काठमाडौं । अाज भएको विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले युएईलाई ४ विकेटले पराजित गर्दै शानदार विजय हासिल गरेको छ । नेपाली टीमका कप्तान पारस खड्काको अर्ध शतसँगै नेपालले युएईलाई पराजित गरेको हो ।
नामिबियाको विन्डहोक क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपाललाई युएईले १ सय १५ रनको लक्ष्य दिएको थियो।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ५१ रन प्रहार गरेका थिए । खेलमा आरिफ शेखले १६ रन, रोहितकुमार पौडेलले १२ रन, सोमपाल कामीले १० रन जोडेका थिए । नेपालका अन्य ब्याट्सम्यानले दोहरो अंक छुन सकेनन्।
नेपालका लागि सोमपाल कामीले ४, सन्दीप लामिछानेले ३ र कप्तान पारस खड्काले २ विकेट लिएका थिए भने करन केसीले १ विकेट लिएका थिए ।
युएईका लागि मोहम्मद नावी र अमिर हायातले २–२ विकेट लिएका थिए । त्यस्तै रोहन मुस्तफा र सहिमन अनवरले १–१ विकेट लिएका थिए ।
नेपालका बलरसामु युएई पूरा ओभर नखेली ३१ ओभरमा नै अल आउट भएको थियो। युएईका लागि सहिमन अनवरले सर्वाधिक ३० रन बनाएका थिए ।
यो जीतसँगै नेपाल समूहको शीर्ष २ मा पुगेको छ । ३ खेलमा तीनवटैमा विजय हासिल गरेको क्यानाडा समूहको शीर्ष स्थानमा रहेको छ । शीर्ष दुईमा रहन सफल हुने टोली बढुवा भएर आइसीसी क्रिकेट वर्ल्डकप २०१८ को क्वालिफायरमा सहभागि हुन पाउनेछन्।
लिग चरणका खेलबाट शीर्ष २ भित्र पर्न सफल भएमा नेपाल विश्वकप क्रिकेट छनोटमा सहभागि हुनेछ ।
नेपालले सोमबार केन्या र बुधबार लिगको अन्तिम खेल क्यानडासँग खेल्नेछ।