नव गायिका दीक्षाको सपना(भिडियो सहित)

आजभोलि

जीवनको लक्ष्य खोज्दै गर्दा हामीले सुनेको एउटा चर्चित लोकोक्ति छ सपना सजाएर निदाउने गर्नुहोस्, तबमात्र आशा र जाँगर लिएर ब्युँझन सकिन्छ । यसको मतलब मान्छेले सपना नदेखी जीवनको लक्ष्य फेला पार्न सक्दैन । जीवनलाई सफल गन्तव्यमा पुर्‍याउनु छ भने योजना बनाउनु पर्छ । के गर्दा के हुन सक्छ ? कल्पना गर्नुपर्छ अनि त्यो कल्पना भन्दा बढी कर्म गर्नुुपर्छ ।

प्रेममा धोका खाएका मानिस कवि हुन्छन् भन्नुको मतलब उनीहरुको भोगाई नै त्यसैमा थियो । उनीहरुले प्राप्तिका लागि प्रेम गरे तर जोगाउनका लागि कर्म गरेनन् । जसले गर्दा हिजोका प्रेमीहरु त्यहाँ असफल बनेपछि कवि बनेर आफ्ना बेदना पोखिरहेका छन् ।

जीवनका लक्ष्यहरु नदेखिनुको अर्थ जीवन लक्ष्यविहीन हुनु होइन, जबसम्म काम समाप्त हुँदैन तबसम्म त्यो असम्भव नै लाग्दछ । तर, जसले सपना देख्छ र त्यसैलाई जीवन मार्गको सहयात्री बनाएर निरन्तर कर्म गर्छ उ कहिल्यै असफल बन्दैन । कर्म मानिसको निजी प्रकाश हो र सफलताको शुत्र पनि । किनभने आफैंभित्रबाट चम्कने प्रकाशलाई निभाउन होइन, कसैले मधुरो पनि बनाउन सक्दैन ।

अभावको भोगाइ आगो हो, आगोले पोल्छ अनि पोलेपछि प्रतिक्रिया निस्किन्छ । त्यही एउटा अभावरुपी आगोको लप्काको पोलाईले निस्किएको प्रतिक्रिया लिएर नेपाली सांगीतिक क्षेत्रमा सफल हुने सपना सजाएर उदाउन खोजेकी नव कलाकार हुन् दीक्षा रसाईली ।

हुनलाई उनको जीवनले यतिबेला १३ औं वसन्तको पाइला चाल्दैछ । जीवनको मार्ग निर्माणमा उनी काँचो माटो हुन् । काँचो माटोबाट जस्तो आकार वा जे मा प्रयोग गर्ने सामाग्री बनाउन चाहयो त्यही बन्ने हो । दीक्षा पनि अहिले त्यस्तै अवस्थामा छिन् ।

मुर्तिकारले कुरुप ढुंगालाई कुँदेर सुन्दर मुर्ति बनाउन सक्छ । आफू सुन्दर मुर्ति बनेर मानिसहरुले पूजा गर्न लायक हुने बेलासम्म कैयौं चोट पाइसकेको हुन्छ । ती नै चोटले बनेको मुर्तिलाई भगवानको स्वरुपमा समाजले पूजा गर्छ ।

दीक्षाले मुर्ति बन्ने लक्ष्य बोकेकी होइनन् । नत उनलाई अरुले पूजा नै गरुन् भन्ने छ । मात्र यतिबेला सपना सजाएकी छिन् सफल गायिका बन्ने । उनलाई यो बेला जीवनमार्गमा डोहोर्‍याइरहेकी जन्मदिने आमा कृष्णकुमारी रसाइलीको दुइवटै मृगौलाले काम गर्न छोडेका छन् । झापाको कन्काइ नगरपालिका बडा नं. ६ स्थित श्री चम्पापुर माध्यमिक विद्यालयमा भर्खर आठ कक्षामा पढ्दै गरेकी दीक्षाकी आमाको त्यो अवस्था अनि गाडीहरुमा डेन्टिङ पेन्टिङ गरेर  प्राप्त भएको कमाइले आफूसहित आफ्नी बहिनीको सुन्दर भविष्यको सपना देखिरहेका बाबु तेजबहादुर रसाईलीको परिश्रम देख्दा दीक्षाले आफूलाई जसरी पनि सफल बन्नै पर्ने वाध्यात्मक बाटोको यात्री बनाइसकेकी छिन् ।

उनी आफ्नो पढाईलाई जति निरन्तरता दिन चाहन्छिन्, त्यो भन्दा बढी उनलाई आफ्नी बहिनीलाई सफल बनाउनु छ । आमाको स्वास्थ्य अवस्थाले घरका सबै सदस्यहरुको आँखाको निँद र मनको चयन खोसिदिएको छ । घरको अभाव टार्छु र छोरीहरुको हेरविचार गर्दै असल मार्गमा हिँडाउँदै पढाउँछु भन्ने बाबुको सपना अब दुई छोरीकी आमालाई कसरी बचाउने भन्ने चिन्तामा परिणत भएको छ । बाबुलाई दुई छोरीको सफलताको लागि खबरदारी गरिरहने आमाको रहर छोरीहरुको सफलता देख्नको लागि भए पनि अलि धेरै बाँच्न पाए हुन्थ्यो भन्नेमा परिणत भएको छ ।

यो सबै अवस्थाको भुक्त भोगी बनेकी छिन् दीक्षा । हिजोसम्म एक अवोध बालिकाको रुपमा आशावादी हुने गरेकी उनलाई अब आफ्नै कर्तव्यले झस्काउन थालेको छ । आफूले रोजेको सांगीतिक साधनाले बोलाउन थालेको छ अनि पारिवारिक अवस्थाले झकझक्याउन थालेको छ । जसरी हुन्छ उनलाई अब सफल गायिका बन्नु छ ।

आफ्नो जीवनको लक्ष्यमा दीक्षाले एउटा सुरुवात गरेकी छिन् । साँच्चिकै संयोग पनि त्यस्तै बन्न पुगेको छ । उनले गाएको गीतको शिर्षकमै पनि सपना नै जाडिएको छ । नन्दु गुरुङको शब्द र ताराबीर पाण्डेको संगीतमा दीक्षाले सपना तिम्रै मात्र देख्छु बोलको पहिलो गीत गाएकी छिन् । यसै गीतबाट सांगीतिक यात्रामा होमिएको पाइलालाई थकाई मार्नै नदिई सफलताको गन्तव्य भेट्नुछ उनलाई ।

चाँडै नै बाबा, अब आमाको उपचार गर्नको लागि र बहिनीको पढाइको लागि खर्च सघाउने म पनि छु है भन्न मन छ उनलाई । अब त बहिनी पनि नर्स भएर कमाउने भइहाली, मेरो पनि कमाइ राम्रो भयो बाबा अब तपाई र आमा आराम गर्नुहोस्, बहिनी र मैले सबै व्यवहार मिलाउँछौं भन्ने दिनको आतुर प्रतिक्षा छ दीक्षालाई ।

प्रतिभावान दीक्षालाई यतिबेला दया, माया र करुणा होइन, अवसरको खाँचो छ । किनभने उनले देखेको सपनामा कर्म गर्न खोजेकी छिन् । कल्पना गरेको गन्तव्यमा आफैं हिँडेर पुग्न खोजेकी छिन् । सुन्दर र सफल जीवनको गाथा स्थापित गरेर आफैं त्यसको सर्जक बन्न चाहेकी छिन् ।

डेगिलो हिम्मत कायम राखेर अग्रसर भई सफलताको शिखरमा पुग्नको लागि दीक्षालाई हाम्रो पनि शुभकामना ।

गीतको भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् 

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !