राष्ट्रिय एकता दिवस एवं ३००औं बडामहाराजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको शुभकामना
तीन शताव्दी अगाडि जब नेपालमा पृथ्वीनारायण शाहको जन्म भएको थियो त्यसको ५ महिना पछि विश्व विख्यात राजनैतिक अर्थशास्त्री एडम स्मिथको जन्म भएको थियो । पृथ्वीनारायणले जब बाबुसंग राजनीति सिक्दैं कुटनैतिक प्रयास स्वरुप भक्तपुरका युवराजसंग मितेरी गाँस्दै थिए, एडम स्मिथ भने ग्लास्गो यूनिवर्सिटीमा प्रोफेसर भइसकेका थिए । केही वर्ष अगाडिबाट बेलायत सरकारले बेलायती २० पाउण्डको नोटमा उनको तस्विर राखेर सम्मान गरेको छ । तर हाम्रो देश नेपालमा पृथ्वीनारायण शाह जसले साना साना टुक्रे राज्यलाई एक गरेर सिंगो नेपाल बनाए, उनको सम्मानमा कागजी नोटमा तस्विर राख्न त परको कुरा उनको जन्मजयन्ती पनि सरकारी तवरबाट मनाउन चाहेको छैन ।
पृथ्वीनारायण शाहको समय कालमा स्वतन्त्र राष्ट्रको रुपमा अमेरिकाको जन्म भएकै थिएन । जुन बेला पृथ्वीनारायण शाहले किर्तिपुर आक्रमणको तैयारी गर्दै थिए । त्यति बेला जर्ज वाशिंगटनको नेतृत्वमा अमेरिका स्वतन्त्रताको लडाइ लड्दै थियो । त्यस अगाडि फ्रान्सेली तथा बेलायती साम्राज्यको खेलमा अमेरिका टुक्रा टुक्रा थियो । पृथ्वीनारायण शाहको मृत्युको समय तिर जर्ज वाशिंगटनले पहिलो सफलता हासिल गर्दै फिलाडेल्फियामा बसेर संयुक्त राज्य अमेरिकाको घोषणा गरेका थिए । अमेरिका स्वतन्त्र भएर जर्ज वाशिंगटन पहिलो राष्ट्रपति बन्दा सम्म त नेपालको एकिकरण अभियानमा अधिराजकुमार बहादुर शाह अगाडि बढेर बिशाल नेपाल बनाइसकेका थिए ।
तीन सय वर्षको अवधीमा अमेरिका विश्वको प्रमुख राष्ट्रमा पुग्न सफल भयो तर हामी अझै एक अर्कालाई गाली गर्दै र एक अर्काको खुट्टा तान्दै आनन्दित भइरहेका छौ । हाम्रो इतिहास कति पुरानो छ । हाम्रो संस्कृति कति बलियो छ । हाम्रो संस्कार कति गहन छ । तर हामी कुवाको भ्यागुतो झै माथि कसैलाई पुग्न नै दिदैनौ, तानेर खसाली हाल्छौ । यो केवल राजनीतिमा मात्र होइन । यो सबै ठाउँमा लागु हुन्छ । आफू अगाडि बढ्न सबैको साथ होइन हामी अरुको पतनलाई सर्वस्विकार्य मान्दछौ । अरुलाई खसाल्न पाए त्यहाँ म पुग्थे भन्ने मानसिकतामा ग्रसित छौ । जसले गर्दा आज कसैलाई तल खसाल्न तल्लिन हामी, भोली हामीलाई तल खसाल्न अर्को तैयार भएर बसेको हुन्छ ।
मल्लकालका समृद्धीलाई बिर्सिएर उपत्यकाका नेवारलाई गाली गर्न थाल्यौ । राणाकालका बैदेशिक नीति र बिकासका खाकाहरुलाई बिर्सिएर राणाका मोज र महललाई मात्र देख्यौ । तर अहिले चन्द्रशमेशरले बनाएको सिंहदरवारमा बसेर देश हाँक्दैछौ र कृष्णशम्शेरले सित्तैमा दिएर गएको शितल निवासमा राष्ट्रपतिलाई राखेर देशको अस्तित्वको खाका बुन्दैछौ । पृथ्वीनारायण शाहको एकिकरणले नेपाली हुन पाएको बिर्सिएर शाहकालिन इतिहासलाई गालि गर्न छोड्दैनौ । लडाइमा एक पक्षको हार हुन्छ अर्को पक्षको जित हुन्छ । जित्नेको इतिहास लेखिन्छ । हार्नेलाई बिर्सन थाल्दछौ । इतिहास पल्टाएर हेर्यौ भने पृथ्वीनारायण शाहको एकिकरण अभियानमा हजारौको मृत्यु भयो । तर एक सिङ्गो नेपालको रुपमा आज नेपाली हुन पायौ । अन्यथा बाइसे चौबिसेको अस्तित्व बेलायती साम्राज्य भित्र बिलाउने थियो ।
पृथ्वीनारायणको शालिक तोडेर वा छ्याक: ल्वहंमा थुक्दैमा इतिहास मेटिदैन । छ्याक: ल्वहंमा थुक्ने किर्तिपुरवासीको आक्रोश हो यसलाई बन्देज लगाउनु हुदैन । बरु कीर्तिलक्ष्मीलाई पनि राज्यले सम्मान गरोस भनेर भन्नु आबश्यक थियो । हार भए पनि किर्तिपुरकी कीर्तिलक्ष्मी विरांगना थिइन ।
शाहवंशका सबै राजा राम्रा थिए भनेर कसैले पनि मानेका छैनन् । हाम्रो परिवार भित्र पनि कहिले काँही एकदुइ पटमुर्ख निस्कन्छन् । त्यसो भयो भन्दैमा शाह राजा सबैलाई गाली गर्नु मनासिव हुदैन । पृथ्वीनारायण शाह आफैले पनि आफ्नो जेठा छोरा सहि नभएको राजा हुन योग्य नभएको भन्ने आभास पाएका थिए । तर पनि कान्छो छोरा बहादुर शाहलाई युवराज घोषणा गर्ने आँट गर्न सकेनन् । जसले गर्दा उनको मृत्यु पछि राजा बनेका प्रतापसिंह शाहको राजकाज गतिशिल हुन सकेन । यस्तैमा केवल २६ वर्षकै उमेरमा क्षयरोगबाट उनको मृत्यु भयो । त्यसपछि राजा बनेका रणबहादुर शाह पनि गतिला भएनन् ।
आखिर जे जसरी हामीले सोचे पनि नेपाल भन्ने सिंगो राज्यको परिकल्पना गर्ने र एकिकरण गरेर हामीलाई नेपाली बनाउने पृथ्वीनारायण शाह नै हुन् । देशले उनको योगदाको कदर गर्ने पर्छ ।
पृथ्वीनारायण शाह वास्तवमा कस्ता थिए भन्ने उनको तस्विर भेटिदैन तर उनि जिवित हुदै गढवाली चित्रकार मौलारामले कोरिदिएको उनको चित्र नै पहिलो र एक मात्र चित्र हो ।
आखिर को हुन् त मौलाराम र किन मौलारामले पृथ्वीनारायणको चित्र कोरे ।
मुगल शासक शाहजहाँको शासनकाल (सन १६२८-१६५८) जुनबेला दिल्ली तथा आगरामा थियो । त्यसबेला पृथ्वीनारायण शाहका बुढा जिजु हजुर बाजे रामशाहको शासनकाल (सन १६०६-१६३३)को करिव करिव अन्तिम समय थियो । त्यसपछि गोर्खामा राजाहरुको छोटो शासनकालहरु भेटिन्छ । जसमा डम्बर शाह, कृष्ण शाह र रुद्र शाहको समयकालसम्म पनि शाहजहाँ मुगल सम्राट नै थिए । जुनबेला आगरामा ताजमहल बन्दै थियो, गोरखामा डम्बर शाह र कृष्ण शाहको शासनकाल चलिरहेको थियो । यिनै शाहजहाँको मृत्यु पछि राजा बनेका उनका छोरा औरंगजेबको समयमा दिल्ली दरवारबाट भागेर तीन चित्रकार गढवाल पुगेका थिए । यसरी मुगल साम्राज्यबाट भागेर गढवाल पुगेका हरदासको नाति नै मौलाराम हुन् । मौलारामलाई अहिले विश्वविख्यात भएको गढवाली चित्रकारिताको जन्मदाता मानिन्छ । यिनै मौलारामले कोरेको पृथ्वीनारायण शाहको चित्रमा पनि केही गन्ध गढवाली शैलीको आएको देखिन्छ । त्यतिबेलाका चित्रकारितामा दुइ शैली प्रख्यात थिए कांगडा शैली र गढवाली शैली । कांगडा शैलीमा अनुहारको आकारमा निधार देखि नाकसम्म सिधा धर्सो हुन्थ्यो भने चिउडोबाट घाँटीसम्म पनि सिधा धर्सो तानिन्थ्यो । जसले गर्दा अनुहार चारपाटे देखिन्थ्यो । तर गढवालीशैलीमा भने निधारबाट नाकसम्ममा बिचमा केही गहिराइ हुन्थ्यो । साथै चिउडोबाट गलामा पनि केही घुमाउरो हुन्थ्यो ।
चित्रमा देखिने हातमा फूल लिने तथा बसाइशैली भने मुगलशैली थियो । शिरमा लगाइएको श्रीपेच भने गोरखाधिपतिको श्रीपेच नै थियो । यो चित्र कोर्नको लागि गढवालबाट नै मौलारामलाई बोलाइएको आभास हुन्छ । मौलारामको जन्म सन १७४० मा भएको हुँदा यो चित्र कोरिएको समयमा पृथ्वीनारायण शाहले उपत्यका विजय गरिसकेको हुनुपर्छ । पछि यहि चित्रको आधारमा राजा महेन्द्रको शासनकालमा बिसं २०२५ सालमा नेपाली चित्रकार केके कर्माचार्यले फूलको ठाउँमा दाहिने हातको चोर औलालाई सिधा ठड्याएर एकताको प्रतिक चित्र बनाए । जुन चित्र हुलाक टिकटमा प्रयोग भएको थियो । नेपाल एकिकरणको जनकको रुपमा औला ठड्याइएको तस्विर नै अहिले सर्वत्र देखिन्छ । राजा महेन्द्रको शासनकालमा नै अमर चित्रकारलाई नेपालका राजाहरुको चित्र कोर्ने जिम्मा लगाइयो । यसरी चित्र कोर्ने क्रममा अमर चित्रकारले बालकृष्ण समको सरसल्लाहमा आज बिभिन्न मुर्ति तथा चित्रमा देखिने उभिएका पृथ्वीनारायण शाहको तस्विर कोरेका थिए ।