अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर बिदा गरियो यस वर्षकाे तीज

आजभोलि

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजाआराधना गरी मनाएका छन् ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।  वाग्मती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् । आज पनि राजधानीका नदीका मुहानस्थलमा स्नान गर्न महिलाको भीड लागेको थियो ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन्, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो । आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बाताउन्छ ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल  र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । ऋषिपञ्चमीसँगै चार दिन लामो तीज पर्व पनि आजैदेखि समापन भएको छ ।

यस वर्ष गत बिहीबार दर खाएर सुरु भएको तीज पर्व आज सकिएको हो । पहिलो दिन भाद्र शुक्ल द्वितीयामा छोरी, चेलीलाई घरमा बोलाएर दर खुवाइएको थियो । दोस्रो दिन भदौ २१ गते भाद्र शुक्ल तृतीयामा नीराहार व्रत बसी उमामहेश्वर पूजाआराधनासहित पारिवारिक कल्याणको कामना गरिएको थियो । तेस्रो दिन भदौ २२ गते अर्थात् भाद्र शुक्ल चतुर्थीका दिन हरितालिका व्रत समापन गरी भगवान् गणेशको पूजाआराधना गरिएको थियो । आज खोला, नदी, ताल, तलाउ, पोखरीमा गई अपामार्गले स्नान गरेर अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरेपछि तीज समापन भएको हो ।

  • २३ भाद्र २०८१, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !