काठमाडौं । नेकपाका नेता विष्ठु रिजालले सरकारमा बसेकालाई ओठे जवाफ नदिन भनेका छन् ।
नयाँ पत्रिका दैनिकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले चीनबाट खरिद गरिएको पिपिइको सम्बन्धमा गरेको अन्तर्वार्तामा आफूलाई केही थाहा नभएको भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए ।
सरकारको जिम्मेवार तहमा बसेर यस्तो अभिव्क्ति दिएको भन्दै नेता रिजालले घुमाउरो पारामा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ओठे जवाफ नदिन भनेका हुन् ।
कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अन्तर्वार्तामा भनेका छन् ‘स्वास्थ्य सेवा विभागका डाइरेक्टरले सम्झौता गरेको हो, स्वास्थ्य सेवा विभागका डाइरेक्टरले नै रद्द गरेको हो ।’
रिजालले आज एक ट्युट गर्दै भनेका छन् ‘जिम्मेवार ठाउँमा बसेकाहरूले मिडियासँग बोल्दा ओठे जबाफ होइन, तर्कसंगत कुरा गर्नुपर्छ । किनकि, यो नागरिकसँगको सम्वाद हो । सबै जिम्मा कर्मचारीले लिइदिने भए विभिन्न फूर्का जोडेका नेताहरु सरकारमा किन चाहिन्थे र ? निर्णय गरौं, त्यसको जिम्मा लिऔं, दोष पन्छाएर पानीमाथिको ओभानो नबनौं !’