काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बेलुका ५ बजे प्रधानमन्त्रीको सपथग्रहण गर्दैछन् । देउवा आज पाँचौ पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनी यसअघि पनि पटक–पटक गरी चार पटक प्रधानमन्त्री भैसकेका छन् । देउवा पहिलो पटक २०५२ साल भदौ २७ गते प्रधानमन्त्री बनेका थिए । त्यसैगरी २०७४ सालमा देउवाले नै चुनाव गराएका हुन् ।
२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बनेका थिए । त्यसको पाँच वर्षभित्रै उनी मुलुकको प्रधानमन्त्री बन्न सफल भएका हुन् । २०७४ साल जेठमा चौथो पटक प्रधानमन्त्री भएका देउवाले नै २०७४ सालमा स्थानीय, प्रदेश र संघ गरी तीनै तहका निर्वाचन सम्पन्न गरेका थिए ।
संविधान कार्यान्वयनका लागि तीनवटै निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न देउवा सफल भएका हुन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो । देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । प्रधानमन्त्रीको रुपमा उनको यो पाँचौ इनिङ हो । देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि देउवा आन्तरिक परामर्शमा व्यस्त रहेको बताइएको छ ।