नर्सलाई कम पारिश्रमिक दिने संस्थाको नवीकरण हुँदैन : मन्त्री गिरी

आजभोलि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्टाफ नर्सलाई कम पारिश्रमिक दिने स्वास्थ्य सङ्स्थाको नवीकरण नगर्ने बताएका छन् । आज यहाँ नेपाल नर्सिङ सङ्घको ६१औँ वार्षिकोत्सव कार्यक्रममा उनले नर्सको तलब निकै कम भएको सुन्नमा आएको भन्दै बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सको सेवासुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने बताए ।

उनले श्रम शोषण गर्ने स्वास्थ्य संस्थालाई अनुगमन गरी कारबाही गर्नेसमेत चेतावनी दिए । मन्त्री गिरीले नर्स मैत्री नीति बनाउनका लागि सक्रिय भूमिका खेल्ने धारणा राखे ।

“नर्सका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढङ्गले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न हुन्छ र समाजमा अन्य समस्या देखिन्छ”, उनले भने, “नर्सले एउटा लेभल पास गर्छन् । मैले सुने आठ हजार दश हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । यो निकै चिन्ताको विषय हो । यसरी न्यूनतम तलब भत्ता पनि नदिइ श्रमको शोषण गर्ने कुरा कुनै पनि हालतमा ठीक हुँदैन ।”

मन्त्री गिरीले अगाडि भने, “नर्सलाई कम तलब दिने अस्पताल र निजी स्वास्थ्य संस्थाको राम्रो गरी अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ । यसमा कुनै सम्झौता हुँदैन तथ्य र प्रमाण भेटियो भने नवीकरण नगर्ने र खारेज गर्नेसम्म पनि हुनसक्छ ।”

उनले बिरामीको उपचारमा नर्सको भूमिका महत्वपूर्ण हुने भएकाले नर्सलाई राम्रो सेवा दिइनुपर्ने भनाइ राखे । “बिरामीको उपचारमा सक्रिय रहने नर्सले मुस्कानसहितको सेवा दिनुपर्छ, बिरामीलाई मुस्कानसहित भूमिका दियो भने आधा रोग आफैँ ठीक हुन्छ पनि भनिन्छ”, उनले भने, “तपाईंहरुको अनुहारमा हाँसो आवश्यक छ । तपाईंहरु हाँस्दा बिरामीले पनि राहत महसुस हुन्छ ।”

उनले सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा विद्यालयमा समेत नर्स राख्नेगरी योजना अघि बढिरहेको भन्दै यसले नर्सका लागि पनि रोजगारीका थप ढोका खुल्ने बताए । “मैले मन्त्री भएपछि पहिलो निर्णय न्यूनतम स्वास्थ्य सेवा मापदण्ड कार्यान्वयन गर्ने विषयमा हस्ताक्षर गरेको छु । नर्स र बिरामीको कुरा त्यसैमा पर्छ”, उनले भने । नेपालका दक्ष नर्सले राम्रो सेवासुविधा पाएर विदेशमा रोजगारी गर्नु सकारात्मक कुरा भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल नर्सिङ सङ्घका अध्यक्ष मनकुमारी राईले नेपालमा नर्सको योग्यता, दक्षताअनुसार पारिश्रमिक नभएको बताए । उनले नेपालामा न्यून पारिश्रमिक भएकाले नर्स विदेश जान थालेकोसमेत बताए । नेपालमा अहिले सरकारी तथा निजी स्वास्थ्य संस्थामा करिब १० हजार नर्स कार्यरत छन् । आज ज्येष्ठ नागरिक स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी भन्ने नाराका साथ नर्सिङ दिवस मनाइँदैछ ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !