चर्को ब्याजको समस्या हल गर्न सांसदको माग

आजभोलि

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजका कारण जनता आर्थिक र मानसिक समस्यामा परेका बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले बैंकले चर्को ब्याज लिएर स्थानीयलाई गाउँ नै छोड्नुपर्ने अवस्था आएको बताए । उनले यसको समाधानका लागि सरकारले तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने माग गरे । उनले सुकुम्वासीलाई जग्गा उपलब्ध गराएर जग्गाको मालिक बनाउने काम गर्न, मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न र स्वास्थ बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न माग गरे ।

नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेलले सबैतिरका व्यापार व्यवसाय घाटामा रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याज लिएर नाफा कमाएको टिप्पणी गरे ।

यस्तो अवस्थामा ती बैंक तथा वित्तीय संस्थाहरुलाई अध्ययन गर्ने तथा नियमन गर्ने निकायले प्रभावकारी रुपमा काम गर्नुपर्ने उनको भनाइ थियो । कुनै वित्तीय संस्थामा सुरुमा नौ प्रतिशत ब्याजमा ऋण पाइने भए पनि तिर्ने बेलामा १३/१४ प्रतिशत पुग्ने गरेकाले साना र मझौला ऋणीहरु गम्भीर समस्यामा परेको उनले बताए ।

नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्राथमिक स्वास्थ्य केन्द्रमा तत्काल विषय विज्ञ चिकित्सकसहितको उचित स्वास्थ्य सेवाको व्यवस्था गर्न माग गरे । उनले बाँदर र अन्य वन्यजन्तुले पाकेको बाली मासेर किसानलाई दुःख दिएको सम्बन्धमा तत्काल सरकारले उचित पहल गर्नुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले जनताले मतदानका समयमा राखेका आशा र भरोसाअनुसार नै जनप्रतिधिले काम गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका रामनाथ अधिकारीले गोँगबुमा भएको चोरी र लुटपाटको घटनाका सम्बन्धमा यथार्थ जानकारीका लागि सभामुखमार्फत रुलिङ गर्न आग्रह गरे । साथै उनले घटनाका दोषीलाई कारबाही गर्न माग गरे । बूढीगण्डकी जलाशययुक्त आयोजनामा मुआब्जामा देखिएका समस्या हल गर्न र आयोजनाका कारण विस्थापित हुने स्थानीयको उचित पुनःस्थापनाको माग गरे ।

नेकपा (एमाले) का हेमराज राईले शून्य समय र विशेष समयमा उठेका विषयमा अविलम्ब सरकारले जवाफ दिएर जनतालाई राहत दिनुपर्ने बताए । नेपाली कांग्रेसका कान्तिका सेजुवालले सबै हवाई इन्धनको मूल्य बढ्दै जाँदा दुर्गमका नागरिकले सास्ती भोग्नुपरेको बताउँदै हवाई इन्धनको मूल्य घटाउन माग गरे ।

नेकपा (एमाले) का दामोदर पौडेल बैरागीले कास्कीमा रहेका पर्यटकीय क्षेत्रहरुको उचित प्रचारप्रसारमा ध्यान नदिएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पोखरामा नयाँ विमानस्थल सञ्चालनपछि स्थगित भएको प्याराग्लाडिङ सञ्चालनको व्यवस्था गर्न माग गरे । नेपाली कांग्रेसका शान्ति विकले राज्यले हुनेखाने वर्गका लागि मात्र नभई हुँदा खाने वर्गका लागि पनि अनुभूत हुने गरी काम गर्नुपर्ने बताए ।

  • ३ फाल्गुन २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !