चुनावको मुखमा विपन्नलाई लोभ्याउँदै उम्मेदवारहरु

आजभोलि

काठमाडौं । ३० गते हुने स्थानीय चुनावका लागि उम्मेदवार मत माग्न घरघरै डुलिरहेका छन् ।उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भैसकेको छ । केही दिनपछि मौन अवधि सुरु हुन्छ । अहिले सरकारदेखि सार्वजनिक निकायमा कार्यरत सबै संघ संस्था र कर्मचारीलाई आचारसंहिता लागू भइसकेको छ । तर, आचारसंहिता विपरित पोखरा महानगरले भने विपन्न परिवार लक्षित सहयोग वितरणको तयारी थालेको छ । ९ महिना अघि नाम संकलन गरेर ‘होल्ड’ मा राखेको पोखराले मतदानको मुखमा आएर फाइल फुकाएको हो । करिब १४ सय परिवारलाई महानगरले १० हजारका दरले रकम वितरण गर्न लागेको बताएको छ ।

१ हजार ३ सय ४६ जनाको नाममा अहिले महानगरले दावी विरोधका लागि वडामा पठाइको हो । दावी विरोधका लागि सूचना निकालिएको र लाभग्राहीलाई खाता खोल्न भनिएको छ । अहिले एनआईसी एसिया बैंकले वडावडामा पुगेर खाता खोलिरहेको छ । वैशाख ९ गते कोभिड १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार हस्तान्तरण रकम प्राप्त गर्ने लाभग्राहीको दावी विरोध सम्बन्धी सूचना निकालेको थियो । त्यसपछि खाता खोल्ने प्रक्रिया अहिले चलिरहेको छ ।

सबैभन्दा बढी लाभग्राही एमालेले जितेका वडाबाट छनोट भएका छन् । वडा नम्बर १३ मा मात्रै ७ सय १३ जनाको नाम पठाईएको छ । अधिकांश एमालेले जितेका वडाबाट लाभग्राही छनोट गरिएको छ । वडा नम्बर १५ मा १ सय ६६ जना, १९ मा ८४ जना, १७ मा ६४ जना, १६ मा ६० जना, २२ मा ७९ जनाको नाम छ । यस्तै, २८ मा ४४ जना, २४ का २०, २९ का २३ जना, २१ मा ९ जना, ८ का दुई जना र २५ मा १ जनाले रकम पाउँदै छन् । कांग्रेसले जितेका केही वडा पनि समेटिएका छन् । तर लाभग्राही निकै कम छन् । सबैभन्दा धेरै लाभग्राही वडा नम्बर १२ मा ३२ जना छन् भने २ मा १७ जना, ९ का १४ जना, ३ र १० का ५÷५ जना तथा ३२ को १ जनाले रकम पाउने छन् ।

महानगरका सूचना अधिकारी भरतराज पौडेलले नगद बाँड्ने कुरामा चुनाव नजोडिएको बताए । ‘प्रक्रिया पहिलेदेखि नै चलिरहेको थियो । संयोगले अहिले नाम प्रकाशन भयो । खाता खोल्ने समय अहिले नै मिल्यो,’ उनी भन्छन्, ‘छिटो खाता नम्बर पठाउन नसके रकम फ्रिज हुन सक्छ । त्यसैले हतार गरिएको हो ।’ उनले आचारसंहिताका विषय जोडिएकोले केही परिमार्जन गर्नुपर्ने बताएका छन् । ‘अहिले नै पैसा बाँडिहाल्ने त होईन । हामीले खाता खोलेर माथी पठाउनुपर्छ,’ अघि भन्छन्, ‘खासै समस्या छैन । विरोध आएपछि सचेत हुनैपर्यो ।’

यो कार्यक्रम संघ सरकारको हो । लाभग्राहीको छनोट गर्न उपमेयरको संयोजकत्वमा समिति गठन भएको छ । अहिले उपमेयर नभए पनि कार्यक्रम भने रोकिएको छैन । विपक्षीहरुले भने महानगरले चुनावका बेला पैसा देखाएर मत प्रभाव पार्न खोजेको आरोप लगाएका छन् । कांग्रेस सभापति किशोरदत्त बरालले काम राम्रो भएपनि सही समय नभएको बताए । ‘विपन्नले सहयोग पाउनुपर्नेमा हाम्रो कुनै विरोध छैन । सहयोग गर्छौं,’ उनी भन्छन्, ‘तर चुनावको आचार संहिता लाग्नु अघि गर्नुपर्ने हो । अब चुनावपछि गरे हुन्छ ।’ यसबारे विपक्षीले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई समेत जानकारी गराइसकेका छन् ।

  • २३ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !