नापतौलमा ठगी गर्ने ११ हजार व्यापारीलाई कारबाही

आजभोलि

काठमाडौँ । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार चार सय ९१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा अनियमित रूपमा नाप्ने÷तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो ।

कार्यालयले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो । पछिल्लो समय नापतौल यन्त्रमार्फत् उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको कार्यालय प्रमुख राकेशकुमार झाले जानकारी दिए ।

“अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ,” उनले भने । कार्यालयले आव २०७९/८० मा तीन हजार चार सय ४० व्यापारीलाई नापतौल तथा नाप्ने÷तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ ।

प्रमुख झाका अनुसार सीमित स्रोतसाधनका बीच पनि कार्यालयले नापतौलसम्बन्धी ७७ पटक एकल र ६३ पटक संयुक्त रुपमा बजार अनुगमन गरेको थियो । आव २०७९/८० मा आठ हजार आठ सय ५८ व्यापारीले नापतौल तथा नाप्ने÷तौलने यन्त्र जाँच तथा नवीकरण गरेका छन् । सोही अवधिमा ६ हजार आठ सय ३७ ट्याक्सीको मिटर जाँच गरेको छ ।

कार्यालयले आव २०७८/७९ मा अनियमित नापतौल तथा नाप्नेतौलने यन्त्र प्रयोग गरी ठगी गर्ने आठ हजार आठ सय ५१ व्यापारीलाई कारबाही गरेको थियो भने एक हजार पाँच सय नौ व्यापारीलाई नापतौल तथा नाप्ने/तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरण गरेको थियो ।

आव २०७८/७९ मा ६ हजार छ सय २६ ट्यक्सीको मिटर जाँच गरेको कार्यालयका सूचना अधिकारी नीराजन पुडासैनीले जानकारी दिए । कार्यालयले रु एक करोड ८५ लाख ५४ हजार राजस्व सङ्कलन गरेको थियो । जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाहीलाई प्राथमिकता दिएका छौँ, उनले भने– “नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउँछौँ ।”

कार्यालयले आव २०७९/८० मा रु दुई करोड नौ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ ।

  • ७ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !