भरत पोखरेल
मई १८, १९८८ मा अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारी डेभिसन एल. बुधूको राजीनामाले विश्वको परिदृश्यमा एउटा तरंग ल्याएको थियो । ग्रेनेडामा जन्मिएका बुधूको उच्च शिक्षा बेलायतको ख्यातिप्राप्त लन्डन स्कुल अफ इक्नोमिक्समा भएको थियो । उनले सन १९६६ मा विश्व बैंकबाट जागिरको सुरुवात गरेका थिए र पछि अन्तर्राष्ट्रिय मुद्रा कोष ज्वाइन गरे जहाँ वरिष्ठ अधिकारीको रूपमा १२ वर्ष काम गरेका थिए । बुधूले आफ्नो १ पृष्ठको राजीनामामा १०० पृष्ठभन्दा बढीको असहमतिको दस्तावेज संलग्न गरेर अन्तर्राष्ट्रिय मुद्रा कोषका तत्कालीन प्रबन्ध निर्देशक माइकल कामदेसुसलाई राजीनामा बुझाएका थिए ।
अन्तर्राष्ट्रिय मुद्रा कोषमा बुधूको तलब वार्षिक १ लाख ४३ हजार अमेरिकी डलर थियो । यो रकम त्यसबेला विश्वका कुनै पनि राष्ट्राध्यक्षहरूकोभन्दा कम थिएन अर्थात् विश्वका सामान्य नागरिकको प्रतिव्यक्ति आयभन्दा हजारौं गुणा बढी थियो । बुधूले अन्तर्राष्ट्रिय मुद्रा कोषको भ्रष्टाचार र विश्वका गरिब जनताका विरुद्ध गरिने शोषण र षडयन्त्रको आफ्नो राजीनामा मार्फत भण्डाफोर गरेका थिए । उनको यो साहसको सराहना गरेर विश्वका चर्चित समाचार माध्यमहरू बीबीसी, गार्जियन, अब्जर्भर आदिले बुधूको राजीनामाको आसय प्रकाशित गरेका थिए ।
बुधूको राजीनामा यति चर्चित भयो कि सन १९९० मा विश्वका दर्जनौ देशहरूका प्रकाशन गृहहरूले उनको राजीनामा इनफ इज इनफ शीर्षकमा पुस्तक प्रकाशित गरे । इन्टरन्यासनल मनेटरी फण्डलाई इन्टरन्यासनल मिनिस्ट्री अफ फाइनान्स भनेर व्यङ्ग्य गर्न थालियो । बुधूलाई धेरै देशका विश्वविद्यालयहरूले अभिभाषणका लागि आमन्त्रित गरे । अंग्रेजी शब्दकोश अनुसार इनफ इज इनफको नेपाली अर्थ हो अति भयो ।
आजभन्दा ३० वर्ष अगाडि डेभिसन बुधूको भ्रष्टाचार विरोधी पुस्तक इनफ इज इनफको इको नेपाली राज्यसत्ताका कार्यकारी प्रमुख प्रधानमन्त्री निवास तथा कार्यालय बनेको बालुवाटारमा सुनियो । संयोग नै भनौं बालुवाटारमा घन्केका धेरै नारामध्ये आकर्षक इनफ इज इनफ नारा पनि भ्रष्टाचार विरोधी नै थियो । कोरोना (कोभिड–१९) नियन्त्रणका लागि १० अर्ब खर्च भएको समाचार बाहिर आएपछि मायावी संसार (भर्चुअल वर्ल्ड) बाट बालुवाटारको सडकमा सशरीर युवाहरू विरोधमा ओर्लिए । कोभिड–१९ नेपालः इनफ इज इनफ फेसबुकमा लाखभन्दा बढी युवाहरू आवद्ध भए । उनीहरूले नै आन्दोलनको अगुवाइ गरे ।
अहिले नेपालमा एमसीसीको चर्चा चुलिएको छ । देशको अस्मितासँग आर्थिक लाभका लागि सौदाबाजी गर्न केही मानिसहरू लागि परेका छन् । देशसँग सौदाबाजी गर्नेहरूको भण्डाफोर गर्ने पुस्तकहरू टी. नागि रेड्डीको इंडिया मोर्टगेज्ड, चित्रा सुब्रमन्यमको इंडिया फर सेल र डेभिसन बुधूको इनफ इज इनफ पढेर अल्पज्ञानभन्दा माथि उठ्नेछन् भन्ने आश गरौं । एमसीसीको अनुदान ५०० मिलियन अमेरिकी डलर देशका लागि ठूलो रकम होइन । रकम जत्रो भए पनि देशप्रतिको इमान्दारीता ठूलो कुरा हो ।