लोकराज अवस्थी
“समाउ भन्या हाङो नाइछि बथ्थाकी धर्तीनाई
बाचु भन्या खानाकी नाई मर्नाका मर्जीनाई”
आजको आलेख सुदूरपश्चिमको डेउडा गीतबाट शुरु गर्न मन लाग्यो । सुदूरपश्चिमका बासिन्दाको समग्र पीडा एउटै गीतले समेटेको छ । अर्थात् दर्शाएको छ । गीतले भन्छ, जिन्दगी यति कठीन छ की, जहाँ रुखको हाँगा समाएर बस्नको लागि हाँगा छैन । अडेस लगाएर बसौ भने धर्ती पनि छैन । वा टेक्ने ठाउँ नै छैन । अब बाँचेर जिन्दगी जिउनको लागि खानेकुरा केही पनि छैन् । अनि मर्न मनले मानि राखेको छैन् । यो अधिकांश सुदूरपश्चिमका मध्य तथा निम्न वर्गीय परिवारको अवस्था हो । जीन्दगी कसरी जिउने र परिवारलाई कसरी पाल्ने भन्ने मूल समस्या हो ।
सम्पन्न जीवन भन्दा पनि सास (शरीर जोगाउन) धान्न नै मुस्किल देखिन्छ । कहिले पनि सम्मानित जीवन, सुखी जीवन र हसिलो मुहार त देखेका छैनन् । सुखी जीवन कस्तो हुन्छ भन्ने सुनेको पनि छैन । पहाडी तथा हिमाली जिल्लाका अधिकांश भागमा सबैको उस्तै हालत छ । अरु जीवनशैली हेर्ने बुझ्ने भन्दा आफ्नै ज्यान भारी भइरहेको हुन्छ । गुहार्ने कसलाई ? सुनि दिने को ? सुदूरपश्चिमको भाषा नैपालले बुझ्दैन, पूर्वीया नेपाली यिनले बुझदैनन् । त्यो भन्दा पनि सरकार कहाँ छ ? कता भेटिन्छ, बर्षौदेखि अनभिज्ञ छन्, सुदूरपश्चिमेलीहरु ।
पहिलो कुरा गरौं, सिंहदरबारले कसरी सुदूरपश्चिमलाई हेरिरहेको छ त । राजा महेन्द्रले कान्छो विकास क्षेत्रको रुपमा पाँचौं विकास क्षेत्रको निर्माण गरेपछि आधुनिक नेपालमा सुदूरपश्चिम नक्सांकन भएको हो । त्यो भन्दा अघिसम्म पनि सुदूरपश्चिमलाई हेर्ने दृष्टि दोष नै थियो । सुदूरको माटो र त्यहाँका बासिन्दाप्रति सम्मानपूर्ण हेराई थिएन् । कहिले पनि पहिलो दर्जाको नागरिकको रुपमा हेरिएन । जहिले पनि भूगोल बिद्रोही नागरिक रैती नै रहे । जसको परिणाम त्यहाँका बासिन्दामा पनि हिनता देखियो । आफूलाई सिंहदबारसँग जोडेर भन्दा पनि फरक ढंगले देखाउन थाले । यसका पछिका विविध कारण छन् होला, तर मूल कारण सुदूरका नागरिकको सिंहदरबारसँग साइनोमा आएको दरार नै हो ।
अचेल पनि सुुदूरपश्चिमा सिंहदरबारको बलियो उपस्थिति देखिदैन् । केही प्रतिनिधिहरु नेपाल राज्यका प्रमुख बने होलान् । राज्यकै नेतृत्वमा पुगे होलान् । अहिले पनि राज्यको महत्वपूर्ण निकायमा छन् । स्थानीय तहमा पनि सिंहदरबारका मानिसहरु काम गरिरहेका छन् । यी सबै सिंहदरबारका ऐजेण्ड–पात्र हुन् वा सिंहदरबारका वारिसवाला मनुवा हुन । यिनले सुदूरपश्चिमका नागरिकको प्रतिनिधित्व गर्दैनन् । यिनले सुदूरपश्चिमप्रति भन्दा पनि सिंहदरबारप्रति वफादारिता देखाइरहेका छन् । र उनैका आदेश मानेर उनकै सेवामा समर्पित रहन्छन् ।
जबसम्म आशा र भारोसा हुदैन । तबसम्म विश्वासको वातावरण रहदैन । र अपनत्व पनि हुँदैन् । सुदूरको नेपाल सरकारप्रति न आशा छ, नत भरोसा नै छ । केबल आक्रोस र दुखेसोमा मात्र छ । सिंहदरबारसँगको नातामा जहिले पनि शंका र भयमा टिकेको छ । हरेक जिन्दगीका कठिन मोडमा सरकारको अनुभुति हुन सकेन । शिक्षा, स्वास्थ्य, रोजगारीका लागि भारतको चौकीदारी नै सबैभन्दा ठूलो अवसर बन्दै आयो । आफू बाँच्ने र परिवार पाल्ने आधार भारत बन्यो । अथवा जिन्दगी नै परदेशी बन्यो । अनि कसरी सिंहदरबारसँगको साइनो बलियो हुन्छ त ?
नेपालमा आएको सबै व्यवस्थाले सुदूरका बासिन्दाको जीवनमा परिवर्तन ल्याउन सकेन । केही विकासका नाममा सडक तथा भवन निर्माण भए पनि जिन्दगीमा परिवर्तन आएन । खेती किसानीका दुख, भारतमा गएर भारी बोक्नुको पीडा र नेपालमै भोकै बस्नु व्यथा दैनिकी बने । घरको आर्थिक कारण हाइस्कुल पास नगरी बाल्यकालैमा भारतमा गएर मजदुरी गर्नु यहाँका गरिब परिवारका लागि सामान्य जस्तै छ । शिक्षा भन्दा पनि पेट पाल्नु वा जीवन जीउनु महत्वपूर्ण भएकाले पहिलो रोजगाई मजदुरी रोजीरहेका हुन्छन् । सरकारको सबैका लागि शिक्षा भन्ने नारा नेपालबाट पारी भारतमा रहेका बालबालिकालाई गिज्याइ रहेको हुन्छ ।
नेपाल सरकारले लिएको विकास नीति मै खोट छ । हेराइमा समस्या छ । समान विकासको अवधारणा भनेको कमजोर र पछिपारिएका क्षेत्र, समुदाय वा अन्यमा बढी लगानी गरेर उनीहरुलाई राज्यको मूलधारमा ल्याउनु हो । विदेशीसँग सहयोग माग्दा सरकारले मधेश, सुदूरपश्चिम, कर्णाली देखाउँछ । तर जब विकास बजेट तथा कार्यक्रम तयार हुन्छ तब बढी बजेट र कार्यक्रम अरुतिर तय गर्छ । र, यहाँ सामान्य निरन्तर बजेट कार्यक्रम तय गर्दछ ।
लोकतान्त्रिक सरकारले पनि पञ्चायतशैलीमा बजेट तथा कार्यक्रम तय गरिरहेको छ । त्यतिमात्र हैन हेर्ने दृष्टिकोण नै पञ्चायती छ । यही तरिकारले विकास हुँदै जाने हो भने सुदूरपश्चिमका नागरिक कहिले मूलधारमा आएर अन्य क्षेत्रका बासिन्दा सरह हुन्छन् । कहिले मूलप्रवाहीकरण हुन्छन त ? विकासमा उपेक्षा, नीतिमा विभेद, हेराइ बुझाईमा भ्रम छ । अनि कसरी सुदूरपश्चिमले सिंहदरबारसँग आशा गर्छ त ? यही हो मूल प्रश्न ।
सुदूरपश्चिमका ७ ओटा पहाडी जिल्लामा न त कुनै सुविधासम्पन्न अस्पताल छ । शिक्षण अस्पतालको त कुरै नगरौ । न कुनै गुणस्तरीय सुविधायुक्त क्याम्पस नै छ । बालबलिका पढ्ने स्कुलहरु गाइभैसी खर्क जस्ता छन् । पाठ्यपुस्तक नपुगी पढाई सकिन्छ । विद्यालयको भौतिक संरचना पनि कमजोर भएकाले हिउँद वा गर्मीयाममा बालबालिकाले विभिन्न स्वास्थ्य समस्याहरु झेली रहेका छन् । दूर्गमबस्तीमा अहिले पनि पाएक पर्ने स्थानमा स्कुल नै छैनन् ।
किसानका दुःख उस्तै छन् । अधिकांशको खेतवारी छैन् । अझ दलितहरुको त आफ्नो खेतबारी नै छैन । अरुले दिएको जग्गामा सानो झुपडीमा जिन्दगी बिताईरहेका छन् । किसानका पीडाको बयान गरी साध्य नै छैन । उत्पादन गरेको खेतवारीबाट चार महिना पनि खान पुग्दैन । किनेर खानालाई कमाइ छैन् । र, सहज बजार पनि छैन् । यसरी किसान आफ्नै खेतवारीमा निर्भर हुने अवस्था छैन् । मल बीउँको अभावको कुरै नगरौ ।
सुदूरपश्चिममा ठूला उद्योगको त कल्पनै गर्न सकिन्न । साना तथा मझौला उद्योग पनि छैन । जडीबुटी प्रचुरता रहेको यस क्षेत्र न कुनै उत्पादन छ । न त भण्डारण नै छ । अधिकांश जडीबुटीको उपयोग हुन नसकेर जंगलमै कुहिन्छन् । बाँकी पूर्विया ठेकेदार आएर सस्तोमा उठाएर अरुतिर लान्छन् । काठ तथा पानी उद्योग तथा अरु उद्योगको सम्भावना भए पनि सरकारले प्राथमिकतामा नराख्दा उद्योगहरु स्थापना हुन सकेका छैनन् । यसले गर्दा आय–आर्जन र रोजगारीमा परिर्वतन आउन सकेको छैन । जिल्लामा मूल सडक भएपनि अहिलेसम्म दूर्गम क्षेत्रका बासिन्दा यातायताको सेवाबाट बञ्चित छन् । नेपाल टेलिकम लगायतका सञ्चारको सम्पर्क जोड्न नसकेको अवस्था छ । यस्ता यावत समस्याहरु छन् । र पनि बुझ्ने र सुन्ने कसले ? समस्या यहीनेर हो ।
सुदूरपश्चिमको सिंहदरबारसँग हिनता कहिले हटेन् । सिंहरदबार कुनै दृष्टिकोणबाट हेर्दा पनि हाम्रो भएन । हामी पनि सिंहदरबारका भएनौ । दुबैको एकअर्काप्रतिको सम्बन्ध बाध्यकारी मात्र हो । सुदूरपश्चिमका मान्छेहरु किन काठमाडौं आउँदैनन् ? किन बिरानो मान्छन् त ? उदाहरणका लागि काठमाडौं घर कता भनेर सोध्यो भने सुदूरपश्चिम भन्यो भने भाषिक गिज्याइ शुरु हुन्छ । ए ! कर्णालीपारीको पो रहेछ भनेर मुख बङ्याउन थालिहाल्छन् । यस्तै अरु पनि कयौं उदाहरण भेटाउन सकिन्छ ।
आजको मितिसम्म नेपाल सरकारले सुदूरपश्चिम चिन्न सकेन । बिरानो जस्तो व्यवहार गरिरहेको छ । सुदूरपश्चिमका लागि नेपाल नै नौलो भयो । बरु भारतका शहरमा ढुक्कसाथ कामका लागि जान खुशी हुन्छन् । तर किन नेपाल भित्र जान र काम गर्ने अप्ठ्यारो मान्छन् । किन नौलौ ठाउँ लाग्छ । आफ्नै धर्ती नौलौ लाग्ने देशमा र आफ्नै नागरिक पराय सम्झने सरकारबीचको अनौठौ सम्बन्धमा नै अहिलेको वास्तविकता हो । सुदूरको भोगाई र सरकारको बुझाई हेराइले नै समस्या सिर्जना गरिरहेको छ ।