काठमाडौं । रिक्त रहेको संसदको सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । बलात्कार अभियोग लागेका कृष्णबहादुर महराको बहिर्गमन पछि सभामुख पद रिक्त रहेको थियो ।
सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैंठक सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षता बसेको थियो । बैंठकमा उपसभामुख डा. शिवमाय तुम्वाहाङ्फेले दिएको राजीनामा पढेर सुनाइएको थियो।
बैंठकको अध्यक्षता गरेका ठाकुरले सभामुख पदको निर्वाचनको कार्यक्रम सोमबार नै प्रकाशित गर्न संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई निर्देशन दिएका छन्।
सत्तारुढ नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अग्नी सापकोटालाई सभामुख बनाउने सहमतिपछि संसदको बैंठक अघि नै राजीनामा दिनका लाागि उपसभामुख शिवमायालाई निर्देशन दिइएको थियो।
नेकपाभित्र लामो विवाद र खिचतानीपछि आइतबार मात्र सभामुखका लागि अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन सभामुख चयन हुन नसक्दा ‘बिजनेस’मा प्रवेश गर्न पाएको छैन। सभामुख चयनमा सहमति जुटाउन पटकपटक भएका प्रयास असफल भएपछि संसद्को बैठक सूचना टाँगेर स्थगित हुँदै आएको थियो।