पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजबाट सुरु भएको छ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।
बिहान माघ स्नान गरी मध्याह्न कालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रतकथा सुन्ने सुनाउने परम्परा छ ।
यस अवसरमा आजैदेखि एक महिनासम्म काठमान्डौंको साँखुस्थित शालीनदीमा माघ स्नानसहित माधवनारायणको मेला लाग्दछ । माघ महिनामा त्यर्हाँ स्नान गरेर माधव नारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास रहेको पाइन्छ । यो विश्वासमा प्रत्येक वर्ष लाखौँ भक्तजनहरुको घुइँचो लाग्ने गदर्छ ।