म कुनै संस्कृत पढेको व्यक्ति त हैन तर गुरुहरुको प्रबचन सुनेर केही कुरा मनमा टीपेको मात्र छु । यस आध्यात्मिक लेख मार्फत त्यसैलाई अलिअलि कलम चलाउने प्रयास गरेकी छु । यहाँ मेरा केही अध्यात्म सम्बन्धिका व्यक्तिगत अनुभबहरु पनि लेख्ने प्रयास गरेकी छु । हामी सबैको जीबन अध्यात्ममा नै अडेको छ । अध्यात्म बिना हाम्रो जीबनको अर्थ नै हुदैन । अध्यात्म बिनाको जीबन दुखी र नीरास हुन्छ । तथा नकारात्मक सोचलाई बढवा दिन्छ । अध्यात्म बिनाको जीबन र पशुको जीबनमा कुनै फरक छैन । हामी सबैले सुख र शान्ति पाउनु छ भने अध्यात्मलाइ अंगालेर यसमा जान रोक्ने काम, क्रोध, लोभ, मोहलाइ आफ्नो बसमा राख्नुपर्छ । यसको बसमा हामी पर्यौं भने यसले हामीलाइ दुखी र अशान्त बनाउँ छ ।
मैले बच्चा देखी नै बुवाआमाबाट पुजा आजा, पाठ आदी गरेको देखेको थिएं । जे भए पनि भगवान संग प्रर्थना गरेपछि पाइन्छ भन्ने भाव जागेको थियो । अनी जे अप्ठ्यारो परे पनि भगवान मेरो यो कुरा पुराइ देउ भनेर भन्थें, पुग्थो पनि । अनी त खुसी हुन्थें र बिश्वास पनि बढदै गयो । त्यही बेलादेखि अहीलेसम्म पनि मेरो जीबनमा भएका जुनसुकैकुराहरुमा परमात्मासंग तिम्रो कारणबाट भएको हो भनेर खुसी हुन्छु ।
हामी सबै परमात्माका खेलौना हो, उसले जसरी खेल्छन् हामी तेस्तै हुनुपर्छ, यसमा कुनै अदलबदल हुदैंन । भनाइपनि छ जेहुनु छ त्यो भएर नै छोड्छ र जे हुने छैन त्यो हुदैं हुदैंन। यो कुरा सत्य छ किनभने हाम्रो भाग्यमा भएको कुरा अलिकति कोशिसले पनि प्राप्त हुन्छ भने हाम्रो भाग्यमा नभएको कुरा जति प्रयास गरे पनि पाइदैन। यदी पाइहाले पनि टिक्दैन जस्तो लाग्छ । मलाई अहिले पनि पुजापाठ गर्दा मनमा आनन्द र सुखको अनुभुती हुन्छ र पुजा गर्दा कति समय बित्यो भन्ने भाव नै आउदैन। हाम्रो जुनसुकै चाडबाड पनि अति रमाइलो लाग्छ । सबैभन्दा ठुलो चाडहरुमा दसैं, तीहार, लक्ष्मीपुजा, तुलसी होम, शिबरात्री,राम नबमी, कृष्ण अष्टमी, फागु पुर्णीमा र बैसाष संक्रान्ती आदीआदी यी सबै चाडबाडहरु को आआफ्नै महत्व छ । यी सबै चाडबाडहरु मन लगाएर मनाउदा अति आनन्द आउछ । तर अहिलेका व्यक्तिहरुमा यी चाडबाडको महत्व बुझ्न कठीन हुदै गइरहे जस्तो लाग्छ । किनभने अहिलेका व्यक्तिहरुमा शुद्ध खानपान भन्दापनि अशुद्ध खानामा बढी रुची भएर होकी जस्तो लाग्छ । जे मन लाग्यो तेही गर्छन् जे मन लाग्यो तेही खान्छन्, राम्रो कुरा के हो र नराम्रो के हो त्यो छुट्याउने शक्ती छैन जस्तो लाग्छ ।
अब राम्रो र नराम्रो कुरा केहो भन्दा, आफुलाइ कसैले केहि काम गर्दा राम्रो लाग्छ भने त्यो कुरा गर्नुपर्छ र नराम्रो लाग्ने काम र कुरा दुबै गर्नुहुदैन । हरेक कर्म गर्दा आफुलाई भन्दा पनि अरुलाइ गाह्रो अप्ठ्यारो हुन्छ की भनेर सोच्ने बानी गर्नुपर्छ । मलाइ यस्तो लाग्छ की अरुलाइ खुसी राख् सक्नु नै आफै खुसी हुनु हो । सय प्रतिशत नै खुसी राख्न त सकीदैन तर केही प्रतीसत् भने सकिन्छ जस्तो लाग्छ । उदारहण को लागि, कसैसंग नराम्रो भाबना राख्ने, जे कुरामा पनि यसो भएन र उसो भएन भनेर बिरोध गर्ने स्वभाबले आफुलाइनै अशान्ति हुन्छ भने आफुले राम्रो ब्यबहार गर्यो भने सबैको पीर मर्का बुझ्यो भने आफैलाई शान्तिको अनुभुती हुन्छ ।
अध्यात्ममा हिँड्ने व्यक्तिले सकारात्मक सोच राख्नु जरुरी छ। जे भए पनि परमात्माको इच्छा र मेरो प्रारब्धको भोग यस्तै रहेछ भनेर स्वीकार्न सक्नुपर्छ । शास्त्र सतगुरु प्रती संखा गर्नु हुदैन । हामो धार्मीक पुस्तकहरुमा हरेक अवस्थाको कथन छ शिक्षा छ , हरेक शब्द शब्दमा शिक्षा छ र हरेक भगबानको स्वरुपमा शिक्षा छ । भगबान रामसीता जती दुखमा पनि बिचलीत नभइ आफ्नो कर्तब्य कर्म गरेर लक्ष्यमा पुग्नुभयो,त्यस्तै भगबान श्री कृष्ण जेलमा जन्मेर अनेक दोषबाट दोषी भएर पनि कुनै दुख प्रकट गर्नु भएन । हरेक परिस्थितीमा संयम र प्रसन्न भएर धर्मको रक्षा गर्नु भयो तथा दुष्टहरुको नास गर्नुभयो । त्यसको निचोड के हो त भने, हर हालतमा खुसी र आनन्दित हुन सकेमा दुखको अनुभुती कम हुन्छ । जीबनमा घटेका कुनै पनि घटनाहरु बाट हुस्स र फुस्स भइहाल्नु हुदैन । हरेक रीसी मुनी ज्ञानी ध्यानी सबैले परमात्मा प्रति अघात बिश्वास र समर्पण भएको हुनाले नै परमात्मा कुनै न कुनै रुपले वहाँहरुको सानीध्यमा अनुभब(रुपमा आउनु भएको छ ।
यसै अनुरुप भगबानले पनि उनीहरुको उद्धार गर्नु भएको छ । हामीले पनि भगबान प्रती विश्वास र स्रद्धा गर्न सक्यौं भने परमात्मा कुनै न कुनै रुपमा पाउन सक्छौं । तर हिम्मत र विश्वास गर्न चाँही कहिले पनि छोड्नु हुदैन । जे जसो जीबनमा भएको छ त्यसैलाई आफ्नै कर्मको फल भनेर भोग्न सक्नुपर्छ । कसैले पनि कसैलाइ बिगार्न र सपार्न सक्दैन आफुले नै आफुलाइ बीगार्ने र सपार्ने हो । यस्तो कुरा बुझ्नको लागि सत् गुरुहरु, सत् शास्त्रहरु र अनुभबी व्यक्तीहरुको कुरा मान्नु पर्छ । मलाइ त यस्तै लाग्छ ।
हुन त म भक्त भनेर भन्न खोजेको हैन तर मेरो जीबनमा पनि परमात्माको कृपा भएको अनुभब छ। राती सपनामा भगबानहरु बाट मैले मंन्त्र पाए सुझाब पाए र यसो गर भनेर भगबानले भनेको कुरा गर्दा मेरो जीबनमा समस्याहरु बिस्तारै कम हुदैगयो । त्यसपछी म झनझन परमात्मा प्रति नतमस्तक हुदैं गए । मलाइ सकेसम्म अरुलाई दोष दिएर आफु चोखो छु भनेर भन्न मन लाग्दैन । जहाँ दोष दृष्टि हुन्छ त्यहाँ सधैं बिबाद हुन्छ र मन पनि अशान्त हुन्छ । कुनैपनि कर्म गर्दा अनाशक्त भएर गर्नुपर्छ भनेर भगबान श्री कृष्णले गीतामा भन्नु भएको छ । तर कर्म आफ्नो खुसीको लागि भन्दा सामुहीक खुसी उद्धारको लागि गर्नुपर्छ । यस्तो कर्मले बन्धनमा परीदैन । बन्धन भनेको राग द्वेस, लाभहानी, सुखदुख हो । यसैले हरेक व्यक्ति छटपटाइरहेका छन् । हामीहरु यस्तो द्वन्द बाट रहित हुने कोसीस गर्नु नैअध्यात्म चिन्तन हो । हामीले श्रीमतभागबत गीता, उपनीसदहरु र ब्रह्मशुत्रको अध्यन गर्न सक्यौँ भने मनुस्य जीबन के हो र यसको अर्थ के हो भनि सजिलै जान्न र बुझ्न सक्छौं ।
गुरुहरुले भनेका बाणीहरुलाई कानद्वारा मनमा जम्मा गरेर घरका दैनिक सबै काम हरु सकिए पछि मनन र नीदीध्यासन गर्न सकेमा अति आनन्द आउछ । कुनै पनि काम बाँकि राखेमा त्यसैको चिन्तन हुन्छ । आफुलाई सकेसम्म थोरै ब्यबहार गरेर आध्यात्म चिन्तनमा लगाई हाल्नुपर्छ ।
आनन्द पनि दुई प्रकारका छन् एउटा बाहिरी संसारको बस्तु पाएर हुने र अर्को सत् शास्त्रहरुको रहस्य बुझेर। बाहिरी आनन्द बस्तुहरु पाउन्जेल रहेजस्तो लाग्छ बस्तु नभए पछि आनन्द पनि हुदैन तर अध्यात्मिक आनन्द आफ्नो भित्रबाट आएकोले कहिले पनि आउने जाने वाला हैन । यो आनन्द प्राप्त भए पछि जति खेरपनि मन गदगद भइरहन्छ । यो आनन्द आउन गाह्रो छ आएपछि जादैन, तर संसारी आनन्द छिटै आए जस्तो भान हुन्छ र छिटै नास पनि भै हाल्छ । हामिलाइ बन्दन र मोक्ष हाम्रो आफ्नै मन हो र यही मनले अनेक किसिमको संकल्प र बिकल्प गर्छ । संसारीक कर्ममामात्र लागिरहने मनले बन्दनमा पार्छ जुन मनले हामीलाई अध्यात्म चिन्तन गर्न बाधा पुर्याउछ ।
शुद्ध र निर्मल मनले अध्यात्म चिन्तन गर्न सजीलो हुन्छ । शुद्ध र निर्मल खानाबाट मनपनि शुद्ध हुन्छ । शुद्ध खाने कुरा भनेको हामीले ब्रत बसेको बेलामा खाने खाना हो । रक्सी, माछा, मासु र बासी जुठो खानेकुरा लाई अशुद्ध खाना भनिएको छ । हुन पनि हो, यस्तो खानाबाट मनिसहरुको तन मन सबै बिग्रीएको हुन्छ । यो कुरा हामीहरुले सहजै महसुस गर्न सक्छौं । खानाको कारण ले अहिलेको रोग आएको भनेर भनेको पनि हामीले सुनेका छौं । त्यस्तै ठीक समयमा सही खाना खाएमा रोगले सजिलै संग हामीलाइ ढाल्न सक्दैन । यो कुरा योग शास्रहरुमा पनि उल्लेख छ । प्राणायाम नित्य गर्ने र खानपानमा बिचार गरेर खाने ब्यक्तिहरु झटपट बिरामी हुदैनन् । बिरामी भै हालेपनि हलुका रुपमा बिरामी भएर चाँडै नीको हुन्छन् ।
विबेकी मनुष्यले मोहबाट बिरत हुनुपर्छ । विबेकी कसलाई भन्ने त भन्दा सत्य के हो र असत्य के हो भनेर छुट्याउन सक्ने लाई भनीन्छ । जे मनमा आयो त्यही गर्ने व्यक्तिहरुलाई अविवेकी भनिन्छ । यस्तो व्यक्तिहरु सधै आबेसमा काम गर्छछन् । आबेसमा काम गर्ने व्यक्ति सधैं अशान्त हुन्छ र आफ्नो साथमा हुने सबैलाई पनि अशान्ति फैलाउछन् । विबेकी व्यक्तिलाई ज्ञानी भनिन्छ । ज्ञान नभएर नै हरेक व्यक्ति दुखी भैरहेका छन् । यस्तो व्यक्तिहरुमा धैर्यता हुदैन । जहाँ धैर्य हुदैन त्यहाँ छटपटी अशान्ती र दुख बढदै जान्छ । त्यसैले हामीले आफुलाइ शान्त,विबेकी र धैर्यवान बनाउने प्रयास गर्नुपर्छ ।
घटी मा पनि हरेक दिन आधा घन्टा चाहि आफुलाइ पर्खने बानी गर्नुपर्छ । आफु को हो र कहा बाट र के को लागी यहा आए भन्ने प्रस्न गर्नु पर्छ । यसैलाई नै आफ्नो खोज भनीन्छ । यहा विभिन्न किसिमका व्यक्ति हुन्छन् । सबैको बिचार सबैसंग नमिल्न सक्छ । हामीले आफुलाई म कस्तो छु त भनेर बिचार गर्ने बानी बसाउनु पर्छ । कुन कर्म गरेको बेला सबै खुसी हुन्छन् र कुन कुरा गर्दा सबै लाई चित्त बु्झाउन सकिदैन। यस्तो कुरा बुझेर ब्यबहार गर्न सकेमा जीबन चलाउन सजिलो पर्छ । सबैले आआफ्नो कर्तब्य बुझेर गरेको कर्मबाट कसैलाई पनि भार हुदैंन । रीस र राग गरेर कुनै पनि कर्मगर्नु हुदैन यस्तो कर्म बाट आफै लाई हानी हुनसक्छ । यो संसार एउटा ठुलो पोखरी हो यहां जसले राम्रोे पौडी खेल्न जान्यो उसले जीबन पार गर्छ, जसले पौडी खेल्न जानेन उ डुबेर मृत्युलाई प्राप्त गर्छ ।
गुरुहरु भन्नु हुन्छ ज्ञान भएपछि यो संसार का बस्तु, ब्यबहार र हामीले देखेका सपनाहरु एकै हो । किनभने आफ्नो स्वरुपको ज्ञान भएपछि संसारनै देखीदैन र नीन्द्रा बाट बीउझे पछि सपनाका कुनै बस्तुहरु देखीदैन । यी सबै अज्ञान को खेल हो । यो संसारमाआएपछी हेर्ने र सहने बानी बनाउनु पर्छ । अनी जे जसो हुन्छ जे जसो पाउछौं परमात्माको हो भनेर उनैमा समर्पण गर्ने बानी बनाउन सक्नु पर्छ । यो संसार परमात्माले आफुलाई नै हरेक बस्तुमा परिवर्तीत गरेर आफैले खेलिरहनु भएको छ । यसमा हामी पनि सबै उनैका खेलौना हौं । जसले यो मेरो र तेरो भनेर भन्छ उसको लागि सधैं दुख मात्र आइलाग्छ, जसले सबै परमात्मा को भनेर व्यवहार गर्छ उ सधैं सुखी र आनन्दित हुन्छ । कुनैपनि दुख र अशान्ति उसको जीबनमा आएपनि धेरै कष्ट हुदैन । इती श्री
रेखा शर्मा चालिसे
मालिगाँउ, काठमाण्डौ
२०७७ मसिर २८ गते