काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदै आधा दर्जन हाराहारी नेताले केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।
त्यसै मेसोमा उपसभापति विमलेन्द्र निधिले पनि १४औं महाधिवेशनमा केन्द्रीय सभापति पदका लागि उम्मेदवारी दिने भएका छन् ।
त्यही प्रयोजनका लागि नयाँ बानेश्वरमा आजैबाट सम्पर्क कार्यालय खुल्ने भएको छ । करिब एक वर्ष अगाडी नै उनले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषण गरेका थिए ।
निधिले आसन्न महाधिवेशनमा सभापतिको दाबी प्रस्तुत गरेपछि काँग्रेसमा नयाँ तरंग आएको छ । कांग्रेसको १४औँ महाधिवेशन राष्ट्रलाई नयाँ युगमा प्रवेश गराउने अवसर पनि हो र चुनौती पनि भन्ने भन्ने धारणा भएका कांग्रेसजनले उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन् ।
र, निधि आफैंले समेत सोहीअनुसार गृहकार्य गरिरहेको बुझिएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा रहने सम्पर्क कार्यालयको निधिले भदौ ११ गते उद्घाटन गरेका छन् ।
नेपालमा अहिंसावादी आन्दोलनका प्रणेता महेन्द्रनारायण निधि र प्रेमसागरी देवी निधिका कान्छा सुपुत्र विमलेन्द्र निधिको जन्म २०१२ साल आश्विन १२ गते धनुषा जिल्लाको नगराइनमा भएको हो ।
उनी २०२५ सालदेखि नेविसंघको राजनीतिमा आवद्ध भई २०३६ सालदेखि २०३९ सालसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए । पटक पटक गरी झन्डै ६ वर्ष जेलमा विताएका निधि वैचारिक नेताका रुपमा चिनिन्छन् ।
अहिलेसम्म करिब आधा दर्जन नेताहरुले भावी सभापतिमा दाबी गरिरहँदा निधिको उम्मेदवारी स्वभाविक मानिन्छ । निधिले के कारणले म सभापतिमा उठ्नुपर्छ वा नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने केही आधारसहित उम्मेदवारी दिन खोजेको देखिएको छ ।