हुँदै गएको छ, महिलाहरुलाई सेवा दिन पाइएको छ ।’

यसरी व्यवसाय गरिरहेका महिलालाई स्थानीय सरकार, ब्युटिसियनका सङ्घ संस्थालेसमेत सघाइ रहेकाछन् । उनीहरुको थप दक्षता वृद्धि, नयाँ सिक्न चाहनेलाई तालिमजस्ता कार्यक्रम भइरहेका टीकापुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख नन्दबहादुर केसीले बताए ।

‘नगरपालिकाले अहिले पनि तालिम सञ्चालन गरिरहेको छ, व्यवसाय गरिरहेकाहरुका लागि पनि गर्ने योजना छ’, केसीले भने, ‘पालिकाले महिलालाई आयआर्जनका कार्यमा लगाउन विभिन्न सीपमूलक तालिम दिने, व्यवसाय गरेकालाई थप विस्तारका लागि सघाउने गरेका छ ।’

  • २६ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !