बेनी–जोमसोम सडकमा पहिराको अध्ययन

आजभोलि

काठमाडौं । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको प्रमुख चुनौतीका रुपमा रहेका पहिराको दिगो रोकथामका लागि अध्ययन थालिएको छ ।

कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको १० ठाउँमा पहिराको भौगर्भिक अध्ययन थालेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा पहिरो र नदी कटानका कारण स्तरोन्नतिको काम प्रभावित बनेको छ ।

रघुगङ्गा गाउँपालिकाको गलेश्वर, बैसरी, बेगखोला, अन्नपूर्ण गाउँपालिकाको नौलीबगर, जलथले, खामभित्ता, रुप्से, काभ्रेलगायत ठाउँका पहिरो नियन्त्रणका लागि भूगर्वविद् र प्राविधिकहरुको टोली स्थलगत अध्ययन गरिरहेको आयोजनाले जनाएको छ ।

कालीगण्डकी नदीको कटान र पहिराको जोखिम समस्या रहेको ठाउँमा सडकको दीर्घकालीन सुरक्षाका लागि संरक्षणको काम गर्न अध्ययन गरिएको आयोजना प्रमुख जगत प्रजापतिले बताए । “पहिरो रोकथाम र कटान सडकको प्रमुख चुनौती बनेको छ,” उनले भने “सडकको दिगोपना र सुरक्षाका लागि पहिरो र कटान नियन्त्रणको थप काम गर्नुपर्ने भएको हो ।”

गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको कालीगण्डकी कोरिडोरअन्तर्गत एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिमा हालसम्म रु ६ अर्ब बजेट सकिएको छ । ७२ प्रतिशत भौतिक प्रगति भएको सडकको थप काम गर्न, सडक कालोपत्र, सुरुङ मार्ग र पहिरो नियन्त्रणका लाग थप रु सात अर्ब बजेट आवश्यक पर्न आयोजनाले जनाएको छ ।

विसं २०७३ मा सुरु भएको आयोजनाको ११ प्याकेजमा सडक स्तरोन्नति गर्न रु सात अर्ब ३५ करोडमा ठेक्का सम्झौता भएकामा छवटा प्याकेजले मात्र पूर्णता पाएको छ । १८ वटा पुल निर्माणाधीन छन् । प्रतिकूल भूगोल, मौसम, कोरोना महामारी र निर्माण व्यवसायीको असक्षमताका कारण विसं २०७६ मा सकिनुपर्ने सडक निर्माण अधुरो रहेको हो ।

बेनी–जोमसोम खण्डको २९ किलोमिटर कालोपत्र भएको छ । जोमसोम–कोरला खण्डको ७५ किलोमिटर ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्ने काम सकिएको छ । विसं २०६४ मा नेपाली सेनाले रु ९० करोड ५६ लाख १० हजारको लागतमा मार्ग खोलेको बेनी–जोमसोम सडक विसं २०७० मा सडक विभागलाई हस्तान्तरण भएको थियो ।

  • ५ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !