काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियारले बुधबार दायर गरेको भ्रष्टाचार मुद्दामा कांग्रेसले आफ्ना उपसभापति विजय गच्छदारलाई मुद्दा दायर गरिएको आश्चर्य प्रकट गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै भनेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय। एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा। मुद्दा कसलाई विजय गच्छदारलाई?’
उनले ट्विट संकेत गरेका पूर्वमन्त्री विष्णु पौडेल नेकपाका महासचिव हुन्। ललिता निवासको दुई कित्ता ८ आना जग्गा उनले छोरा नवीन पौडेलको नाममा किनेका थिए। तर, अख्तियारका अनुसन्धान अधिकृत समक्ष त्यो जग्गा सरकारको नाममा गर्न तयार रहेको बयान दिएपछि अख्तियारले उनलाई मुद्दा चलाउनु नपर्ने आरोप पत्रमा उल्लेख गरेको छ।
शर्माले ट्विटमा प्रसिद्ध लेखक जर्ज अरवेलको चर्चित पुस्तक ‘एनिमल फार्म’ को भनाई उद्धृत गर्दै लेखेका छन्- ‘अल एनिमल्स आर इक्वेल बट सम आर मोर इक्वेल देन अदर्स।’
उनले पार्टीको आधिकारिक धारणा बिहीबार औपचारिकरुपमा सार्वजनिक गर्ने बताएका छन्।