सौर्य एयरलायन्सले विराटनगर–भैरहवा सीधा हवाई उडान गर्ने

आजभोलि

काठमाडौं । सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ ।

एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाई यात्रुको माग र मुलुकको पर्यटन प्रवद्र्धनका लागि प्राथमिकताका कारण कम्पनीले ती दुई शहरबीच सीधा उडान गर्ने निर्णय गरेको राससलाई बताउनुभयो । विराटनगर प्रदेश नं १ को राजधानी हो भने भैरहवा भर्खरै अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति भएको बुद्ध जन्मस्थल नजिकको शहर हो । यी शहरबीच यसअघि सीधा हवाई उडान थिएन ।

यी दुई शहरबीच हवाई यात्राका लागि ५३ मिनेट लाग्ने र यसको दूरी २१५ नटिकल माइल रहेको एयरलायन्सका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । विराटनगर र भैरहवाबीच हवाई उडान गर्ने पहिलो सौर्य एयरलायन्स भएको र यसबाट प्रदेश नं १ र लुम्बिनी प्रदेशका बासिन्दा लाभान्वित हुने उहाँले बताए ।

लुम्बिनीमा भगवान गौतमबुद्ध जन्मस्थलको भ्रमणमा बर्सेनि पूर्वी नेपालको काँकडभिट्टा र विराटनगरबाट हजारौँ भारतीय, भूटानी र म्यानमारका पर्यटक भित्रिने गरेका छन् । उनीहरु यसअघि हवाईमार्गबाट काठमाडौँ पुगेर कम्तीमा तीन घण्टा पर्खेर फेरि अर्को जहाँजबाट भैरहवा पुग्ने गरेका थिए ।

“अब त्यो बाध्यता हट्यो, विदेशी पर्यटक र स्वदेशी यात्रुहरु सीधा उडानबाट भैरहवा पुग्न र त्यहाँबाट विराटनगर आउन सक्नुहुन्छ”, एयरलायन्सका अध्यक्ष पोखरेलले भन्नुभयो, “यात्रु महानुभावको समय र लागत दुवै बचत हुन्छ ।” विगत आठ वर्षदेखि सौर्य एयरलायन्सले नेपालमा आन्तरिक हवाई उडान सञ्चालन गर्दै आएको छ । सीआरजे २०० जेट विमान नेपालमा भित्र्याउने श्रेय पनि उसैलाई जान्छ । धेरै उचाइबाट उड्ने भएको हुँदा जेट विमानको यात्रा सस्तो, छिटो र सुरक्षित हुने उहाँको दावी छ ।

कम्पनीले निकट भविष्यमा नेपालगञ्ज र राजविराज विमानस्थलमा समेत उडान थप्ने जनाएको छ । हाल एयरलायन्ससँग ५० सिट क्षमताका तीनवटा जेट विमान छन् । तीमध्ये एउटा मर्मतसम्भारको अन्तिम चरणमा रहेको र दुई जहाज नियमित उडानको क्रममा रहेका छन् । एयरलायन्सले अहिले काठमाडाँैबाट विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दोहोरो उडान गरिरहेको छ ।

 

  • १८ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !