काठमाडौं । सत्ताबाट बहिरगमित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक आज स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बस्दै छ । बैठकमा भाग लिन एमालेका स्थायी कमिटी सदस्यहरू च्यासल पुगेका हुन् ।
एमाले संसदीय दलका नेता ओलीले आज संसदीय दलको बैठक डाकेका छन् । बैठकमा माधव नेपालपक्षीय २३ सांसदलाई पनि निम्तो गरिएको छ । आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने २३ सांसदलाई कारबाहीका सम्बन्धमा समेत एकिन हुने आँकलन छ ।
यस बैठकमा माधव नेपाल भने सहभागी नहुने बुझिएको छ । उनी पक्षीय नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसालबारे भने स्पष्ट भएको छैन । नेपाल पक्षभित्रै देउवाको पक्ष विपक्षमा मतभेद छ । ओलीले नेपाल पक्षका सांसदहरुलाई कारबाही गरेमा एमाले विधिवत् विभाजनमा जान सक्छ ।
सांसदहरुको दल त्यागसम्बन्धी नियमावलीअनुसार सांसद पद नै खारेज गर्नेतर्फ पनि ओली अगाडि बढ्ने देखिन्छ । एमालेका १२१ सांसदमध्ये नेपाल पक्षसँग अहिले २३ जना छन् । तर, नेपालले संख्या बढाउन सक्ने बुझिएको छ ।
सत्ता संघर्षका क्रममा एमाले विभाजनको नजिक छ । राजनीतिक दलसम्बन्धी विधयेक ल्याएर विभाजन गर्न सहज बनाएर माधव नेपालले २० देखि २५ प्रतिशत सांसद लिएर अगाडि बढ्ने देखिन्छ ।