कर्णाली प्रदेशसभाको पहिलो बैठक : ‘गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता’

आजभोलि

काठमाडौं । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले कर्णालीको गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले जुनसुकै राजनीतिक दलबाट जितेर आए पनि यहाँको गरिबी, भोक, रोग र अशिक्षाविरुद्ध एक भएर अगाडि बढ्नुपर्ने जोड दिएका हुन् ।

बैठकमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले कर्णालीमा दल वा सरकारविरुद्ध नभई निर्वाचित सबै जनप्रतिनिधिहरूले सबै खाले चुनौतीसँग जुध्नु आजको आवश्यकता रहेको जनाए ।

प्रदेश निर्माणमा अरूलाई दोष दिने छुट नभएकाले विधायकहरूले राम्रो ऐन, कानून बनाउनुपर्नेमा जोड दिँदै उहाँले जननिर्वाचित ज्येष्ठ सदस्यसहित सबै प्रदेशसभा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले गएको कार्यकालले जग बसालिसकेकाले यो कार्यकाललाई अझ बढी परिणाममुखी र सुदृढ गरेर लैजान एकमत हुनुपर्ने बताए । कर्णालीमा विकास गर्नेभन्दा खाने मनोविज्ञान भएकाले अब सही सन्देश दिनुपर्ने भन्दै नवनिर्वाचित प्रदेशसभा सदस्यलाई बधाई तथा मतदातालाई धन्यवाद ज्ञापन गरे ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले जनताप्रति जवाफदेही भएर जनयुद्ध, जनआन्दोलन र विभिन्न कालखण्डको परिवर्तनबाट आएको व्यवस्थाको संरक्षण आजको नेतृत्वले गर्नुपर्ने बताए ।

गरिबीविरुद्ध लड्न साझा अवधारणा आवश्यक भएको बताएका उनले जनताको अभिमत र अमूल्य योगदानबाट आज यो व्यवस्थामा निर्वाचित हुन सकिएको भन्दै मतदातालाई धन्यवाद र प्रदेशसभा सदस्यहरूलाई बधाई ज्ञापन गरे ।

राप्रपा नेपालका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाही, नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य कल्याणी खड्का र स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्र शाहीले कर्णाली प्रदेशको शान्ति, विकास र समृद्धिका लागि समन्वय, सहकार्य र ऐक्यबद्धता आवश्यक भएको बताएका थिए ।

ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभा सञ्चालनका क्रममा कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ११ को उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने प्रयोजनका लागि हिक्मत विष्ट, भीमप्रकाश शर्मा र जितबहादुर मल्ललाई मनोनयनको प्रस्ताव गरे । सो प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको थियो । प्रदेशसभाको अर्को बैठक यही पुस २५ गते दिउसो १ बजे बस्नेछ ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !