तिहार नजिकिएसँगै माला उन्दै वनमाला

आजभोलि

काठमाडौं । तिहार नजिकिँदै छ । बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ ।

बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका वनमाला । विगतमा वनमालाले मात्रै व्यावसायिक फूलखेती गर्दै आएपनि यसबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला केही वर्षदेखि वनमाला बाहेकका अरु जातजातिले पनि फूलखेती गर्न थालेका छन् ।

वर्षौदेखि पुख्र्यौली पेसाको रुपमा फूलखेती गर्दैआएका स्थानीयवासी श्याम वनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ हुने बताउँछन् । धेरैवर्ष यहाँ वनमालाले मात्रै फूलखेती गर्ने गरेको भए पनि अहिले धेरैले फूलखेती गर्न थालेकाले वनमालाको आम्दानीलाई असर नपरेको उहाँ बताउनुहुन्छ ।

पुख्र्यौली पेसाकै रुपमा फूलखेती गर्दै आएकी पार्वती वनमाला आफ्ना बाजे ससुराको पालादेखिनै फूलखेती गर्दै आएको थाहा पाएको बताउनुहुन्छ । कतिपय वनमालाले फूलखेती छाडे पनि धेरैले भने गरिरहेको बताउदै उहाँले १५ वर्ष अगाडिसम्म यहाँ वनमालाले मात्रै फूलखेती गर्ने भएकाले फूल र माला खोज्न वनमालाको घरमा टाढाटाढादेखि आउने गरेको बताउँछन् ।

विगत १० वर्षदेखि मखमली फूलको खेती गर्दै आउनुभएका स्थानीयवासी शोभा बालाले यहाँ दुईआना जग्गामा फूलखेती गर्नेले पनि एक सिजनमा ३० हजार कमाउने गरेको बताउनुहुन्छ । राम्रोसँग फूलखेती गर्न सके एक रोपनी जग्गामा ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ ।

भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए यहाँ अहिलेको भन्दा दोब्बर आम्दानी हुने र धेरै किसानले विदेशिनु नपर्ने उहाँको तर्क छ । रोजगारीका लागि मलेसिया गएका श्रीमान्लाई नेपाल फर्काएर विगत चारवर्षदेखि श्रीमान्ले पनि फूलखेतीमै साथ दिएपछि विदेशमा भन्दा राम्रो कमाइ भएको उहाँ बताउनुहुन्छ ।

स्थानीयवासी सन्तमाया बालाले पनि यसवर्ष रु ८२ हजारको माला उत्पादन गर्नुभएको छ । उहाँले भन्नुभयो, “घरघरमै फूलको माला लिन आउनेलाई ४२ हजारको माला बेचियो, अझै ४५ हजार जतिको माला तयार छ, केही दिनमै बिक्री हुन्छ ।” मखमली फूलको खेती गर्ने जग्गामा मकै र भटमाससमेत उत्पादन गर्न सकिने भएपछि किसानले एउटै सिजनमा एउटै जग्गाबाट दोहोरो आम्दानी हुनेभएकाले यसतर्फ आकर्षण बढेको हो ।

बाला गाउँकै दीलमाया बालाले आधा रोपनी जग्गामा गरेको मखमली फूलबाट रु ४० हजार आम्दानी गरेको बताउनुभयो । किसानले बजारमा आफैले माला लैजाँदा एउटा मालाको ४० देखि १०० रुपैयासम्म बिक्री गर्न सक्छन् भने गाउँमै लिन आउने व्यापारीले भने एउटा मालाको रु २५ देखि ३५ रुपैयासम्म दिने गरेका छन् ।

नजिकिँदै गरेको तिहारका लागि आवश्यकपर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त स्थानीय बासिन्दा मखमली फूलबाटै मनग्ये आम्दामी गर्न थालेका हुन् । पाँच वर्ष कतारमा र सात वर्ष मलेसिया बसेर स्वदेश फर्किएका स्थानीय युवा अहिले विदेशिन छाडेर फूलखेतीमै रमाउन थालेको शोभा बताउनुहुन्छ ।

फूलखेतीमा रोग लाग्न थालेपछि भने किसानले फूलमा औषधि राख्न थालेका छन् । एक रोपनी जग्गामा फूलखेती गर्दा करिब २५ हजार खर्च हुन्छ, भने आम्दानी रु एक लाखसम्मको हुने गरेको छ । धान खेतमा चौगुणा आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । फूल र माला खोज्दै गाउँमै उपत्यकादेखि पोखरासम्मका व्यापारी आउने गरेपछि बजारको अभाव पनि छैन ।

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !