अर्जुन बुढाथोकी
हिजो ओलीजीको कविता पढियो । हिजोआज यस्तै कविता पढ्ने भाषण सुन्नमै दिनहरु वितिरहेका छ्न । अचेल डबल नेकपामा पनि छु, भन्न पनि लाज भैसक्यो ।
म आफै पनि पार्टीको जिम्मेवार व्यक्ति हुँ । नेकपाको खेलकुद विभागमा छु ।अखिल नेपाल खेलकुद महासंघ नेपालको केन्द्रीय सचिव पनि हुँ। निरन्तर रूपमा खेलकुदसँग जोडिएर काम गर्दै छु ।
पूर्वजनमुक्ति सेना नेपालको जिम्मेवारी पनि छ । साथीहरूले अध्यक्ष पद नै सुम्पनु भएको छ । तर सरकारको पछिल्लो गतिविधि देख्दा मनमा खिन्नता छाउछ ।
दुःख लाग्छ । पुराना दिनको याद आउँछ । हिजोका दिनमा हामी पार्टीको लागि मर्न र बाच्नसँगै भनेर लड्यौ । जनतालाई आशा देखायौं । तर अहिले त्यो भएन । सहिदका सपना पूरा नभएको देख्दा मन भक्कानो छुट्छ । रुन मन लाग्छ । पीडाबोध हुन्छ । म जस्तै सयौं साथीहरुको संघर्ष तथा त्यागको के मुल्यांकन हुन्थ्यो र खै ?
एक त म जनयुद्धको घाइते हुँ । बेलाबेलामा बिरामी भइरहन्छु । उपचार गर्ने पैसा पनि छैैन् । आफ्नै उपचार गर्न नसक्दा आत्मग्लानी हुन्छ । खिन्न मन हुन्छ । मजस्ता कयौं साथीहरुले पनि यस्तै पीडा भोगीरहेका छन् ।
आफूसँग भएको पैसा पनि आन्दोलनमै खर्च गरियो । आफू भन्दा जनमुक्ति ठूलो भन्ने सोचियो । तर त्यो होइन रहेछ ।
अहिले देश लकडाउन छ । मेरो घाटीमा समस्या देखिएको छ । उपचारका लागि आवश्यक पैशा पनि छैन् । सहयोग गर्ने पनि कोही छैनन् । जेनतेन खर्च जुटाएर उपचारको लागि अस्पताल पुगे पनि अस्पतालहरु मान्दैनन् । हिडेर अस्पताल पुगेर निराश भएर फर्किनु परेकोछ । यो भन्दा ठूलो पीडा र दुःख एक विरामीका लागि के नै हुन्छ र ?
यस्तो लाग्छ, यो देशमा गरीब तथा पीडितहरुका लागि सरकार छैन। सरकार सबैप्रति उदासिन छ । यस्तो अवस्थामा पनि थाकेको छैन । अझै पनि राजनीतिक आन्दोलन अगाडि बढाउँछु भनेर लागिरहेको छु । सास रहुञ्जेलसम्म देश र जनताको पक्षमा रहने कसम खान चाहन्छु ।
(बुढाथोकी पूर्व लडाकू हुन । )