लोकराज अवस्थी
सुदूरपश्चिमतिर एउटा प्रख्यात भनाइ छ, ‘पूर्वका नेता बलिया, हाम्रा देउता बलिया’ । यो भनाई सत्य हो की हैन् । प्रमाणित भएको छ की छैन ? कहिकतै तथ्य पनि छैन । खोजिएको पनि छ्रैन् । यसको आशय के हो भने हामीलाई नेता वा सरकारले हेरेको छैन् । हामी सधै देउताले जेगाएका मानिस हो भन्ने हो । जनु यसक्षेत्रमा बासिन्दामा विश्वास चाँही अहिले पनि रहेको पाइन्छ ।
चैत २४ गते बझाङक जिल्लाको छविसपाथीभारा गाउँपालिकामा सम्पन्न बान्नीकी चौतोली (बान्नी जात्रा) अहिले चर्चा रहेको छ । लगभग पाँच हजार स्थानीय बासिन्दाहरु बान्नी चैतोलीमा सहभागी भएको खबरसँगै फोटो तथा भिडियो सामाजिक संजालमा भाइरल भएको छ । देश लकडाउन भएको बेला यति ठूलो मात्रामा जम्मा भएको भीडले सबैलाई चिन्तित बनाएको छ । सयौं जना भारतबाट आएका र उक्त चैतोलीमा सहभागी रहेकाले सबै ध्यान तानिएको हो । र, चिन्ता जाहेर भएको छ । जुन स्वाभाविक पनि हो । यसलाई जायज कार्य भन्न सकिदैन् । धर्म वा आस्था जेको नाममा भए पनि कठिन अवस्थामा यो अस्वीकार्य कदम हो ।
बान्नीमा सहभागी भएको अधिकांशलाई कोरोनाको बारेमा थाहा थियो । मान्छेबाट मान्छेमा सर्छ भन्ने पनि जानकारी छ । तर पनि किन भीडजम्म भयो त ? सबैको उत्तर एउटै छ, हामीलाई मष्टोले बचाउँछ । जोगाउँछ । रक्षा गर्छ । मष्टो यसक्षेत्र तथा सुदूरपश्चिमा शक्तिशाली देउता मानिन्छ । र, पूजा गरिन्छ । सबै समस्या देउताले रोक्छ । त्यसका लागि देउता खुशी पार्नुपर्छ । खुशी पार्न माणौ (मन्दिर)मा पूजा गर्नुपर्छ भन्ने मान्यता र विश्वास सबैमा छ । त्यसकारण ढुक्कले हजारौ स्थानीय जात्रामा सहभागी भए । यो एउटा उदाहरण मात्र हो । चैत २५ गते वैतडीको खलंगामा पनि सयौ मानिसहरु उपस्थित भएर मन्दिरमा पूजा गरिएको छ ।
बझाङमा मात्र कोरानोको महामारी शुरु भएपछि कायौ देवी तथा शक्तिपीठहरुमा बोकाको बली दिने कार्य भइरहेको छ । बझाङको चीर, बुंगल, थानज्यापन, छान्ना, थलारा लगायतका ठाउँमा रहेका मन्दिरहरुमा बली चढाइएको छ । मन्दिर तथा थानहरुमा होम गरिएको छ । सामुहिक पूजा अर्चना भएका छन् । ध्वजापताका चढाइएको छ । कोरोना रोकिएपछिको लागि भाकल समेत गरिएको छ । अर्थात् सबै बस्ती देउताको स्तुति तथा पूजामा तल्लिन छ । कोरानाबाट बच्न सुदूरपश्चिमका सबै ठाउँमा मन्दिरमा पूजाआजा गरेको देखिन्छ । सबैले देउताको आराधना गरिहेका छन् । पूजा गर्नु, भाकल गर्नु असल होला तर यस्तो कठिन अवस्थामा सामुहिक रुपमा भोल भएर गरिने पूजालाई ठीक भन्न सकिदैन । ठीक पनि हैन । यस्ता कार्य रोक्नुको कुनै विकल्प छैन् ।
हरेक समाजका आफ्नै मूल्यमान्यता हुन्छन् । फरक संस्कृति हुन्छ । आस्था हुन्छ । र, सामाजिक वनाओट पनि हुन्छ । जसले समाजलाई जीवित र क्रियाशिल बनाइराखेको हुन्छ । अर्थात् आफ्नै विश्वासमा अडिग हुन्छ । र आफूलाई निरन्तर अगाडि बढाइरहेको हुन्छ । जुन आममानिसको दैनिकी बनेको हुन्छ । सामाजिक संरचनाले समाजमा के असर पारेको छ । त्यो फरक कुरा हो । सकारात्मक तथा नकारात्मक जे नी हुन सक्छ । तर यहाँ भन्न खोजिएको कुरा समाज कुनै न कुनै अस्था, विश्वास तथा बनाओटको आधारमा चलिरहेको हुन्छ भन्ने हो ।
यहाँ उठान गर्न खोजेको विषय सुदूरपश्चिमका आममानिसहरु जबजब कठिन समस्या आउँछ । महामारी तथा प्राकृतिक प्रकोप आउँछ, त्यतिबेला किन धेरै देउता (भगवान) मा विश्वास गर्छन् । किन देउतालाई यतिधेर पूजा गर्छन भन्ने विषय हो । र किन भाकल गर्छन भन्ने कुरा खोजीको विषय बनेको छ । के कारणले पूजा भन्दा भाकल गरिन्छ त ? अब कुरा गरौ भाकालको । भाकल एकप्रकारको देउतासँग गरेको बाँचा हो । कसम हो । सम्झौता हो । प्रतिबद्धता हो । जुन बाध्यकारी हुन्छ । यदी भाकल पूरा नगरेमा देउता रिसाउँछन भन्ने मान्यता रहेको पाइन्छ । भाकलको समयसिमा पनि हुन्छ । जुन कामको लागि गरिएको हो । त्यो काम पूरा भएपछि भाकल फुकाउँछन् । तोकिएको समयमा भाकल पूरा नभए भने फेरी देउतासँग माफी मागेर समयसिमा थप्ने चलन रहेको छ । भाकल के राख्ने भन्ने देउता र कामसँग जोडएको हुन्छ । बली चढ्ने मन्दिरमा बोका लगायतको बलीको भाकल हुन्छ । बली नचढ्ने मन्दिरमा घण्ट, देउताको मूर्ति, सुनजनै (सुनको जनै) लगायतका बस्ुत भाकल गरिन्छ ।
उदाहरणका लागि कसैको विवाहभएको लामो समयसम्म पनि सन्तान भएन भने पनि भाकल गर्ने चल्न छ । भाकल गरेपछि यदि सन्तान भयो भने सुनको जैन चढाउने वा सत्यनारायणको पूजा लगाउने लगायतका कार्य गरिन्छ । हुनेखानेले त सप्ताह नवाह समेत लगाउँछन् । अर्कोकुरा अधिकांश मन्दिरहरुमा वार्षिक रुपमा प्रत्येक मन्दिरमा हरेक परिवारले पूजा गर्ने वा बली चढाउने चलन पनि छ । यो आफ्नो हैसियत अनुसार गरिन्छ । वार्षिक पूजा बाध्यकारी भने हुँदैन् ।
सुदूरपश्चिमा गजब के छ । डल्ली (क्षेत्र) अनुसारका फरक फरक देउता हुन्छन् । गाउँ गाउँका फरक फरक हुन्छन् । जात अनुसारका पनि फरक हुन्छन् । जसको देउता वा मन्दिर हो, उसैले मात्र पूजा गर्दछन् । अरुलाई मन्दिर भित्र प्रवेश गर्न पाइदैन । पूजामा पनि उनीहरुको सहभागिता हुँदैन । यो फलानाको देउता भनेर छुट्याइएको हुन्छ । तर जुन मन्दिरमा ठूलो मेला लाग्छ । त्यसमा भने सबैका लागि खुला हुन्छ । तर पूजा गर्न भने पाइदैन । यसरी एउटाको मन्दिरमा अरुले जान पाइदैन । जस्तो थानज्यापन क्षेत्रमा ठकुरीहरुलाई पूर्णरुपमा निषेध गरिएको छ । यसरी देउता नी आफ्ना आफ्ना हुन्छ् । र, पूज्ने तरिका पनि आ आफ्नै हुन्छ ।
अहिलेको आधुनिक समाजमा पनि किन सुदूरपश्चिममा यति देउतामाथि विश्वास किन भन्ने प्रश्न अहिलेको अहम् हो । सहज उत्तर के हो भने,यस क्षेत्रमा सरकारको उपस्थिति एकमदै कमजोर छ । जनतासँग सरकारको पहुँच छैन् । र, जनतामा सरकारप्रति विश्वास पनि छैन् । अहिले पनि विरामी भएमा सिटोमोलको लागि स्वास्थ्य चौकीसम्म पुग्न सात आठ घण्टा हिड्नु पर्ने बाध्यता भएको बस्तीहरु पनि छन् । बझाङ बाजुराका मान्छले सुस्तकेरी गराउन डडेल्धुरा वा धनगढी आउनु पर्ने बाध्यता छ नै । स्थानीय तहमा भएका स्वास्थ्य संस्थामा तीन चार महिना बाहेक अरु बेला सामान्य औषधि समेत पाइदैन । स्वास्थ्यकर्मी पनि बस्दैनन् । अरु बिरामी त सधै भारतका विभिन्न शहरमा गएर उपचार गरिरहेका छन् । यो एउटा उदाहरण मात्र हो । यस्ता कयौ समस्या छन, जहाँ सरकारको उपस्थिति धेरै कमजोर रहेको छ ।
जब कठिन अवस्था आउछ, त्यतिबेला उनीहरु सबैको सहारा नजिकमा रहेको मन्दिर हुन्छ । सरकार र पहँचवालाले वेवास्ता गरेपछि देउतालाई पुर्काछन् । गरीब तथा पीडितका लागि अरुका ढोका बन्द भएपछि मन्दिरको ढोकामात्र खुला हुन्छ । अरुले हेला गरपछि मन्दिरमा गएर आँशु झार्नुको कुनै विकल्प नै रहन्न । देउता एक मात्र निर्विकल्प दुखेसो पोख्ने र समस्या राख्ने अन्तिम बिन्दु हुन उनीहरुका लागि । यसकारण अन्धविश्वास भन्नुहोस वा विश्वास भन्नुहोस । जे भने पनि परिस्थिति यही हो ।
अन्तमा, विश्वाससँगै कहिलेकाही यर्थातता फरक हुन्छ । अहिले कोरोनाको महामारीमा देउता मान्नु हुन्न भन्ने कुरा हैन् । देउताले सबै रोक्छ भन्ने पनि छैन् । यर्थातता के हो भने कोरानाबाट बच्न आफू र परिवारलाई सुरक्षित राख्ने हो । आफ्नै घरभित्र वा आफ्नै खेतबारीमा मात्र सिमित रहने हो । सरकारले लगाएको लकडाउनको पूर्ण पालना गर्ने हो । क्वोरन्टिनमा बसेर आफूसँगै आफ्ना सन्तानलाई जोगाउने हो ।
तपाईका देउता आफ्नै हुन । जहिले पूजे पनि हुन्छ । अर्को वर्ष पनि यहीँ समय आउँछ । बरु अर्को वर्ष अझ धुमधामसँग पूजे हुन्छ । यो वर्ष देउता पनि क्वारेन्टिनमा बसी सके । तपाइ पनि बस्नुस । देउताले तपाईको भलो चाहान्छन् । दुख देख्न सक्दैनन् । यसकारण पनि तपाइले देउताको आदेश मानेर आफूलाई र आफ्ना समुदायलाई क्वारेन्टिनमा राखेर जोगाउन पहल गर्नुहोस । सुरक्षित राख्नुहोस । र, कोरोनाबाट बच्नुहोस । बचाउनु होस ।