घारखोला जलविद्युत् अयोजना निर्माण अन्तिम चरणमा

आजभोलि

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर उपकरण जडान सुरु भएको छ ।

आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले आगामी चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको भन्दै हाल बाँध, सुरुङ र पेनस्टेक पाइपलाइनको परीक्षण गर्ने तयारी भएको बताए । उनका अनुसार तीन हजार पाँच मिटर लामो सुरुङ पलास्टरको काम पनि अन्तिम चरणमा छ ।

अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिला बगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ । बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी ९डिसेन्डर० बनाइएको छ । डिसेन्डरदेखि सुरुङसम्म दुई सय ४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ । बाँध, डिसेन्डर र एप्रोच क्यानलको पहिलो चरणको परीक्षण सफल भएको छ ।

अमिला काफलमा रहेको आउटलेटदेखि विद्युतगृहसम्म चार सय ८५ मिटर पेनस्टक पाइप जडान भएको छ । आउटलेटदेखि विद्युत्गृहको दुरी एक हजार २०० मिटर र उचाइ चार सय ८५ मिटर छ । पोखरे बगरस्थित गोजेखोल्सीमा पहाड काटेर विद्युत्गृहको भवन निर्माण सकेर झ्याल ढोका राख्ने र रङगरोगन भइरहेको छ ।

विद्युतगृहमा टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकलतर्फका उपकरण जडान भइरहेको छ । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रो मेकानिकल ठेकेदार सिई हाइड्रो मेकानिकल वर्क प्रालिका प्राविधिकले विद्युत्गृहमा उपकरण जडानको काम गरिरहेका हुन् ।

सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चरले ९८ प्रतिशत भौतिक संरचना निर्माण सकेको बताएको छ । पोखरेबगरदेखि दुई सय २० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभिएको डबल सर्किट प्रशारण लाइनको पोल गाड्ने र सवस्टेशनमा सिभिल संरचना बनाएर तार तान्न थालिएको छ ।

विसं २०७४ चैत महिनादेखि सुरु भएको घारखोला विसं २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाइ भएको हो । कूल रु दुई अर्ब ४२ करोडको लागत अनुमान गरिएको आयोजनामा एनएमबि बैंकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कर्मसियल बैंकले कर्जा लगानी गरेका छन् ।

नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक शेयर लगानी आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रवर्द्धकले बताएका छन् ।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !