काठमाडौं । पछिल्लो समय कमर्स बैंक र विकास बैंकहरु मर्ज हुने बाढी नै चलेको छ । त्यही मेसोमा नबिल बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) मर्ज हुने भएका छन् । एनसीसीले नबिलसँग मर्जरमा जाने लगभग अन्तिम तयारी गरिरहेको छ । ‘यसको लागि दुवै बैंकले गत जेठ २८ गते बसेको सञ्चालक समिति बैठकले मर्जरसम्बन्धी निर्णय गरेको हो । मर्जरको लागि एनसीसीको एक सय कित्ता सेयर बराबर नबिलको ३५ कित्ता सेयर कायम हुने गरी सहमति गरिएको छ ।
उक्त सहमतिअनुसार मर्जर भएको खण्डमा एनसीसीको एक सय कित्ता सेयर हुनेले नबिलको जम्मा ३५ कित्ता मात्र सेयर पाउने छ ।
एनसीसीले यसअघि नेपाल बंगलादेश बैंकसँग मर्जरमा जानको लागि विभिन्न तहमा छलफल गरेको थियो । त्यसको लागि एनसीसीको एक सय कित्ता सेयरबराबर एनबी बैंकको ८० कित्ता सेयर कायम हुने सहमति समेत भएको थियो तर त्यो छलफल छलफलमा नै सीमित रह्यो । एनबीसँगको मर्जरको बारेमा कुनै निर्णय हुन नसकेको स्रोतको भनाइ छ ।
त्यसैगरी एनसीसीले ग्लोबल आईएमई बैंकसँग मर्जरमा जाने विषयमा छलफल गरेको थियो । त्यो छलफल सफलतामा परिणत हुन सकेन । एनसीसीले मर्जरमा जानको लागि सनराइज बैंकसँग पनि विभिन्न चरणमा छलफल गरेको र त्यो पनि सफल नभएपछि अहिले आएर नबिलसँग मर्जरमा जाने अन्तिम तयारी भएको हो । स्रोतका अनुसार अहिले पनि मर्जरको विषयमा नबिल बैंक र एनसीसी बैंकका सञ्चालकहरुबीच विभिन्न चरणमा छलफलहरु भइरहेका छन् ।