बजेट कार्यान्वयन निराशाजनक

आजभोलि

काठमाडौँ । पूर्वाधार विकास कार्यालय नुवाकोटको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ ।

नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको उक्त कार्यालयले आफ्नो कार्यक्षेत्रका चार सय ५६ योजना कार्यान्वयनका क्रममा चालू आर्थिक वर्षको आधा समय पूरा हुन लाग्दा पूँजीगत बजेट बल्ल १२ प्रतिशत खर्च गरेको छ ।

चालू आवमा करिब रु दुई अर्ब बजेट प्राप्त भएर साढे चार सय योजना कार्यान्वयन गराउनुपर्नेमा रु २२ करोड अर्थात् १२ प्रतिशत मात्रै खर्च भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार बज्राचार्यले जानकारी दिए । उनका अनुसार केही उपभोक्ता समितिमार्फत योजना पूरा भएको छ भने अधिकांश योजना कार्यान्वयनको चरणमा रहेकाले प्रगति निराश देखिएको हो ।

“आर्थिक वर्षको सुरुआतको समयमा निरन्तरको वर्षा, त्यसलगत्तै चाडपर्व, चुनावी गतिविधि र आचारसंहिताको कारण कामलाई गति दिन समस्या भयो”, उनले भने, “अधिकांश योजना उपभोक्ता समितिमार्फत गर्नुपर्ने भएकाले उनीहरुमा चासो कम र कार्यालयमा न्यून कर्मचारी भएका कारण लक्ष्य अनुसारको प्रगति हासिल गर्न सकिएन ।”

सडकसहित पक्की र झोलुङ्गे पुल निर्माणका लागि कार्यान्वयनमा रहेका तेह्रवटा बहुवर्षीयसहित थप आएका समेत चार सय ५६ योजनाका लागि चालू आवमा रु एक अर्ब ९५ करोड बजेट कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी कार्यालयको थियो ।

उक्त बजेट तथा योजनामध्ये केही धादिङको योजनासमेत समावेश भएको र केही सडकको दायित्व सडक डिभिजन नुवाकोटतर्फ स्थानन्तरण भएसँगै कार्यालयले यो वर्ष नुवाकोट र रसुवामा रु एक अर्ब ८४ करोड ५० लाख बजेट कार्यान्वयनको जिम्मेवारी पाएको छ ।

प्रादेशिक कार्यालय भए पनि पूर्वाधार विकास कार्यालयले सङ्घीय ससर्त अनुदानको बजेट कार्यान्वयनदेखि स्थानीयतहसँगको साझेदारीमा उपभोक्ता समितिमार्फत समेत साझेदारी गर्दै आइरहेको छ ।

कार्यालयको कूल योजना चार सय ५६ मध्ये तीन सय ५० भन्दा बढी रु ५० लाखभन्दा कम बजेट भएकाले उपभोक्ता समितिमार्फत काम गराउन लागिएको हो । नुवाकोट र रसुवाका लागि ससाना लागतको सडक निर्माण तथा स्तरोन्नतिसहित पक्की र झोलुङ्गे पुलको निर्माण एवम् मर्मतसम्भार कार्यालयको कार्यक्षेत्रमा पर्दछ ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !