काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदरूले वित्तीय पहुँचमा सहजा बढाउँदै मिटरब्याज पीडकलाई कारबाहीको दायरामा ल्याउने गरी कानून बनाउन माग गरेका छन् ।
राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले सामान्य किसान र जनतालाई वित्तीय संस्थाबाट बिनाधितो ऋण दिएर मिटरब्याजपीडित हुने अवस्था अन्त्य गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका प्रदीप पौडेलले वित्तीय अनुशासन पालना हुन नसक्ने मुलुक अघि बढ्न नसक्ने उल्लेख गर्दै मिटरब्याजपीडित लामो समयदेखि पीडित हुँदा पनि संसद र राज्यले ध्यान दिन नसकेको बताए ।
नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले ताजा जनादेश प्राप्त भएको सात महिना बित्दासम्म कुनै पनि विधेयक पारित हुन नसकेको र आज प्रस्तुत विधेयकमा पनि पर्याप्त अध्ययन गर्ने समय उपलब्ध नभएकामा आपत्ति जनाए । उनले संसदकाे पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेश हालसम्म नआई अन्तिम समयमा पेस हुनुले सरकारको हतारोपन देखिएको र मिटरब्याजपीडितलाई न्याय दिनेभन्दा पनि भुलाउने काम भएको टिप्पणी गरे ।
एमालेका सचेतक महेश बर्ताैलाले कतिपय उचित लेनदेनलाई पनि गलत सावित हुनेतर्फ सचेत रहन आग्रह गरे ।सांसद सूर्य थापाले गत वैशाख २० गते ल्याएको विधेयकलाई बल्ल छलफलमा ल्याएकामा चिन्ता व्यक्त गरे ।
एमालेकै भगवती चौधरीले बैंकहरूले समयमा ब्याज नतिर्दा ब्याजलाई सावाँमा जोड्ने कार्य पनि गैरकानूनी हुनुपर्ने सुझाव दिइन् ।
नेकपा (माओवादी केन्द्र) का सांसद् माधव सापकोटाले जाली तमसुक र झुटो कागज गरेर गरिने लेनदेनलाई रोक्न प्रविधि सुहाउँदो परिस्कृत कानून ल्याउन आग्रह गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले मुलुकमा सामन्तवादको अवशेष बाँकी रहेकाले मिटरब्याजी पीडित सिर्जना भएको उल्लेख गर्दै यस्ता प्रकरणमा राजनीति र प्रहरीका उच्च तहका व्यक्ति पनि सहभागी भएको हुन सक्न्ने भएकाले वित्तीय साक्षरता अभियान चलाउन सुझाव दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकै सुमना श्रेष्ठले समाजको असल चरित्र निर्माणका लागि सामाजिकस्थलमै गलत मनोवृत्तिलाई निरूत्साहन गर्नुपर्नेमा जोड दिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले नेपालका बैंकहरूमा प्रक्रियागत जटिलता धेरै भएकाले आम मानिसको पहुँच कमजोर भएको बताए ।
सोही पार्टीका गणेश पराजुलीले मौजुदा कानुन प्रभावकारी कार्यान्वयन भएको भए मिटरब्याजी समस्या उत्पन्न नहुने बताए। सांसद सोविता गौतमले प्रतिनिधिसभालाई छायामा नपार्न आग्रह गर्दै सदनको अधिवेशन सुरू हुनुअगाडि नै कुन-कुन विधेयक ल्याउने भन्ने सूची उपलब्ध गराउन माग गरिन् । जनता समाजवादी पार्टीका प्रदीप यादवले हातमा नभई विधेयक ल्याएकाले यसमा व्यापक छलफलको आवश्यकता भएको बताए। सोही पार्टीका राजकिशोर यादवले हतारहतारमा अध्यादेश ल्याएर अन्तिम समयमा विधेयक ल्याएको उल्लेख गर्दै वित्तीय शिक्षा र पहुँच विस्तार गरेमा मिटरब्याज पीडितका समस्या नहुने बताए ।
जनता समाजवादी पार्टीकै रेखा यादवले सस्तो ब्याजदरमा ऋण वितरण गर्ने सरल प्रक्रिया कार्यान्वयनामा ल्याउन माग गरिन् ।
सांसद रञ्जुकुमारी झाले १० प्रतिशतभन्दा बढी ब्याज लिने कारोबारलाई फौजदारी मानिने व्याख्या बैंकहरूलाई लाग्ने कि नलाग्ने भन्ने स्पष्ट हुनुपर्ने प्रश्न गर्दै अत्यावश्यक काममा ऋण लिनै नपाउने अवस्था सिर्जना नहोस् भनिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकै रोशन कार्कीले मिटरब्याजीका समस्यालाई समाधान गर्ने हो भने बैंकका प्रक्रियालाई सरल गर्नुपर्ने बताए।
नेकपा (एकीकृत समाजवादी) का अम्बरबहादुर थापाले वित्तीय संस्थाले चर्काे ब्याज लिन नपाउने अवस्था सिर्जना गर्न माग गरे । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले बैंक तथा वित्तीय संस्थाले ठूला व्यापारिक संस्थालाई विनाधितो करोडौँ ऋण दिने र कुनै किसानले एक लाख रूपैयाँ पाउन पनि जायजेथा राख्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने माग गरे ।
लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरीले मिटरब्याज मधेस प्रदेशको ठुलो समस्या भएको र नक्कली मिटरब्याजी पनि सिर्जना भएका बताए ।
जनमत पार्टीका अब्दुल खानले व्यक्ति घाइते भएर सडकमा लड्दा पनि उपचारका लागि गरिब जनताले ऋण नपाउने अवस्थामा सरकारले नहेरेको बताए । सांसद प्रभु साहले राष्ट्र बैंकका पुँजी काठमाडौँ केन्द्रित भएका कारणले पनि मिटर ब्याजमा सहभागी भई जानीजानी ठगिन जनता विवश भएको बताए ।
नेपाल मजदुुर किसान पार्टीका प्रेम सुवालले सीमित र धनी व्यक्तिलाई बैंकहरूले मागे जति ऋण दिने कार्य बन्द गरेर समानता कायम गर्न गर्भदेखि चिहानसम्मको राज्यले जिम्मा लिनुपर्ने बताए । उक्त विधेयकमाथि सामान्य छलफल गरियोस् भनी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले विधेयक प्रस्तुत गरेका थिए ।