आजभोलिका लागि प्रवीण भट्टराईको ग्राउण्ड रिपोर्ट,
काठमाडौं । राजधानी काठमाडौंमा कयौं मानिस सडकमा भेटिन्छन् । अचेल धेरै मानिसहरुका शहरका खुला सार्वजनिक स्थानहरु तथा मठमन्दिर आसपासमा बसेर मागेको देखिन्छ । उनीहरुको लागि माग्ने पनि एक पेशा जस्तै भएको छ । माग्ने पेशामा संलग्न हुने मानिसहरु शहरमा साहारा विहीन छन् । प्रायः गरेर महिला, बालबालिका, युवा, वृद्ध र शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरुले शहरका विभिन्न स्थानहरु बसेर माग्ने कार्य गर्दै आएका छन् ।
उनीहरु पशुपतीनाथ, महाकाँल, भद्रकाली, जयबागेश्वरी, न्युरोड, बसपार्क, स्वयम्भुका मठमन्दिर तथा सडकका फुटपाथमा बसी भिख माग्दै गरेको हामी सबैले देख्ने र भेट्ने गरेका छौ । उनीहरु शहरका सार्वजनिक स्थानहरु तथा फुटपाथमा गीत गाउँदै, स्वास्थ्य प्रतिवेदन देखाउँदै, कोही बोल्दै वा कोही नबोल्दै विभिन्न साँकेतिक तरिकाले यताउता घुम्दै फिर्दै शहरकै विभिन्न व्यक्तिहरुबाट पैसा, लत्ताकपडा र खानेकुरा मागि रहेका हुन्छन् ।
भोको अनुहार, मैला लुगा कपडा, असक्त शारीरिक अवस्था, जिंरिंग परेको कपाल, सफा नभएका नङ तथा हातगोडा, कुनै प्रकारको शारीरिक खतहरु, साना बालबच्चा छनभने, उनीहरुलाई च्यापेर वा उनीहरुकै नजिक राखेर प्लाप्टिकका झोलाहरुमा मन्दिर अघि वा फुटपाथमा हात पसारीपसारी अरुबाट भिख माग्दै गरेको उनीहरुको पहिचान बनेको छ ।
शहरका सार्वजनिक स्थानहरुमा माग्नेहरुको अवस्था के कस्तो छ भनि थाहा पाउन म मैतिदेवी मन्दिर पुगे । काभ्रे पनौतीका लक्ष्मण खड्का (४५) र दोलखा भिरकोटका रमेश काफ्ले (३८) सँग भेट भयो । उनीहरु दुबै जना पेशा केही छ्रैन् । काम भने माग्ने हो ।
उनीहरुले मुखमा मास्क लगाएका थिए । उनीहरु भिख माग्दै मन्दिरको प्रवेश द्धारमा भोको अनुहार सहित र अनिन्द्रा आँखा लिएर द्रवित भएर भक्तजनहरुको प्रतिक्षामा बसेका थिए । तर मन्दीर परिसर भने सुनसान थियो ।
काभ्रे पनौतीका लक्ष्मण खड्का (४५) मैतीदेवी मन्दिर प्रवेशद्धार अगाडी बसेर मागीरहेका थिए । मैतिदेवी मन्दिर परिसरमा मात्रै उनीजस्तै दश जनाले नियमित रुपमा भिखमागेर आफ्नो दैनिकी बिताइ रहेकाछन् ।
उनीहरुको मुख्य काम भनेकै मन्दिरको प्रवेशद्धारमा बसी मन्खिरमा आउने भक्तजनहरुले दिएको दान चामल थाप्ने हो । मन्दिरमा आउने दर्शनार्थीहरुबाट अन्न, पैसा र लुगाफाटाहरु पाउने गर्छन् ।
सहरका विभिन्न मठ मन्दीर, सार्वजनीक स्थल र सडक फुटपाथ पेटिहरुमा अझै पनि विभिन्न उमेर समूहका मानिसहरु माग्ने पेशा अपनाउन वाध्य छन् । उनीहरु शारीरिक रुपमा अशक्त तथा अस्वस्थ छन् । मानसिक रुपमा कमजोर र दुर्वल छन् । र सामाजिक रुपमा भने उनीहरु अपहेलित र तिरस्कृत छन् । भोक प्यास नभनी अरुसँगै हारगुहार गर्दै जीवन निर्वाह गर्न बिवस छन् ।
उनीहरु गाँस,बास र कपासका लागि सहरकै अन्य व्यक्तीहरुसँग प्रत्यक्ष रुपमा आश्रीत छन् । उनीहरु बिहान देखी बेलुकासम्म नै माग्ने काम गर्दछन् । सडकमा सुत्छन्, सडकमै खान्छन् र सडकबाट माग्ने काम गर्छन् । बास्तवमा भन्ने हो भने उनीहरुको दैनिकी सडकबाट सुरु हुन्छ र सडकमा नै गएर अन्त्य हुन्छ ।
उनीहरुको कुनै निस्चित आयमुलक पेशा व्यवासय छैन् । त्यसैले उनीहरु सडकका फुटपाथहरुमा नै बसी माग्ने काम गर्दै आएका छन् । २० बर्ष अघि परिवारका अन्य सदस्यहरुसँग घरायसी विवाद भएर पनौतीबाट राजधानी आएका लक्ष्मण खड्काले सुरुमा ज्यामी भएर काम गरे । धेरै पटक अरुका भारी बोके । क्याट्रिङमा काम गरे । तर ती सबै कामहरुमा सन्तुष्ट नभए पछि उनी अचेल मैतिदेवीको शरणमा आएका छन् । मैतिदेवी मन्दिरमा आएका मानिसहरुले दिने दान चामलले गुजारा चलाइ रहेका छन् ।
खुलामञ्च, पशुपती क्षेत्र विकास कोष, कालोपुल, तिलगँगा आदी क्षेत्रमा शहरका माग्ने, असाय र विपन्न वर्गका मानिसलाई लडकाउनको अवधिमा विभिन्न स्थानीय संघसंस्थाहरुले संचालन गरेको सार्वजनिक रुपमा खाना खुवाउने अभियानलाई स्थानीय निकाय र महानगरपालिकाले बन्द गराएकोमा उनी दुखित छन् । उनले भने, खाना, नाना र छाना बाट जोकोही म जस्तै अन्य असाहाय तथा भिखारी व्यक्तिहरु बन्चित नहुन् ।
उनी कहिलेकाँही भने मैतिदेवी, कालोपुल, गौशाला, मालिगाउँ क्षेत्रबाट स्थानीय फोहरमैला सँकलन गर्छन् । फोहोरका थुप्राहरु उदिन्दै प्लास्टिक, पुराना सिसी र अन्य थोत्रामोत्रा पुनः प्रयोगमा आउन सक्ने फ्यालिएका फलामका चिजबिचहरुको सँकलन गर्दछन् । तर उनलाई सो कार्य गरे बापत स्थानीय घरबेटीहरुले गाली गरेको मन पर्दैन । फोहोरका थुप्राबाट सिसा, फलामका सामानहरु टिप्दा हात खुट्टामा धेरै पकट चोकपटक लागेको बताउँछन् ।
सार्वजनिक रुपमा स्थानीय प्रहरीले उक्त पुराना सामानहरु को चेकजाँच गरी बिनासित्तिमा दुःख दिएको उनले बताए । उनी भन्छन् व्यक्तिहरुको योग्यता र क्षमता अनुसार सबै वेरोजगारलाई स्वरोजगार बनाउनु पर्छ ।
शहरका सार्वजनिक स्थानहरुमा खानु, बस्नु र सुत्नु परेकोमा उनलाइ अप्ठ्यारो महसुस भएको बताउँछन् । उनी भन्छन् यसरी अरुसँग माग्दै बाँच्नु परेको छ । सरकारले सार्वजनिक रुपमा माग्ने हामी सबैलाई खाना, बास र कामको प्रवन्ध मिलाइ दियोस् । हामी काम गर्न तयार छौं ।
दोलखाका रमेश काफ्ले (३८) पनि पहिले शहरका होटलहरुमा भाँडा माझ्ने काम गर्थे । केही बर्ष घर निर्माणमा ज्यामी मजदुरी पनि गरे तर शरीरले साथ नदिए पछि उनी पनि विगत १० बर्ष देखी मैतिदेवी मन्दिर अघी मागेर गुजरा चलाइरहेका छन् । उनी अरु भिखारीहरुकै समूहमा बस्ने र खाने गर्छन् । सडक पेटिमा नै आफ्नो भविष्य बित्नेमा चिन्तित छन् । अचेल मैतिदवी मन्दिर परिसरमा नै रात कटाउँछन् । चार्डबाड तथा उत्सवहरु भएको दिनमा भक्तजनहरुबाट केही बढी आय आर्जन गर्दछन् । घरमा अंशमुद्दामा असन्तुष्ट भएपछि उनी काठमाण्डौ आएका हुन् । उनी भन्छन् शहरमा यसरी मागी बस्ने सबैलाई राज्यले व्यवसायी बनाउनु पर्छ ।
बन्दाबन्दिको समयमा भने उनीले स्थानीय व्यक्तिहरु र संघसंस्थाहरुले दिएका खानेकुरा खाएर आफूले दैनिक गुजारा गरेको बताए । अचेल उनको कहिले काही हातहरु काँप्छन् । बेलाबेलामा शरीरका अँगहरु सुनिन्छ । दिसा पिसाव गर्न पनि गाह्रो हुन्छ । त्यसैले उनी भन्छन्, शहरमा अरुसँग मागी जीवन निर्वाह गर्ने म जस्तो शारीरिक रुपमा अशक्त र अस्वस्थ मानिसहरुको सरकारले निःशुल्क स्वास्थ्य उपचार गर्ने प्रवन्ध गरोस् ।
यसरी शहरका विभिन्न सार्वजनिक स्थानहरुमा दैनिकरुपमा मागेर गुजार गर्ने कयौं मानिसहरु छन् । उनीहरुलाई आफू कसरी यो शहरमा पालिने भन्ने चिन्ता छ । घर परिवार र गाउँ समाजमा विभिन्न ढंगले दुर्व्यहार भएर उनीहरु शहरमा निम्नस्तरको जीवन जिउन बाध्य छन् । कोही भने जन्मजात रुपमा अपांङ भएर यो काम गर्न बाध्य छन् ।
काठमाण्डौं महानगरपालिका र पशुपती क्षेत्र विकास कोषले फरक फरक समयमा शहरकालाई माग्ने मुक्त शहर बनाउने घोषणा गर्दै आइरहेका छन् । विभिन्न प्रकारका सार्वजनिक अभियान तथा कार्यक्रमहरु संचनलनमा ल्याएका थिए । कार्यक्रमहरु अन्तर्गत काठमाण्डौं माहनगरपालिकाले सहरलाई भिखारी मुक्त बनाउनका लागि सबै बडामा १५ दिने जनचेतनामुलक कार्य सुरु गरेको थियो ।
शहरका विभिन्न स्थानमा रहेका भिखारीहरुको जीवन अवस्थाको अध्ययन र उनीहरुको एकिन संख्या निर्धारण गर्न अध्ययन पनि थालेको थियो । तर सो कार्यले पनि शहरहलाई भिखारीमुक्त बनाउ सकेन ।
सो कार्य सम्पन्न गर्नका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्वयन गरेको थियो । र सोही अनुसार रत्नपार्क, न्युरोड, पशुपती क्षेत्र विकास परिसर र अन्य सार्वजनिक स्थानमा दैनिक बसी माग्ने भिखारीहरुको संख्या र उनीहरुको उचित व्यवस्थापन र रोगजारीका लागि आवश्यक लगत संकलन कार्य पनि गरेको थियो । विविध कारणहरुले गर्दा सो अभियान पनि अहिले सम्म प्रभावकारी रुपमा हुन नसकेको देखिन्छ किनभने शहरमा अझै पनि विभिन्न स्थानहरुमा दैनिक मागी खाने मानिसहरुको संख्या बढ्दो छ । उनीहरुको जीवन निर्वाहको माध्यम सडक र मागीखाने नै भएको छ ।
राजधानीमा सबैका आफ्ना आफ्नै समस्या र वाध्यताहरु छन् । त्यसैले पनि मुख्यतया यो शहरमा महिला, बालबालिका, जेष्ठनागरिक र शारीरिक अशक्त भएका मानिसहरु
नै सडकमा भिख मागीरहेका छन् । उनीहरु आर्थिक तथा सामाजिक रुपमा सक्षम भएका अन्य शहरी मानिहरुसँग जीवन निर्वाहका लागि आश्रीत हुनुपरेको छ । प्रकारको समाज निर्माणले सामाजिक विवेद निम्त्याएको छ ।
शहरका अन्य मानिसहरुले दिएका वा दान गरेका बस्तुहरुले आफ्नो जिन्दगी चलाउनु परेको छ । उनीहरु प्रायः गरेर पशुपती, महाकाँल, भद्रकाली, जयाबागेश्वरी क्षेत्रमा माग्दै गरेको भेटिन्छन् । र, उनीहरु सार्वजनिक स्थानहरु बसपार्क, खुलामञ्च, बसन्तपुर र शहरका अन्य फुटपाथमा पनि घुम्दै फिर्दै भिख मागीरहेका छन् ।
सामाजिक रुपमा वहिस्करणमा परेका अतिविपन्न परिवारका मानिसहरु सडकमा भिख माग्नेमा भेटिन्छन् । घर तथा समाजमा उनीहरुलाई विभिन्न प्रकारका सामाजिक अरोप र दोषहरु लाग्ने गरेको छ । उनीहरु भिखारी हुनु र यसरी भिख माग्नु पुर्नजन्मकै कारण पनि हुन सक्छ । विधीको शसानमा राज्यबाट उनीहरुको आधारभूत मानव अधिकारबाट बञ्चित भएका छन् । उनीहरुले यसप्रकार भिख मागेर आउने दैनिक आम्दानीले आफ्नो र आफ्नो परिवारको जीवका चलाएका छन् ।
उनीहरु समाजबाट एक्लिएका छन् । उनीहरु बेसाहारा भएका छन् । वा राज्यविहीन भएका छन् । सार्वजनिक फुटपाथमा मागेर जीवन यापन गर्ने ती सबै मानिसहरुलाई सुरक्षित जीवन निर्वाह गर्ने वातावरण तयार गरिनु पर्छ । साथै, उनीहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सम्बन्धित निकायले सार्वजनिक रुपमा निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्नुपर्छ । उनीहरुलाई सीपमुलक रोजगारको पनि प्रवन्ध गर्नुपर्छ ।
भट्टराईले युवा, रोजगार तथा आर्थिक क्षेत्रमा कलम चलाउँदै आइरहनु भएको छ ।