काठमाडौं । कोरोना महामारीले अर्थतन्त्रमा नराम्रो असर परेका बेलामा ई–कमर्श व्यवसायको कारोबारमा भने राम्रो फस्टाएको देखिन्छ । कोभिड महामारीले देशव्यापीरुपमा लागू भएको लकडाउनका कारण उपभोक्तामा ई–कमर्शतर्फ आकर्षक बढेको तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा अनलाइन प्लेटफर्म ई–कमर्शमा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो एक वर्षको तथ्यांक अनुसार उपभोक्ताहरुले १३ लाख ४५ हजार ३६४ पटक ई–कमर्श प्लेटफर्ममार्फत् कारोबार गरेका छन् ।
जसमा ८ अर्ब ६४ करोड ३९ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कोरोना महामारीका कारण जनजीवन घरभित्रै सीमित हुँदा ई–कमर्शमा कारोबार गर्नेको संख्या बढेको थियो ।
उपभोक्ताहरुले खाद्यान्नदेखि कपडा, होमअप्लायन्स, ग्याजेटलगायतका विभिन्न सामानहरु अनलाइनमार्फत् नै खरिदमा आकर्षित भएका थिए । मासिन न्यूनतम १६ करोडदेखि १ अर्ब रुपैयाँबढीसम्म ई–कमर्शमार्फत् कारोबार भएको देखिएको छ ।