काठमाडौँ । प्रतिनिधिसभा बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको सम्बोधनका लागि धन्यवादको प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिद्वारा सङ्घीय संसद्को पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबल गरेका थिए ।
बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सात दिन समयावधि थप गरेको छ । समितिका जेष्ठ सदस्य चित्रबहादुर केसीले समितिको समयको थप माग गरेका थिए ।
सो अवसरमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले विभिन्न तीन विधेयक टेबुल गरे। “अनुगमन तथा मुल्याङ्कन विधेयक, २०७६”, “अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७” र “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७”का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २९ गते आइतबार दिनको ३ बजे बस्नेछ ।