‘भोजन नै औषधि हो, औषधि त भोजन नै हो’ आधुनिक चिकित्साका जन्मदाता मानिने हिप्पोक्राटासको भनाइ अहिले त झन् सान्दर्भिक हुन गएको छ । आयुर्वेदले पनि त्यही भन्छ ।
शरीरमा रोगसँग लड्ने शक्ति बढोस् भनेर हाम्रो संस्कृतिले ज्ञान दिएको छ ।
माघ १ गते खिचडी, तरुल, तिलको लड्डु खानु, असार १५ गते दही चिउरा खानु, अक्षय तृतियामा सातु र सर्बत पिउनु जस्ता अनेक चलनहरु यसै अस्तित्वमा आएका होइनन् । यिनका पछाडि एक ठूलो विज्ञान छ । यसैले नै परम्परागत ज्ञानलाई सम्हालेर राख्नु पर्छ । अनुसन्धान गरेर व्यवहारमा ल्याउनुपर्छ ।
विश्व स्वास्थ्य संघले नै वरिपरिका वनस्पतिको महत्व छ भनेर सिद्ध गरेपछि अहिले कतिपय मानिसहरू अनेक वनस्पति प्रयोग गरेर स्वास्थ्य राम्रो पार्न कोशिसमा छन् ।
सिंहदरबार वैद्यखानाबाट निस्केको ‘चन्द्र निघन्टु’ नामक किताबले पनि देखाउँछ । हाम्रा वनस्पतिहरू कति गुणले भरिपूर्ण छन् । सिंहदरबार बैद्यखानाबाट प्रकाशित भएको यो ग्रन्थ नेपालको ज्ञान भण्डार हो ।
परम्परागत ज्ञानमा बेसारको प्रयोगले स्वास्थ्यमा धेरै टेवा पुर्याउँछ । रोगसँग लड्न क्षमता प्रदान गर्छ भन्ने पनि ज्ञान दिएको छ । बेसार, मरिचको र टिमुरका बारेमा वैज्ञानिक अनुसन्धान पनि भएकोले तिनको हँसी उडाउनुपर्ने जरुरत छैन । ‘टिमुरले रोगसँग लड्ने शक्ति दिन्छ, लेक लाग्नबाट रोक्छ’ भन्ने परम्परागत ज्ञानलाई अहिले विज्ञानले सिद्ध गरेको छ । पूर्खाको विश्वासलाई त विज्ञानले मानेछ ।
विश्व स्वास्थ्य संघले पनि परम्परागत ज्ञानको महत्व स्वीकार गरेर बालबालिकालाई खोकी लाग्दा मह र अदुवाको रस दिन सकिन्छ र साधारण समस्यामा घरेलु औषधिद्वारा नै ठीक पार्न सकिन्छ भनेर स्वीकार पनि गरेको छ ।
संसारका विभिन्न ठाउँमा गएर काम गरेपछि, भारतकी प्रसिद्ध बैज्ञानिक डा. वन्दना शिवाको भाषण सुनेपछि, उनले निम र बेसारका बारेमा गरेका अनुसन्धान र किताब पढेपछि मात्र मलाई बोध हुँदै आयो, निम, बेसार, तुलसी आदि घर आँगनका औषधीलाई हामीले हेला गरेका रहेछौं । हजारौं वर्षदेखिको वनस्पतीय ज्ञानलाई अपहेलना गरेका रहेछौं ।
काम गर्दै जाँदा अनुभव पनि बढ्दै गयो । सन् २०१७ मा एक पत्रिका पसलमा नेशनल जियोग्राफीको ‘प्रकृतिका उत्कृष्ट उपचार’ भन्ने पत्रिका देखे । किने, साँच्ची नै उत्तम पत्रिका रहेछ । यो किताबमा हामीले प्रयोग गरेका वनस्पतिको इतिहास, कहाँबाट आयो भन्ने कुरा पनि रमाइलोसँग लेखिएको थियो । यो अंक यति लोकप्रिय भयो कि नेशनल जियोग्राफीले सन् २०१९ मा पुन स् यस पुस्तिकाको पुन विस्तृत मुद्रण गरेछ ।
नेशनल जियोग्राफीले निकालेको ‘न्याचुरल होमरेमेडिज’ पुस्तक पनि किने । संसारका विभिन्न देशमा भएका वनस्पतिहरुको चिकित्सकीय महत्वका बारेमा लेखेको यो किताब पढेपछि मलाई लाग्यो हाम्रा पूर्खाहरुलाई यसरी वनस्पतिको विज्ञानको ज्ञान नभए पनि तिनै वनस्पतिलाई जीवनमा प्रयोग गर्न सकिन्छ भन्ने ज्ञान त रहेछ ।
केवल आधुनिक औषधि अस्पताल र डाक्टरहरूले मात्र स्वास्थ्य राम्रो पार्न भूमिका खेल्ने होइन, परम्परागत ज्ञान, जस्तो, तेल लगाउनु सुत्केरी र बालबालिकाको स्वास्थ्य राम्रो पार्ने उपाय हुन् । विदेशमा ‘मसाज’ भनेर धेरै पैसा तिर्नुपर्छ, हामीकहाँ हजुरआमाले मालिस गर्दा अपहेलना हुन्छ । यस्ता सामान्य कुराबाट पनि थाहा हुन्छ कि पूर्खाको प्रत्येक ज्ञानलाई हँसीको पात्र बनाउनुपर्दैन ।
त्यसैगरी, महिला स्वास्थ्यका लागि उत्तम केही प्राकृतिक औषधिहरुका बारेमा पनि परम्परागत ज्ञान प्रयोग गरिन्छ । तर, त्यसको वैज्ञानिक महत्वचाँहि के छ भन्ने विचार नै गरेका रहेन छौं । भटमास, दहीले महिलाहरुको स्वास्थ्यमा योगदान पुर्याउँछ भनेर यसलाई दैनिक भोजनमा प्रयोग गर्नुपर्छ यो किताबले सिकाउँछ ।
अहिले विज्ञानले भन्छ, भटमासमा प्रोटिन हुन्छ । गर्भवती, सुत्केरी सबैलाई फाइदा पुर्याउँछ भने महिनावारी रोकिएका वा रोकिन लागेका महिलाहरुका लागि भटमासमा रहेको विशेष तत्वले फाइदा गर्छ भनेर अध्ययनले पुष्टि गरेको छ ।
भारतकी डा. बन्दना शिवाले ‘निम’ को बारेमा अध्ययन गरेर निकालेको किताब पढेपछि म निमलाई धेरै प्रयोग गर्छु । महिला स्वयंसेविकालाई निम र तितेपातीको प्रयोग गरेर महिलाको प्रजनन् स्वास्थ्य कसरी सुधार्ने भनेर तालिम दिन्छु । तितेपातीको तेल रु। ३० हजार लिटर पर्छ भनेपछि मात्र गाउँलेहरूले यसको महत्व बुझ्न थालेको भान भएको छ मलाई ।
अहिले म त मीठा निम र निम त दिनदिनै खान्छु । बेसार, मरिच, गुर्जो, दालचिनी, मुङग्रेलो, जेठी मधुको धुलो, यसले मलाई रोगसँग लड्ने शक्ति दिएको छ भन्ने म विश्वास गर्छु ।
परम्परागत ज्ञानलाई महत्व दिएर जीवनमा पनि प्रयोग गर्नुको अर्र्थ आधुनिक चिकित्सा विज्ञानलाई नकार्नु चाँहि पक्कै होइन । परम्परागत ज्ञान, वरिपरि भएका वनस्पतिहरुको उचित प्रयोग, आधुुनिक चिकित्सा विज्ञानको विवेकशील प्रयोग हुनुपर्छ भन्ने विचारसँग चाँहि म अहिले नजिक भएकी छु । नेशनल जियोग्राफी र सिंहदरबार वैद्यखानाबाट निस्केका किताबहरु पढ्दा मलाई ज्ञान भयो कि विभिन्न फूल र पात वनस्पति, जसलाई हामी केवल सौन्दर्यको दृष्टिले हेर्छौं, सजाउँछौं । ती वनस्पति त ‘स्वास्थ प्रदान गर्ने’ पोको पो रहेछन् ।
हाम्रो खानाले हामीलाई रोगसँग लड्ने शक्ति दिन्छन् । क्षयरोगको किटाणु वातावरणमा जताततै हुन्छ । तर, जसको रोगसँग लड्ने शक्ति कम हुन्छ, उचाहिँ बिरामी बन्छ । क्षयरोगको आधुनिक औषधिको प्रयोगसँगै पौष्टिक खानाको प्रयोग गरेर म आफैं पनि ३६ वर्ष अगाडि रोगमुक्त भएकी थिएँ । मलाई उपचार गर्ने डाक्टर र नर्सले भनेका थिए, ‘तिमीले औषधीसँगै स्वस्थ्यकर खाना खाइनौ भने तिम्रो रोगसँग लड्ने शक्ति कम हुन्छ र फेरि रोग दोहोरिन्छ कि ? यी शब्दले मलाई जीवनमा पोषणको महत्व बुझाए ।
तर, पनि मलाई पुनः क्षयरोग भयो भने क्षयरोग विरुद्धको आधुनिक औषधी त प्रयोग गर्ने नै छु । मेरो खुट्टा भाँचियो भने आधुनिक उपचार गर्नेछु । तर, स्वस्थकर खाना पनि खानेछु ।
कहिले आधुनिक चिकित्सा पद्धति, आयुर्वेद र परम्परागत ज्ञानसँगै काम गर्लान् ?