काठमाडौं । महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित चिसापानीको लेकमा चिया खेती सुरु गरिएको छ । सोही गाउँपालिकाको वडा नं ६ फलामखानीमा चियाखेतीको सफल उत्पादन हुन थालेपछि लङ्खुदेउरालीमा पनि विस्तार गर्न थालिएको हो ।
चिसापानी लेकको खाली जमिनमा चियाका बिरुवा रोप्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए । उनका अनुसार शुरुआतको चरणमा अहिले एक हजार बिरुवा रोपिने भएको छ । झण्डै एक दशकदेखि चियाखेती शुरुआत गरिएको फलामखानी र हावापानी एकै प्रकृतिको छ ।
चिसापानी प्रशिद्ध धार्मिक एवं पर्यटकीयस्थलका रुपमा समेत विकास हुँदै गएको छ । यस वर्ष परीक्षणका रुपमा एक हजार बोट रोप्न थालिएको र बिरुवा हुर्कंदै गए तथा हावापानी मिले आगामी वर्षदेखि थप विस्तार गर्दै जाने उच्चैले जानकारी दिए । गाउँपालिकाले नियुक्त गरेका स्वयंसेवकलाई नै चियाका बिरुवा रोपणमा खटाइएको छ ।
उनीहरुले नै फलामखानीदेखि बिरुवा ल्याएर रोप्न थालेका छन् । केही दिनमै बिरुवा रोपेर सकिने उच्चैले बताए । फलामखानीमा यस वर्ष झण्डै १२ हजार चियाका बिरुवा तयार गरिएको थियो । चिसापानी क्षेत्रमा चियाखेती विस्तारका लागि हजारौँ रोपनी क्षेत्रफल खाली भए पनि अहिले परीक्षणका लागि १० रोपनी जग्गामा मात्र बिरुवा रोप्न थालिएको हो ।
फलामखानीमा ६० हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ । उत्पादित बिरुवामध्ये झण्डै १० हजारको सङ्ख्यामा फलामखानीकै विभिन्न क्षेत्रमा खेती विस्तार गर्ने योजनासमेत गाउँपालिकाले बनाएको छ ।
फलामखानीमा पनि अहिले बिरुवा रोप्ने काम भइरहेको वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिए । उच्च पहाडी क्षेत्रमा रहेको गाउँपालिकाका सबैजसो वडामा चियाखेतीको सम्भावना छ ।
गाउँपालिकालाई चियाखेतीबाट आत्मनिर्भर बनाउने उद्देश्यले चिया प्राधिकरण नै बनाएर निजी तथा साझेदारी मा खेती विस्तार गर्नेसमेत गाउँपालिकाको योजना छ । रासस