अन्तर्राष्ट्रिय मुद्राकोषले विश्वका अति निर्धन एवं जोखिममा रहेका नेपाल सहित विश्वका २५ वटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको समयावधि छ महिना बढाएको छ ।
विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक व्यवस्थापनका लागि संघर्षरत मुलुकहरुका लागि उक्त कदम चाल्नु परेको कोषले जनाएको छ ।
कोषकी कार्यकारी निर्देशक क्रिस्टिलिना जर्जिभाले जारी गर्नु भएको विज्ञप्तिमा यस्तो सुविधा प्राप्त गर्ने मुलुकहरुमा नेपाल सहित अफगानिस्तान, हैटी, सोलोमन आइल्यान्ड, ताजिकिस्तान र यमन तथा अफ्रिकाका १९ वटा मुलुक रहेको उल्लेख छ ।
मुद्राकोषको ऋण सहायता प्राप्त गर्ने १९ वटा अफ्रिकी मुलुकहरुमा बेनिन, बुर्किना फासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरोस, कंगो, म्याडागास्कार लगाएत रहेका छन् ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस समेतका १ सय ६५ जना अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरुको समूहले अत्यन्त जोखिममा रहेका राष्ट्रहरुले भुक्तानी गर्नुपर्ने ऋणको म्याद थप गर्न हालैमात्र आग्रह गरेका थिए ।