सुदूरपश्चिम । कैलाली गेटा गाउँका किसान रामदिन रानाथारु चार दशकअघि स्वठ्यारी, राइमुनुवालगायतका रैथाने जातका धान खेती गरेको अहिले सम्झिरहन्छन् ।
चार दशक अघिसम्म उहाँको खेतमा गरिने खाद्यान्न र तरकारी बाली रैथाने थिए । अहिले हाइब्रिड जातको बाली लगाउँदा कृषि उपजको कमाइ केही बढ्ने गरेको देखिए पनि खानमा स्वास्थ्यकर र पोषिलो हुने रैथाने खाद्यान्नको बीउ हराउँदा चिन्ता भने उनलाई चिन्ता लागेको छ । उमेरले ६५ वर्ष पुगेका रानाले भने, ‘अहिले आधुनिक खेती प्रणालीको नाममा माटो र वातावरण बिगार्ने काम मात्र भइरहेको छ ।’
कञ्चनपुरका निरुप्रसाद चौधरी त्योबेला विषादी र रासायनिक मलको प्रयोग बिना खेती हुने रैथानेबाली अहिले हराइसकेको बताउँछन् । ‘रैथाने जातका धान गहुँलगायतका बालीको बीउ पाउनै मुस्किल भइसकेको छ’, उनले भने, ‘पहिलेको तुलनामा कृषियन्त्रको प्रयोगले भने काम गर्न सहज भएको छ ।’
एक तथ्याङ्कका अनुसार मानिसले उपभोग गर्ने तरकारी र खाद्यान्नमध्ये हाइब्रिड जातको खाद्यान्नको उपभोग झण्डै ९० प्रतिशत छ । केवल दश प्रतिशतले मात्रै रैथाने साग तरकारी र अन्य खाद्यान्न उपभोग गरिरहेका छन् ।
जैविक स्रोतको संरक्षणका लागि कृषि वृक्षरोपण, महत्वपूर्ण रैथाने जातलाई सूचीकृत गर्ने, रैथाने बाली, जातका बीउ तथा रैथाने एवं परम्परागत प्रविधि-सामग्रीको सङ्कलन र प्रदर्शन, रैथाने पशुपक्षीका रुपमा रहेका अछामी नौमुठे गाई, खैला तथा लुलुगाई, लिमे तथा पारकोटे भैँसी, खरी तथा सिन्हाल बाख्राहरु, लामपुच्छ्रे, कागे, बारुवल तथा भ्याङ्लुङ भेडाहरु, प्वाँख उल्टे, घाँटी खुइले र साकिनी कुखुरा, जुम्ली घोडा, हुर्रा सुङ्गुर लगायतको संरक्षण र प्रवद्र्धनसम्बन्धी गतिविधि गरिने जनाइएको छ ।
लोपोन्मुख घाँसे बाली, मत्स्य प्रजातीको संरक्षका साथै प्राकृतिक जलायसयमा स्थानीय जातका माछाको उपलब्धता र पहिचानका लागि मत्स्य जैविक विविधताको अध्ययन, खाद्य मेला एवं रैथाने खानाको प्रचारप्रसार, विविधिकरण र बजारीकरणका साथै प्रोत्साहनमूलक कार्य पनि गर्न लागिएको छ ।