प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।
आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले सचिवालय बैठकले प्रधानमन्त्रीको सफल प्रत्यारोपण र स्वास्थ्य लाभको कामनासमेत गरेको बताए ।
नेकपा अध्यक्ष रहेका ओलीको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमामा मिर्गौला प्रत्यारोपण गरिने छ ।
ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार नै महाराजगंज स्थित त्रिभुवन शिक्षण अस्पतालमा भर्ना हुने प्रवक्ता श्रेष्ठले बताए । ओलीको १३ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उनले नियमित डायलासिस गराउँदै आएका थिए । प्रधानमन्त्री ओलीले दोश्रो पटकको मृगौला प्रत्यारोपणपछि पनि आफू अहिलेकै जस्तो सक्रिय रहने बताउँदै आएका छन् ।